सैनामैनामा बृद्धि गरिएको कर फिर्ता लिन रास्वपाको माग

सैनामैना,असार २७।
रुपन्देहीको सैनामैनामा वृद्धि गरिएको सेवा शुल्क तथा कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले माग गरेको छ । आर्थिक बर्ष २०८१/०८२ देखि लागू हुनेगरी सेवा शुल्क र कर बढाएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले वृद्धि गरिएको कर फिर्ता लिन बुधबार माग गरेको छ । सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्मालाई राष्ट्रिय स्वतन्त्र पार्टी सैनामैनाले ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो ।

करको दायरा बढाउनु पर्नेमा करको दर बढाएर जनताको ढाड सेक्ने काम गरेको भन्दै तत्काल बृद्धि गरिएको कर फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सैनामैना सभापति राज बहादुर क्षेत्रीले माग गर्नुभयो । जनताका आधारभूत आवश्यकताको रुपमा रहेका नागरिकता, नाता प्रमाणित जस्ता सेवा निशुल्क हुनुपर्नेमा कर बढाउनु खेदजनक भएको उहाँले बताउनु भयो । ‘ब्यवसायीको सटरको कर बृद्धि गरिएको छ, यता आर्थिक मन्दीका कारण सटर खाली हुँदै गएकाछन् यस्तो अवस्थामा नगरपालिकाले गरेको कर बृद्धि न्यायोचित छैना–उहाँ भन्नुहुन्छ ।’

सैनामैना नगरपालिकाले कार्यपालिकाको बैठकको निर्णय भन्दै नागरिकता सिफारिसमा सत प्रतिशत सेवा शुल्क बृद्धि गरेको छ । त्यसैगरी खानेपानी र विद्युत सिफारिसमा पनि सत प्रतिशत शुल्क बृद्धि गरिएको छ भने नाता प्रमाणितमा पनि शत प्रतिशत बृद्धि गरिएको छ । त्यसैगरी बैदेशिक रोजगारीमा जाने तथा विभिन्न प्रयोजनको अंग्रेजी सिफारिसमा पनि सत प्रतिशत सेवा शुल्कमा बृद्धि गरिएको छ ।

उता नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले कर बृद्धि नगरिएको दावी गर्दै सानो सानो दस्तुरलाई समायोजन गरिएको बताउनुभयो । उहाँले कर बढाएको अर्थमा बुझ्न नहुने भन्दै सामान्य दस्तुरमा हेरफेर मात्रै गरिएको दावी गर्नुभयो । नगर प्रमुख शर्माले सय पचास रुपैया दस्तुर हेरफेरलाई जनतालाई धेरै भार पर्नेगरि कर बढाएको अर्थमा बुझ्न नहुने उल्लेख गर्नुभयो ।

सैनामैना नगरपालिकाले विभिन्न १० वटा शीर्षकमा सेवा शुल्क र कर सत प्रतिशतसम्म बृद्धि गरेको हो । सेवा शुल्क र कर बढाएपछि सैनामैनाका राजनैतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी र स्थानीय जनताले तत्काल बृद्धि गरिएको सेवा शुल्क र कर फिर्ता गर्न माग गरेका छन । ज्ञापन पत्र बुझाउन रास्वपा सैनामैनाका नगर सभापति सहित कार्य समिति तथा वडाका पदाधिकारी लगाएतका सहभागी रहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation