बुटवल । उद्योगीहरुको छाता संस्था नेपाल उद्योग परिसंघले आउदो फागुन महिनामा स्वदेशी उत्पादनको प्रदर्शनी स्वदेशी एक्स्पो गर्ने भएको छ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने मेक ईन नेपालको अभियान चलाएको परिसंघले बुटवलको बुटवलमण्डप स्थित प्रदर्शनी स्थलमा हाम्रो सामान हाम्रो स्वाभिमान भन्ने नाराका साथ प्रदर्शनी आयोजना गर्न लागेको हो।
नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले प्रदर्शनीमा नेपाली उद्योगबाट उत्पादित बस्तुहरुका मात्रै स्टल राखिने बताए।
परिसंघले आयोजना गर्न लागेको महोत्सव वा मेला होईन स्वदेशी उद्योगका उत्पादनको प्रदर्शनी हो यसबाट नेपाली उद्योगी र उपभोक्ताका बिचमा सम्वन्ध स्थापित हुनेछ आलमले भने।
प्रदर्शनीले पछिल्लो समयमा उद्योगीमा देखिएको निराशालाई आशाको सन्चार प्रवाह गर्ने अपेक्षा लिईएको उनले बताए।
स्वदेशी एक्स्पो नाम दिईएको उक्त प्रदर्शनी फागुन १ गते देखि १२ गतेसम्म सन्चालन हुनेछ।लुम्बिनी प्रदेश उद्योग परिसंघ र नेपाल उद्योग परिसंघ आयोजक रहेको प्रदर्शनीमा रुपन्देही उद्योग संघ र गुल्मी उद्योग संघ सह आयोजक रहेका छन्।