रुपन्देही, १५ जेठ । नेपाल पत्रकार महासंघ रुपन्देही विभिन्न विधामा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट पत्रकारहरुलाई पुरस्कृत गरेको छ । नेपाल पत्रकार महासंघले बुटवल उपमहानगरपालिका र बुटवल पब्लिक स्कुलसँगको सहकार्यमा स्थापना गरेको पत्रकारिता पुरस्कारबाट मंगलबार पाँचजना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघले स्थापना गरेको १ लाख रुपैयाँ राशीको उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८० बाट न्यूज बुटवल टुडे डटकमका सम्पादक लक्ष्मण पौडेल तथा पुरस्कृत भएका छन् । उनी गोरखपत्र दैनिकमा पनि कार्यरत छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाले स्थापना गरेको सूर्यप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट दुई जना पत्रकार पुरस्कृत भएका छन् । जनही रु. ५० हजार राशीको उक्त पुरस्कारबाट खुल्लातर्फ रातोपाटी डट कम लुम्बिनी प्रदेश संयोजक तेजेन्द्र के.सी. र महिलातर्फ सेतोपाटी डट कमकी भगवती पाण्डे पुरस्कृत भएका छन् ।
उक्त पुरस्कार नगरप्रमुख खेलराज पाण्डेय, महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, पूर्वअध्यक्ष यानेन्द्र जि.सी., बाह्खरी डट कमका प्रधान सम्पादक प्रतिक प्रधान लगायतले पुरस्कृत गरेका हुन् ।
पत्रकारिता तालिम समापन तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले पत्रकार र मिडियाको क्षेत्रमा उपमहानगरपालिकाले लगानी बढाएको भन्दै पत्रकारिताको विकासका लागि योजनाबद्ध रुपमा काम गर्न तयार रहेको बताए ।
त्यस्तै उत्कृष्ट शैक्षिक पत्रकारिता पुरस्कार २०७८ बाट बुटवल टुडे दैनिकका उपसम्पादक कृष्ण खनाल र २०७९ बाट रेडियो जागरणमा कार्यरत पत्रकार अम्बिका दर्जी (परियार) पुरस्कृत भएका छन् । बुटवल पब्लिक स्कुलले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले उपमहानगरपालिकाले रुपन्देहीमै ठूलो धनराशीको पुरस्कार स्थापना गरी महासंघसँग सहकार्य गरेर पत्रकारको क्षमता वृद्धिमा ठुलो टेवा पुर्याएको बताए । उत्कृष्ट पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक तथा पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष शेरबहादुर केसीले पत्रकारलाई खोजमूलक समाचार र लेखनमा थप प्रतिवद्ध बनाउन यस्ता पुरस्कारले प्रेरणा प्रदान गर्ने बताए ।
कार्यक्रममा सूर्यप्रसाद प्रधान स्मृति पत्रकारिता पुरस्कार मूल्यांकन समितिका संयोजक खिमानन्द भट्टराई, बाह्रखरीका प्रधान सम्पादक प्रतिक प्रधान, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, सचिव विनोद परियारलगायतले भनाइ राखेका थिए ।