लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

बुटवल, ११ जेठ । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कदै गर्दाको प्रतिकको रुपमा लुम्बिनीबाट शिशु बुद्व प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ । सिद्वार्थ गौतमलाई बुद्व पूर्णिमाको अर्को दिन लुम्बिनीबाट गृहनगर प्राचीन कपिलवस्तु लगिएको स्मरण गर्दै शुक्रबार बोधिसत्व सिदार्थ शिशु बुद्वलाई तिलौराकोट दरबारतर्फ लगिएको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलबस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरि प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

बुद्धकी आमा मायादेवी माइतीघर जाँदा लुम्बिनीमा जन्मेका बुद्वलाई गृहनगर तिलौराकोट फर्कदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्वको मूर्तिको शोभा यात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । राजा शुद्वोधन र मायादेवीको स्वरूप बनाएर बंगिमा चढाएर शिशु बुद्व तिलौराकोट लगिएको छ ।

बुद्धका पिता राजा शुद्धोधनले छोरा राजकुमार सिद्धार्थ जन्मिएपछि कपिलवस्तुको तिलौराकोटबाट बाजागाजासहित सेना पठाएको बौद्व धर्मग्रन्थमा उल्लेख छ ।
कोषले २५६७ औं बुद्ध जयन्तीको अवसरमा शिशु बुद्धलाई बाजागाजा सहित २६ किलोमिटरको भव्य शोभा यात्रा निकालेको हो । राजकुमार सिद्धार्थ जन्मिएपछि राजधानी कपिलवस्तु (तिलौराकोट)फर्किंदाको २६ सय वर्ष अघिको क्षणलाई स्मरण गराउने कोशिष गरिएको परिषद सदस्य गोपिकृष्ण शर्माले बताए ।
लुम्बिनीदेखि लगिएको शिशु बुद्धलाई तिलौराकोट लगेपछि कार्यक्रम गरिनेछ ।

बौद्ध ग्रन्थअनुसार मायादेवी गर्भवती भएपछि माइत देवदह जाने इच्छा गरेकी थिइन् । रमणीय बगैंचा लुम्बिनी पुगेपछि डोेलीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको आनन्द प्राप्त गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै सालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिएकी थिइन् । यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्षोल्लास भयो र सिंगो कपिलवस्तु शहर सिँगारेर चिटिक्क पारिएको थियो ।

सुत्केरी मायादेवी, शिशु सिद्धार्थसहित सयौं गन्यमान्य रथमा बसेर कपिलवस्तु फर्किएकी थिइन् । त्यतिबेला कपिलवस्तुका प्रत्येक नागरिकले राजा शुद्धोधनलाई पुत्र लाभ भएको खुसीयालीमा घरघरबाट स्वागत एवं दीपावली गरेका थिए । सिंगो कपिलवस्तुमा कैयौं दिनसम्म खुसी भएको स्मरण गर्दै रथयात्रा सुरु गरिएको हो ।

 

भगवान शाक्यमुुनी बुद्ध ई.पूू.६२३ मा लुम्बिनीको सुुन्दर र पवित्र बगैचामा माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूूर्णिमाका दिन भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले विशेष महत्वका साथ बुद्ध जयन्ती एवं लुम्बिनी दिवसका रुपमा मनाउँदै आएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा बुद्ध जयन्ती मूल समारोह गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation