बुटवल, ५ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अनलाइन ओपिडी टिकट सेवा शुभारम्भ भएको छ । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुनले मंगलबार अस्पतालको मोबाइल एपबाट टिकट काटेर सेवाको शुभारम्भ गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री पुनले यो सेवा सञ्चालनसँगै सेवाग्राहीले टिकटकै लागि घण्टौसम्म लाइन बस्नुपर्ने समस्या हटेर गएको उल्लेख गरे । समय र प्रविधिको विकास अनुसार सेवालाई परिमार्जित गर्नुपर्ने बताउँदै उनले अस्पतालले नयाँ अभ्यासको सुरुवात गर्नु आफैमा सकारात्मक भएको उल्लेख गरे । सरकारले समेत प्रविधिको प्रयोग गरी सबै स्वास्थ्य संस्थाहरुमा मन्त्रालयको कोठामै बसेर अनुगमन र मूल्यांकन गर्ने प्रविधिको सुरुवात गर्ने तयारी भएको उनले उल्लेख गरे ।
प्रदेश सरकारले गौरवको आयोजनाका रुपमा प्राथमिकता दिएर लुम्बिनी प्रादेशिक अस्पताललाई बजेटको व्यवस्था गरेको मन्त्री पुनले बताए । अस्पतालको नयाँ भवन निर्माणको काम समयमै सम्पन्न गर्नुका साथै यहाँको सेवामा समेत थप गुणस्तरीयता ल्याउनुपर्नेमा उनले जोड दिए । अस्पतालको सुधारका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवार भएर काम गर्न आग्रह गर्दै उनले जनतालाई दिने सेवामा कुनै पनि सम्झौता नगर्न निर्देशन दिए । ‘अस्पतालमा आउने हाम्रा सेवाग्राही मात्र होइनन्, सचेत नागरिक पनि हुन । त्यसकारण उहाँहरुलाई सकारात्मक व्यवहार गर्न जरुरी छ ।’–मन्त्री पुनले भने, ‘जिम्मेवार भएर काम गर्नेहरुका लागि म नौनी जस्तै नरम हुनेछु , तर, जिम्मेवारी पूरा नगर्नेलाई कहिल्यई माफी दिने छैन ।’
कुनै पूर्वाग्रह नराखी कामका आधारमा मूल्यांकन गरिने बताउँदै उनले अस्पताल परिवारलाई जिम्मेवार हुन निर्देशनसहित अन्यथा तत्काल कारवाही वा जिम्मेवारीबाट बर्खास्त समेत गर्न सकिने चेतावनी दिए । अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि थपघट हुन सक्ने बताउँदै उनले विगतमा गरिएका नियुक्तिहरुलाई आवश्यक परे खारेजी गर्न सकिने तर, प्रतिशोधका लागि कसैलाई भूमिकाबिहीन वा हटाउने काम भने नहुने उल्लेख गरे ।
नयाँ सेवा शुभारम्भका अवरमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा। बासुदेव उपाध्यायले मातृ शिशु मृत्युदर घटाउने अभियानमा लुम्बिनी प्रादेशिक अस्पतालको भूमिका सराहनीय रहेको उल्लेख गरे । अस्पतालको सेवालाई थप सुधारका लागि स्थानीय पालिकाहरुसँग समन्वय गरी अघि बढ्न वृहत अन्तरक्रिया तथा छलफलको समेत तयारी रहेको उनले बताए । अस्पतालको विकासका लागि आवश्यक सहयोग वा कुनै नीतिनियम सुधार गर्नुपर्ने भएमा मन्त्रालयमा आउन उनले सुझाव दिए ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट ९मेस० डा। इन्द्र ढकालले अनलाइन टिकट सेवासँगै अब छिट्टै डिजिटल भुक्तानी सेवा समेत शुभारम्भ गर्ने तयारी रहेको जानकारी गराए । त्यसै गरी अस्पतालमा बीमा सेवातर्फ टिकटका लागि हुने भिडलाई कम गर्न थप काउण्टर विस्तार गरिने उनले बताए । बीमातर्फ भुक्तानीका लागि हाल ५ वटा काउन्टर सञ्चालन गर्दै आएको अस्पतालले यसको संख्या बढाएर १० वटासम्म पुर्याउने योजना रहेको बताए ।
अस्पतालमा शल्यक्रिया उपचारका लागि महिनौं कुर्नुपर्ने अवस्थालाई कम गर्न छिट्टै प्रसुती सेवातर्फको शल्यक्रिया कक्ष छुट्टै बनाउने उनले उल्लेख गरे । आफू मेसु भएर आएपछि सुधारका कामहरुको क्रमशः परिणाम देखिदै गएको उनको दावी छ । अस्पतालमा बन्द अवस्थामा रहेको ल्याप्रोस्कोपी सेवा सञ्चालन, युरो मेसिन खरिद लगायतका उपकरण व्यवस्थापन तथा कार्यक्षमता वृद्धिका लागि रफ्तारमा काम भइरहेको उनले उल्लेख गरे । प्रदेश सरकारको गौरव आयोजना अन्तरगत बन्दै गरेको नयाँ भवनको काम सन्तोषजनक रहे पनि यसको रफ्तारलाई समेत थप बढाउन पहल भइरहेको उनले बताए ।
अस्पतालका प्रशासकीय प्रमुख राजन केसीको सञ्चालनमा भएको कार्यक्रम भएको थियो । सो अवसरमा अस्पतालले बी लेभल अस्पताल अन्तरगत नेपालमै प्रथम भइ पुरस्कृति भएको कुरा जानकारी गराइएको थियो । वर्ष २०७९÷८० को एमएसएस मूल्यांकन अनुसार सर्वोउत्कृष्ट अंक ल्याइ नेपाल प्रथम हुन सकेको अस्पतालकी नर्सिङ प्रमुख ज्योती पौडेलले जानकारी गराइन् । काठमाडौंमा आयोजित एमएसएस राष्ट्रिय समीक्षा गोष्ठीका अवसरमा अस्पतालाई सम्मान गरिएको थियो ।