शपथपछि सांसद सुहाङले सुनाए तीन प्राथमिकता

२६ वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले इलामको समस्या समाधानमा विशेष ध्यान दिने बताएका छन् ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको बताउँदै उनले इलामेली जनताका समस्या समाधान, आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए ।

 

बुधबार सांसद पदको शपथ ग्रहणपछि पत्रकारहरूले सोधेका प्रश्नमा जवाफ दिने क्रममा नेम्वाङले इलामेली जनताको मायाबाट आफू यहाँसम्म आइपुगेकाले इलामकै समस्या समाधानमा विशेष ध्यान दिने बताए । ‘इलामको समस्यालाई समाधान गर्नको निम्ति मैले के के कुराहरू उठाउनुपर्छ भनेर विशेष ध्यान हुन्छ,’ उनले भने ।

विकासका धेरै काम भइरहे पनि कतिपय कानुनी र नीतिगत व्यवस्थाको अभावका कारण सुशासन कायम हुन नसकेको भन्दै उनले त्यस्ता समस्या समाधानमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताए । ‘नेपालमा धेरै विकास काम भइरहेको छ, नीति निर्माण भइरहेको छ । तर सुशासनको कमजोरी होस् या ती सबै कामले पूर्णता पाएको छैन, कार्यान्वयन भएको छैन,’ उनले भने, ‘त्यही कारणले हामी सबैले एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर त्यसलाई कसरी पूर्णता दिन सकिन्छ र कानुन कार्यान्वयन गर्न एकताबद्ध लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।’

 

कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्र प्रवर्द्धन तथा विकासका लागि कतिपय नीति परिमार्जन गर्नुपर्ने आवश्यकता भए त्यसलाई पनि आफूले ध्यान दिने उनले बताए ।

सांसदको रूपमा आफ्ना तीन प्राथमिकता रहेको जानकारी गराउँदै उनले थपे, ‘बुवा ९सुवास नेम्वाङ०ले देखाउनु भएको इमान र निष्ठापूर्वक त्यो सबै कामलाई पूर्णता दिने गरी म अगाडि बढ्छु ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation