मन्त्रिपरिषद्‌मा गृहमन्त्रीको प्रस्तावः डढेलो निभाउन हेलिकप्टरको प्रयोग गरौं

२१ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आगलागी तथा डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

गृहसचिव एकनारायण अर्यालका अनुसार कतिपय मुलुकले आगो निभाउन हेलिकप्टरको प्रयोग गर्दै आएको र त्यो प्रभावकारी समेत देखिएको भन्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले मन्त्रिपरिषद्को बैठकमा आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने प्रस्ताव राखेका हुन् ।

 

शुक्रबार राष्ट्रिय सभाको ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’मा विपद् व्यवस्थापन सम्बन्धमा छलफल थियो । विपद् जोखिम न्यूनीकरणका लागि गरिएका तयारी तथा भावी कार्ययोजनाबारे जानकारी गराउँदै गृहसचिव अर्यालले दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणको अभाव रहेको बताए ।

उनले भने ‘अरू देशमा आगलागी, डढेलो नियन्त्रणका लागि हेलिकप्टरबाट आगो निभाउने कार्य भएको हामी देखिराखेका छौं । हाम्रोमा पनि त्यो उपकरणको व्यवस्था भइदिए हुन्थ्यो भन्ने मन्त्रालयको अपेक्षा छ । माननीय गृहमन्त्रीज्यूले मन्त्रिपरिषद्‌मा पनि त्यो कुरा गरिसक्नुभएको छ ।’

 

आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति, स्रोत र उच्च प्रविधियुक्त उपकरणका साथसाथै हेलिकप्टर प्रयोग गर्ने सम्बन्धमा संसदीय समितिले सरकारलाई निर्देशन गरिदिए हुन्थ्यो भन्नेसमेत गृह मन्त्रालयको अपेक्षा रहेको अर्यालले बताए ।

गृहसचिव अर्यालले भने, ‘संसदीय समितिबाट पनि यसमा चासो दिएर नेपाल सरकारलाई केही आदेश, निर्देशन भयो भने बजेट पाउनका लागि सजिलो हुन्छ ।’

दीर्घकालीन नीति अन्तर्गत आगलागी नियन्त्रण गर्न र तयारीका लागि सातै प्रदेशमा गोदाम घर तथा मानवीय सहायता कोष बनाउने योजना रहेको गृहसचिव अर्यालले जानकारी दिए । साथै बन्द रहेका विमानस्थलमा आगलागी नियन्त्रणका लागि आवश्यक उपकरण राख्ने चाहना समेत मन्त्रालयको रहेको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation