बुटवल, ११ जेठ । बुटवल हस्पिटल प्रा.लि.ले नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । हस्पिटलले बुटवल उपमहानगरपालिका वडा म्बर ६ चांदवारी चोकको उत्तरपट्टी आफनै सुविधासम्पन्न भवनवाट सेवा सुरु गरेको हो ।
विगत २४ वर्षदेखि बुटवलको अस्पताल लाईनबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरणहरु समेत थप गरी सेवा विस्तार गरेको जनाएको छ ।
सरकारले स्वास्थ्य संस्थाहरुलाई पूर्वाधार निमार्णका लागि दिएको समयभित्रै बुटवल हस्पिटलले भवन निर्माण गरी सेवा सुरु गरेको हो ।
स्वास्थ्य क्षेत्रमा आएका आधुनिक उपकरणहरु समेत जडान गरी बुटवल हस्पिटलले एकपटकमै धेरै मोडुलर अप्रेशन थ्रेटरहरु सञ्चालनमा ल्याएको छ । जसका कारण ठुला दुर्घटनाहरु भएको खण्डमा पनि बुटवलबाट बिरामी रिफर गर्न नपर्ने अवस्था आएको अस्पतालको दावी छ ।
अहिले अस्पतालमा एक दर्जन भन्दा बढी विशेषज्ञ चिकित्सकहरुले सेवा प्रदान गरिरहेका छन् । करिब २ सय स्वास्थ्यकर्मी तथा कर्मचारीहरु रहेका छन् । आईसीयू, भेन्टिलेटर फिजियोसहितका सुविधा रहेको हस्पिटलको भौतिक संरचना देशकै ठुला अस्पतालहरुकै शैलीमा निर्माण भएको छ । ५० बेडको स्वीकृति पाएको हस्पिटलले १ सय वेड स्वीकृतिका लागि सम्बन्धित निकायमा आवेदन पेश गरेको अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले बताए । उनले भने, ‘बुटवल मेडिकल हब हो भन्ने प्रमाणित गर्नका लागि पनि हामीले उपकरण, दक्ष जनशक्ति र भौतिक पूर्वाधारको समीश्रणमा जोड दिएका छौं, आशा छ अबका दिनमा यहाँबाट बिरामीहरु सेवा लिन बुटवल बाहिर र भारतीय बजारहरुमा जान रोकिनेछ । ’
पश्चिम नेपालकै उपचारका लागि केन्द्र मानिने बुटवलमा प्रविधि, भौतिक पूर्वाधार र दक्ष जनशक्तिको सन्तुलन मिले बिरामीका लागि धेरै सजिलो हुने अस्पतालका मेडिकल निर्देशक डा। कृष्ण खनालले बताए ।
उपचारका नाममा धेरै ठुलो रकम बाहिरिने तथ्य रहेको भन्दै लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले बुटवल हस्पिटल निजी क्षेत्रको भएर पनि बुटवलका लागि गौरव रहेको बताए । उनले तत्काल १ सय बेड सञ्चालनको अनुमति प्रदेश सरकारले दिने भन्दै बुटवलमा बल्ल अस्पतालको जस्तो भवन निर्माण भएको बताए ।
दुईवटा लिफ्ट, प्रशस्तै पार्किङ भएकोले बिरामीहरुका लागि निकै सहज भएको छ । बुटवलमा आईसीयू अभावमा दैनिक बिरामीहरु रिफर गर्नुपर्ने अवस्था रहेकोले त्यसको पूर्ति अब बुटवल हस्पिटल प्रा.लि.ले गर्ने अपेक्षा गरिएको छ ।