लुम्विनीमा एकै दिन १२५० जना अल्पकालीन भिक्षु बने

बुटवल फागुन २७ । बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रब्रज्या कार्यक्रम गरिएको थियो।

मायादेवी मन्दिर परिसरमा एकै दिन १२५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका विभिन्न १० वटा शिलाहरू पालना गरी प्रब्रज्यामा सहभागिता जनाएका हुन्।

अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाहरूको सहआयोजनामा शनिबार मायादेवी मन्दिर प्रांगणमा १२५० जनालाई कुलपुत्र प्रब्रज्या (अल्पकालीन) गराइएको हो।

अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका फरा उपाझ्याए पभना सहित बौद्ध धर्म गुरूहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका हुन्।

अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्ध धर्मका १० वटा नियमहरू पालना गर्नुपर्छ। सामान्य अनुयायीहरूले पञ्चशील र अष्टशीलको पालना गर्ने भएपनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नु पर्नेछ।

भिक्षु बन्नका लागि भने २२७ वटा नियमहरू पालना गर्नुपर्नेछ। फागुन १६ गतेदेखि सुरू भएको प्रब्रज्यामा लुम्बिनीमै आएर १२५० जनाले केश मुन्डन गरेर चिवर प्राप्त गरेका हुन्।

शनिबार पहेँलो चीवर लगाउन योग्य भएका श्रामणेरहरूले आफूहरूले पहेँलो चिवरण ग्रहण गर्न पाउँदा निकै खुशी लागेको बताएका छन्।

अखिल नेपाल भिक्षु महासंघका कार्यकारिणी सदस्य भिक्षु प्रज्ञामूर्तीले बुद्ध शिक्षाको प्रवर्द्धन र लुम्बिनीको महत्वलाई थप उजागर गर्नका लागि १२५० जनालाई श्रामणेर (अल्पकालीन) भिक्षु बनाइएको बताए।

उनले चिवर प्राप्त गरेका १२५० जनालाई पञ्चशिल, अष्टशिल र विनयपिटकका बारेमा जानकारी दिने र दैनिक ध्यान गराउने गरिएको बताए।छोटो अवधिमा चिवर प्राप्त गरी बुद्धको शिक्षा ग्रहण गराउन आफुहरूले श्रामणेर बनाउने गरिएको उनले बताए।

 

लुम्बिनीमा गरिएको अल्पकालिन भिक्षु बनाउने कार्यले बुद्धको शिक्षा र बुद्धधर्मको प्रचारमा सहयोग पुग्ने राजकीय थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोथको भनाई छ।

लुम्बिनी विकास कोषका अनुसार सन् २०११ मा एक हजार जना, सन् २०१५ मा एक हजार ११२ जना, सन् २०१९ मा एक हजार ११९ जना र सन् २०२३ मा ५ सय जनालाई प्रब्रज्या गराइएको थियो। प्रब्रज्या अन्तर्गत आइतबार भिक्षाटन, चैत ३ र ४ गते बृहत्तर लुम्बिनी क्षेत्रको रामग्राम र तिलौराकोटमा धर्मयात्रा र चैत ८ गते समापन गरिएको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation