फागुन २९ गतेलाई तोकियो राष्ट्रिय सभा

राष्ट्रिय सभा अध्यक्ष पदका लागि फागुन २९ गते चुनाव हुने भएको छ। राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले फागुन २९ गते मंगलबार चुनाव तोकिएको आइतबारको राष्ट्रिय सभा बैठकमा सुनाएकी छन्।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई निर्देशन दिएकी छन्।

यसअघि नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दल नेता कृष्णप्रसाद सिटौलाले केही दिन चुनाव सार्न आग्रह गरेका थिए। आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो।

राष्ट्रिय सभामा १७ सांसदसहित नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल छ।

कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८, जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक–एक सांसद छन्। सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक रिक्त छ।

सत्ता गठबन्धनबीच राष्ट्रिय सभा अध्यक्षमा माओवादीले र उपाध्यक्षमा एमालेले उम्मेदवारी दिने समझदारी बनेको नेताहरूले दाबी गरेका थिए।

कांग्रेसले शनिबार पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक गरेर अन्य दलहरूसँग छलफल गरेर राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation