लुम्बिनी बिकास कोषका योजना प्रमुख भट्टराईले ८० लाख घुष लिएको आरोपमा भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । भट्टराईले कोषमा ठेक्कालिने निर्माण कम्पनिबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबी छ ।उजुरीको अनुसन्धानको क्रममा मालपोत कार्यालय, भक्तपुरबाट पत्र साथ प्राप्त विवरणमा सरोज भट्टराईको आमा जनक नन्दनी भट्टराईको नाममा जिल्ला भक्तपुर गुण्डु गा.वि.स. वडा नं. ३ स्थित कित्ता नम्बर १३७४ र १३७५ क्रमशः २–९–०–१ र ०–२–१–० क्षेत्रफल भएको जग्गा खरिद गर्दा जग्गा विक्रेताको बैंक खातामा रकम जम्मा गरेको बैंक भौचरबाट देखिए पश्चात् उक्त रकम के कसरी प्राप्त भएको भन्ने सम्बन्धमा अनुसन्धान हुँदा जग्गा खरिद गर्नको लागि लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुसरिसवत माग गरी निज प्रोप्राइटरको बैंक खाताबाट जग्गा विक्रेताको बैंक खातामा चालीस लाख रुपैयाँ तथा जग्गा खोजी दिने व्यक्तिको बैँक खातामा चालीस लाख गरि असी लाख रुपैयाँ रकम जम्मा गराएको अख्तियारले आरोप लगाएको छ ।

लुम्बिनी विकास कोषमा योजना प्रमुखको रूपमा कार्यरत भट्टराईले कोषमा ठेक्का पट्टाको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस रिसवत स्वरूप माग गरेको असी लाख रकम आफैले प्रत्यक्ष रूपमा नलिई आमा जनक नन्दनी भट्टराईको नाममा जग्गा खरिद गर्दा उक्त रिसवत रकम प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको मुद्दामा जनाएको छ ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन अनुसार ८० लाख बराबरको बिगो माग गर्दै कानुन अनुसार हुने सजायसहित मुद्दा दायर गरेको जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation