सुदूरपश्‍चिमका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

१६ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । बुधबार प्रदेश सभा सचिवालयलाई पत्र पठाएर मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन बैठक व्यवस्थापन पनि गरिदिन आग्रह गरेका छन् ।

मुख्यमन्त्रीको आग्रहपछि सभामुख भीमबहादुर भण्डारीले शुक्रबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका प्रदेश सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

 

राजनीतिक समीकरण फेरिएर एमालेले २० असारमा समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । एमाले र कांग्रेसको गठबन्धन बनेपछि सोडारी अल्पमतमा परेका छन् ।

सोडारीलाई अहिले नेकपा माओवादी केन्द्रका १० जना, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिको रञ्जिता पक्षका एक जना गरेर १५ जनाको मात्र समर्थन छ । जबकी ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ जनाको समर्थन आवश्यक पर्छ ।

 

कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ६, राप्रपा र स्वतन्त्र १र१ गरेर ३७ जना विपक्षमा छन् ।

एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका सोडारीले चालू वर्षको बजेट पारित गराउन नसक्दा साउन १ देखि सुदूरपश्चिम बजेट शून्यताको स्थिति छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation