निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानको सुनुवाइ भोलि

८ साउन, काठमाडौं । निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ भोलि बुधबार हुने भएको छ ।

संसदीय सुनुवाइ समितिका सहसचिव निर्मलादेवी लामिछाने वस्तीका अनुसार प्रधानको सुनुवाइका लागि संसदीय सुनुवाइ समितिको बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा राखिएको छ ।

 

गत असार २ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो । उक्त सिफारिसको पत्र परिषदले असार ४ गते सुनुवाइ समितिमा पठाएको थियो ।

प्रस्तावित आयुक्तविरुद्ध संसदीय सुनुवाइ समितिले असार ७ गते उजुरी आह्वान गरेको थियो । सोही दिन समितिले असार २० र २१ गते प्रधानको संसदीय सुनुवाइ गर्ने सहितको कार्ययोजना तय गरेको थियो ।

तर, असार २१ गते हुने भनिएको सुनुवाइ रोकिएको थियो । रोकिएको सुनुवाइ भोलि बुधबार हुन लागेको हो ।

प्रधानलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा समेत कांग्रेस र एमालेका दोस्रो तहका नेताहरुबीच छलफल चलेको छ । उनको सुनुवाइ हुने वा नहुने अझै टुंगो नलागेको नेताहरु बताउँछन् ।

सुनुवाइ समितिले उजुरी आह्वान गर्दा प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो । सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation