प्रधानमन्त्रीलाई राजेन्द्र पाण्डेको प्रश्न ः योभन्दा अनैतिकता के हुन्छ ?

३० फागुन, काठमाडौं । सत्तारुढ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन् ।

विश्वासको मत लिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै पाण्डेले अहिले आफ्नो अवस्था अस्पताल उद्घाटन गरेको स्वास्थ्यमन्त्रीको जस्तो भएको बताए । ‘सफल होस् भनौं भने पनि सबै मान्छे विरामी होउन् भनेको हो । उद्घाटनकै दिन सफल होस् भनौं भने के भनौं,’ उनले भने, ‘आज प्रधानमन्त्रीलाई विश्वासको मत दिने दिन नै मैले यसो भन्नुपर्छ भने भविश्यमा के सोच्ने हो ।’

 

उनले नयाँ गठबन्धन गर्दा एकीकृत समाजवादीलाई छाड्नु अनैतिक भएको समेत बताए । संविधानको रक्षाका लागि आफूले बनाएको पार्टीमा विद्रोह गरेर प्रचण्डलाई साथ दिएको भन्दै उनले भने, ‘हामीलाई बाटोमा छाडेर हिँड्नुभयो । योभन्दा अनैतिकता के हुन्छ ?’

आफ्नो दललाई गरेको व्यवहारप्रति गम्भीर आपत्ति जनाएका एकीकृत समाजवादीका उपाध्यक्ष पाण्डेले चेतावनीको भाषामा भने, ‘एकचोटी प्रधानमन्त्रीजीले सोच्नुस्, अघि कुरा आएको जस्तो ओलीजी र शेरबहादुरजीको घाँटी जोडियो भने तपाईंको हातल के हुन्छ ?

 

प्रधानमन्त्रीलाई मानिसहरुले कति छिटो रंग फेर्न सकेको भनेर टिप्पणी गरेको समेत उनले सुनाए । ‘१७ हजार २ भनेर छातिमा प्ले कार्ड बोकेर हिँड्ने मान्छे पनि यही छौं । पाँच हजारको जिम्मा लिन्छु भन्ने पनि यही छौं’ उनले भने, ‘यो सबै गठजोड कसरी अगाडि बढ्छ हेर्न बाँकी छ ।’

उनले बजेट निर्माणमा सांसदहरुको भूमिका नभए भोट नहाल्ने चेतावनी समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation