त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

२४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।

सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । उनले भने, ‘शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा भन्सार एरिया कटेपछि उनलाई पक्राउ गरिएको हो ।’

 

क्लोज सर्किट (सीसी) क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ । यद्यपि, उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपालमार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।

प्रहरीका अनुसार, इजिप्टका नागरिकसँग सम्बन्ध हुनसक्ने भएकाले उनीहरुलाई पक्राउ गरिएको हो । ‘उनीहरुबारे अनुसन्धानबाट खुलेअनुसार गर्ने गरी हाललाई नियन्त्रणमै राखेका छौं’, डीआईजी चन्दले भने ।

 

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११ः५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११ः४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डीआईजी चन्दले बताए । ‘उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएका थिए’, चन्दले भने ।

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको छ ।

यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।

सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation