रुपन्देहीको तिलोत्तमामा निजी लगानीमा निर्माण गरिएको क्रिकेट रंगशाला उद्घाटन

बुटवल, फागुन २८ । निजी लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको एक्स्ट्राटेक ओभल क्रीकेट मैदान आईतवार उद्घाटन गरिएको छ।

गैर आवासीय नेपाली बिनोद कुंवर निजि लगानीमा तिलोत्तमा–१७ दरखसवामा निर्माण गरको क्रीकेट रंगशालाको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले ब्याटिङ र एक्स्ट्राटेक ओभल प्रालिका निर्देशन बिनोद कुवरले बलिङ गर्दै उद्घाटन गरेका हुन्।

रंगशालाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सरकारले गर्न नसकेको काम निजि लगानीमा गरेको भन्दै रंगशाला लुम्बिनी प्रदेशको मात्र नेपालकै गहनाको रूपमा स्थापित हुने बताए।

एमालेका उपाध्यक्ष एवं पुर्व अर्थमन्त्री बिष्णु पौडेलले क्रीकेट रंगशालासम्म पुग्ने सडक, बिद्धुत लगायतका आवश्यक पुर्वाधारका लागि आफ्नो तर्फबाट सहयोग रहने बताए।

उद्घाटनको अवसरमा प्रतिनिधिसभा सदस्यहरु छविलाल बिश्वकर्मा, चन्द्र भण्डारी, गोकर्ण बिष्ट, बासुदेव घिमिरे, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाण, नेपाल क्रीकेट संघका उपाध्यक्ष रोशन सिंह लगायतले शुभकामना दिएका थिए।

अष्ट्रेलियामा सूचना प्रविधि सम्बन्धी व्यवसाय गर्दै आएका गुल्मीका बिनोद कुवर र उनकी श्रीमती सुदिक्षा गौतमले निजी लगानीमा तिलोत्तमा(१७ दरखसवामा क्रीकेट रंगशाला निर्माण गरेका हुन्।

गत जेठ ३० गते शिलान्याय गरिएको रंगशाला नौ महिनामै खेल खेल्न मिल्नेगरी तयार भएपनी अन्य संरचना निर्माण गर्न भने बाँकी छ। पहिलो चरणमा पाँच बिगाह जग्गामा निर्माण गरिएको रंगशालामा अहिलेसम्म साढे ६ करोड बढी खर्च भईसकेको एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक कुवरले जानकारी दिए।

मैदानमा प्यारापिट र अन्य संरचना पूरा हुँदा ४० करोड खर्च हुने छ। प्यारपिट मात्र करिब १८ करोड खर्च लाग्ने अनुमान छ।

यूएईमा लामो समय बसेर अबुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा छन्। करिब २५ हजार दर्शक क्षमताको रंगशालासहित एकेडमी भवन बनाउने र राम्रा खेलाडी उत्पादन गर्ने कुँवरको लक्ष्य छ।

रुपन्देही क्रीकेट उत्पादनको हिसाबले उर्वर भुमि मानिन्छ। राष्ट्रिय खेलाडी राजु खड्का, शक्ति गौचन, बसन्त रेग्मी, सुशन भारी, कुशल मल्ल, अमृत भट्टराई, देव खनाल, ईन्दु वर्मा लगायत खेलाडी रुपन्देही जिल्लाकै उत्पादन हुन्।

यसैबीच रंगशाला उद्घाटनको अवसरमा आज ४ टोलीबीच तिलोत्तमा लेजेण्ड्स कप क्रिकेट भईरहेको छ।

नेपालको पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको सन् १९९६ को टोली, सन् २०१४ को टी(२० विश्वकप खेलेको टोली, रूपन्देही लेजेण्ड्स र रेस्ट अफ नेपाल गरेर ४ टोलीले लेजेण्ड्स कपमा सहभागिता जनाउदै छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation