मधेशका मुख्यमन्त्री यादवले चौथोपटक विश्वासको मत लिँदै

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथोपटक विश्वासको मत लिने तयारी गरेका छन् ।

 

नेपाली कांग्रेसले सरकारबाट समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल र मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक डाकिएको छ ।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरण अनुसार मुख्यमन्त्री यादवले गत चैत ५ मा कांग्रेसका तीन मन्त्रीलाई पदमुक्त गरी नेकपा एमालेलाई सरकारमा सहभागी गराए । लगत्तै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

जसपा नेतृत्वको सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपा सहभागी छन् । वर्तमान सत्ता गठबन्धनसँग प्रदेशसभामा बहुमत रहेकाले मुख्यमन्त्री यादव विश्वासको मत पाउनेमा ढुक्क छन् ।

उनले यसअघि तीनपटक विश्वासको मत लिइसकेका छन् । मुख्यमन्त्री नियुक्त हुँदा पहिलो पटक, एमाले सरकार छाड्दा दोस्रो पटक र जनमत पार्टी सरकारबाट बाहिरिदा तेस्रो पटक विश्वासको मत लिएका थिए ।

नेपाली कांग्रेस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी र राप्रपा सरकारको प्रतिपक्षमा छन् ।

जनमतका संसदीय दलका नेता महेश प्रसाद यादवले मुख्यमन्त्री यादव विश्वासको मत नपाउने दावी गरेका छन् । उनी भन्छन्,‘विश्वासको मत विफल बनाउने रणनीतिक तयार भइसकेको छ ।

प्रदेश सभामा हाल एमालेका २५ , जसपाका १९, लोसपाका ९, माओवादीका ९ र नेकपा एसका ७ सांसद छन् । प्रतिपक्षमा रहेका कांग्रेसका २२, जनमत पार्टीका १३ तथा नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका १र१ सांसद छन् ।

मधेश प्रदेशसभामा कुल १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा फरार छन् । असई थमन विक हत्या प्रकरणमा अदालतले दोषी ठहर गरेदेखि उनी फरार रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation