छिमेकीको कुटपिटबाट धनगढीमा युवको मृत्यु

२८ फागुन, धनगढी । धनगढीमा एक जना युवकको कुटपिटबाट मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ को धनगढी गाउँमा सोमबार राति ३५ वर्षीय महेश रानाको छिमेकीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र बमका अनुसार राना राति स्थानीय मिनबहादुर चौधरीको घरमा प्रवेश गरेका बेला उनीमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका रानाको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बमले जानकारी दिए ।

उनका अनुसार रानाको हत्या अभियोगमा मिनबहादुर चौधरी दम्पतीसहितका पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिनबहादुरकी श्रीमती २९ वर्षीया पुनम चौधरी, छोरी र अन्य दुई जना रहेको प्रहरीले जनाएको छ । मृतक राना र उनीमाथि कुटपिट गर्ने चौधरी दम्पती छिमेकी समेत हुन् । राना चौधरीको घरभित्र प्रवेश गरेका बेला उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर भएपछि रानालाई स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation