सैनामैना नगरपालिका र एडिबी परियोजनाबिच २ अर्ब २० करोडको सम्झौता

रुपन्देहीको सैनामैना नगरपालिका र एसियाली विकास बैंकवीच पालिकाहरुको सहरी क्षेत्र सुधार प्रोजेक्ट अन्तर्गत सैनामैना नगरपालिका भित्र विकासका परियोजनाहरु लागू गर्न बुधवार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सैनामैना नगरपालिका र एसियाली विकास बैंकबीच बुधबार भएको सम्झौतापछि सैनामैना चक्रपथले पूर्णता पाउने भएको छ । चक्रपथ अन्तरगत बनाउन बाँकी सैनामैना वडा नं. १० र ११ को २१ किलोमिटर सडक र चक्रपथसंग जोडिने सहायक बाटो समेत निर्माण सम्पन्न हुनेछन ।

सैनामैना चक्रपथ नेपालकै लामो चक्रपथ अन्तरगत पर्दछ । करिव ५५ किलोमिटर लामो चक्रपथको बाँकी निर्माणको काम सम्पन्न हुने भएपछि सैनामैनाको विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ ।
एसियाली विकास बैंक र सैनामैना नगरपालिका बीच दुई अर्ब २० करोड रुपैया बराबरको परियोजनाका लागि बुधबार काठमाण्डौं स्थित अर्थ मन्त्रालयमा हस्ताक्षर भएको हो ।
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्मा र प्रमुख प्रशासकीय अधिकृत जनक थापा तथा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुस्कर र एसियाली विकास बैंकका कन्ट्री डाईरेक्टर अर्नाड काउसीसले सम्झौतमा हस्ताक्षर गर्नुभएको हो ।

एसियाली विकास बैंकले नगरपालिकाहरुको भौतिक विकास र सुशासन प्रवद्र्धनका लागि पोखरा महानगरपालिका र जनकपुर उपमहानगरपालिकाका साथै सैनामैना, देवदह, लुम्बिनी सांस्कृतिक, रामग्राम, सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकासंग सम्झौता गरेको हो ।
एसियाली विकास बैंकले पालिकाहरुको सहरी क्षेत्रको पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन र पालिकाहरुको क्षमता विकासका लागि आठवटा पालिकाहरुलाई छनोट गरि परियोजना लागू गरेको जनाएको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation