मन्त्रिपरिषद्‌मा १० नयाँ अनुहार

३१ असार, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले अनुभवी र योग्य सांसदहरूलाई मन्त्री बनाउने बताएका थिए ।

तर सोमबार मन्त्रिपरिषद् विस्तार गर्दा झण्डै आधा मन्त्रीहरू नयाँ बनाएका छन् । प्रधानमन्त्री ओलीले नियुक्त गरेका २१ मध्ये १० जना पहिलोपटक मन्त्री बनेका हुन् ।

 

कांग्रेसबाट मन्त्री बनेका आरजु राणा देउवा, तेजुलाल चौधरी, प्रदीप पौडेल, बद्री पाण्डे, रामनाथ अधिकारी र ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् ।

राणा परराष्ट्र, चौधरी युवा तथा खेलकुद, पौडेल स्वास्थ्य तथा जनसंख्या, पाण्डे पर्यटन, अधिकारी कृषि र शाही वन तथा वातावरण मन्त्री बनेका छन् ।

एमालेबाट देवेन्द्र दाहाल, विद्या भट्टराई, मानवीर राई र राजकुमार गुप्ता पहिलोपटक मन्त्री बनेका छन् ।

दाहाल भौतिक पूर्वाधार तथा यातायात, भट्टराई शिक्षा, राई रक्षा र गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।

प्रधानमन्त्री ओलीले नियुक्त गरेका अन्य मन्त्रीहरू भने अनुभवी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation