यसपटक कर्णाली सरकारको नेतृत्व एमालेले लिन्छ ः शंकर पोखरेल

८ चैत, सुर्खेत । नेकपा एमाले महासचिव शंकर पोखरेलले कर्णाली प्रदेश सरकारको नेतृत्व एमालेले पाउने बताएका छन् ।

एमालेको सुर्खेत जिल्ला कमिटीको नवौं अधिवेशनको बिहीबार उद्घाटन गर्दै उनले कर्णालीमा अहिलेसम्म सरकारको नेतृत्व गर्ने अवसर नपाएकाले यसपटक एमालेले पाउने बताएका हुन् ।

 

कर्णालीमा माओवादी बलियो भएकै आधारमा उसले मात्र सरकारको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता ठीक नभएको पनि उनले बताए ।

‘हामी सहकार्यलाई एउटा स्पिडमा अगाडि बढाउन चाहन्छौं भने त्यो उदारता कर्णालीका माओवादी साथीहरूमा हुनुपर्छ,’ महासचिव पोखरेलले भने, ‘अगाडि बढेर उहाँहरूले नै भन्नुपर्छ( हामीले धेरै पटक नेतृत्व गर्‍यौं कमरेड, अब एक पटक तपाईंहरूको नेतृत्वमा कर्णालीको विकास कसरी हुँदो रहेछ हेर्न चाहन्छौं ।’

 

एमालेले मधेश र कर्णालीबाहेक बाँकी ५ प्रदेशमा सरकारको नेतृत्व गरिसकेको र कर्णालीमा परीक्षण हुन बाँकी रहेको महासचिव पोखरेलले बताए ।

‘कर्णालीमा अहिलेसम्म माओवादीकै साथीहरूको नेतृत्व गरिरहनुभएको छ । एमालेका नेता कार्यकर्ताले पनि एक पटक हामीले नेतृत्व गर्ने मौका पाउनुपर्छ भन्ने कुरालाई माओवादीका साथीहरूले हार्दिकतापूर्ण तरिकाले स्वीकार्नुपर्छ । र, स्वागत गर्नुपर्छ’, उनले भने ।

महासचिव पोखरेलले प्रदेश सरकारको नेतृत्वका लागि नेताहरू केन्द्रमा धाउन आवश्यक नरहेको पनि बताए ।

‘कर्णालीमा माओवादी साथीहरू आफ्नै नेतृत्वको निरन्तरताका लागि काठमाडौं गएको कुरा सही हो भन्ने मलाई लाग्दैन । नेतृत्वका लागि एमाले, माओवादीका कमरेडहरू काठमाडौं धाउनुपर्दैन । नेतृत्वले विवेक पुर्‍याउँछ’ उनले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation