मजदुरको आन्दोलनले पम्पमा छैन पेट्रोल

३ असार, काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण पेट्रोल पम्पमा पेट्रोलको अभाव भएको छ । सोहीकारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्रि रोकेका छन् । खुलेका सीमित सरकारी पम्पमा सवारीसाधनको लामो लाइन लागेको छ ।

अधिकांश निजी पम्पमा पेट्रोल छैन भन्ने सूचना टाँस गरिएको छ । नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार पेट्रोलिम मजदुरले विभिन्न माग राखी आपूर्ति रोक्दा पम्पहरुसँग बिक्री गर्न पेट्रोल नभएको हो । मजदुरको माग बारे अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल हुन लागेको समेत उनले जानकारी दिए । ‘हामी मन्त्रालयमा छौं, केही बेरमा छलफल सुरु हुन्छ,’ उनले भने ।

 

यसअघि मजदुरहरुले सबै ट्यांकर चालकरसहचालक मजदुरको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोक अनुसार तलवको व्यवस्था गर्न माग गरेका छन् । स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नवीकरण खारेज गर्न समेत माग गरिएको छ ।

टेम्प्रेचरको सही व्यवस्थापन गरिनु पर्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध गरिनु पर्ने, ५० लिटर भन्दा बढी नाममा परेको दोब्बर प्रकरण खारेज गरिनु पर्ने, चालक र सहचालकलाई जोखिम भत्ताको व्यवस्था गरिनु पर्ने, चालक तथा सहचालकलाई प्रत्येक ३ महिनामा सुरक्षा सतर्कता तालिमको व्यवस्था गरिनु पर्ने माग समेत गरिएको छ ।

 

आन्दोलनका कार्यक्रम अन्तर्गत संघले ३२ जेठमा कालोपट्टी बाँध्ने, १ असारका दिन गाडीमा कालो झण्डा राखेर विरोध गर्ने र २ असारमा पूर्ण रुपमा काम छाडेर गाडीको साँचो ट्यांकर धनीलाई हस्तान्तरण गर्ने गरी तय गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation