कपिलवस्तुमा बलात्कारको अवस्था, हाम्रो समाज कता जादै छ ?

विक्रम विश्वकर्मा,
कपिलवस्तु ।
नेपाल सङ्गै विश्व नै यति बेला कोरोना भाईरस अर्थात कोभिड १९ को महामारीको चपेटामा छ । नेपाल पनि कोरोना विरुद्धको लडाईका लागि करिब डेढ महिना देखि लकडाउनमा छ । सरकार देखी सुरक्षाकर्मीसम्मको ध्यान लकडाउन पालना गर्न र गराउनका निम्ति केन्द्रीत छ । अत्यावश्यक बाहेकका सम्पूर्ण आवतजावत पूर्णरुपमा बन्द छन् । यसै समयमा कपिलवस्तुमा भएका बलात्कार सम्बन्धी सञ्चार माध्यममा सार्वजनिक समाचार मानवीय संवेदनालाई नराम्रोसँग घोच्ने खालका छन् । छुट्टै एक तरङ्ग उत्पन्न गराएको छ। जिल्लामा लकडाउन अवधिको ४२ दिनसम्म १२ वटा बलात्कार भएका छन् भने ३ बलात्कार प्रयासका घटना भएको छ । घटनामा ६ जना बालिका १० बर्ष मुनिका रहेका छन् । १० बर्ष भन्दा मुनिका बालिकामाथी बलात्कार हुनु भनेको एक गम्भीर सोचनीय बिषय हो । घटना हेर्दा हाम्रो समाजमा बालिकाहरु असुरक्षित बन्दै गएको पुष्टि हुन्छ । शिक्षाको युगमा प्रवेश गरको हाम्रो समाज कता जादै छ ? गम्भिर प्रश्न समेत उब्जिएको छ ।

चालु आर्थिक बर्षको बैशाख महिनासम्म ३३ वटा बलात्कारका घटना भएका छन्। शिवराज नगरपालिकामा एक १४ बर्षिया बालिकालाई स्थानीय महिलाले नै ललाई फकाई आफ्नो घरमा लगि युवाबाट बलात्कार गराएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। महिलाले नै फकाउने र बलात्कारजन्य कार्यमा संलग्न गराएको घटनाले महिला महिलाबाट नै असुरक्षित भएको तथ्य पुष्टि हुन्छ । बलात्कार जस्तो अपराधिक कार्यमा संलग्न भएका अधिकांश कम शिक्षित भएको पाईएको छ । उनीहरु यस्तो कार्यमा संलग्न हुनु भनेको पर्याप्त ज्ञान नहुनु नै हो । सरोकारवाला निकायले यो पक्षमा पनि ध्यान दिन जरुरी छ ।

समाजमा बलात्कारका घटना किन यति बढी भइरहेका छन् ? अध्ययनको विषय बनेको छ । जिल्लामा अधिकासं घटना आफन्त बाटै, बिश्वासिलो पात्र र छिमेकीबाट भएका छन् । कोही नलमा पानी लिन जादा त कोही शौचालय जादा । यी घटनाले बालिकाहरु आफ्नै घर वरिपरि नै सुरक्षित छैनन् भन्ने कुरा पुष्टि गर्दछ । अपराधिहरुले घटना भई सके पछि कसैलाई भने ‘तेरो बेइज्जत गरिदिन्छु’ वा ‘ज्यान मारिदिने’ भन्ने सम्मको अस्त्र प्रयोग गर्ने गर्छन् । बेइज्जत हुने डरले महिलाहरू यस्ता घटना बाहिर ल्याउन डराउँछन । हामीले बदल्नुपर्ने समाजको बुझाइ यही हो– बेइज्जत पीडकको हुन्छ, पीडितको होइन । पीडकलाई कारबाही दिलाउन र यस्ता घटना नदोहोरिऊन् भन्न जतिसक्दो छिटो पीडितले प्रहरीकहाँ उजुरी दिनुपर्छ ।

अझै पनि गाउ÷सहरमै दिनदहाडै बलात्कृत हुनु विडम्बनापूर्ण छ । यस्ता घटनाले महिलाको स्वतन्त्र हिँड्डुलमा भय र अवरोध पैदा गरेका छन्। बालिका, युवती र महिला निर्भीक र स्वतन्त्रपूर्वक हिँड्डुल गर्न नसक्ने समाजमा उनीहरूले क्षमता प्रदर्शन गर्ने अवसर पाउँदैनन्। सभ्य र समतामूलक समाज निर्माणको परिकल्पना गरिरहँदा यस्ता बर्बरतापूर्ण घटनालाई कसैगरी पनि जायज मान्न सकिँदैन। महिला हिंसाका सबै क्रियाकलापलाई निरुत्साहित र नियन्त्रण गर्दै बलात्कारविरुद्ध शून्य सहनशीलता कानुनमा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ। उजुरी दिन जति–जति ढिला हुन्छ, प्रमाण नासिने र दोषी फरार हुने सम्भावना त्यति नै रहन्छ । यसका लागि पीडितलाई परिवार र समाजले सघाउनुपर्छ ।

महिलामाथि हुने सबै किसिमका विभेद र हिंसा हटाउन नेपालले विभिन्न अन्तर्रा्िष्ट्रय सन्धि र महासन्धिहरूलाई स्वीकार गरेको छ। नेपालले सन् १९९१मा महिलाविरुद्धका सबै विभेद हटाउने महासन्धि (१९७९) लाई अंगीकार गरेको छ। नेपालको संविधानले पनि महिला समानताको ग्यारेन्टी गरेको छ। संविधान र कानुन महिलामैत्री भए पनि व्यवहारमा त्यस्तो देखिन्न। सामान्यतया बलात्कार तत्काल उत्वेगमा आएर हुने अपराध हो । यस्तो आपराधिक मनोवृत्ति के कारणले भइरहेको छ भन्नेबारे गम्भीर अध्ययन नगरी समस्याको जरोमा पुग्न मुस्किल हुन्छ । बेरोजगारी, एक्लोपना, दण्डहीनता, या अरू के कारणले यस्तो मनोवृत्ति बढिरहेको छ, पत्ता लगाएर न्यूनीकरणका उपाय खोजिनुपर्छ । जिल्लामा क्रियाशिल विभिन्न संघसंस्थाहरुले समय समयमा १÷२ दिने यौनजन्य शिक्षामा आधारित रहेर जनचेतना मुलक कार्यक्रमहरु गर्ने गर्दछन् । त्यो पर्याप्त भएको देखिदैन । ति संघसंस्थाका कार्यक्रममा सहभागिहरुले पनि व्यवहारमा परिवर्तन गरी आफनो घर परिवारलाई सचेत बनाउन सकेको पनि भेटिदैन ।

घटना भई सकेपछि घटनालाई लुकाउनलाई राजनितिक संरक्षण हुने तथा प्रहरीको अनुसन्धान प्रक्रियामा रहेको घटनालाई हस्तक्षेप गर्दै अपराधि छुटाउन राजनैतिक दलका नेता नै लाग्ने गरेको खबरहरु बेला बेलामा सार्वजनिक हुने गर्दछन् । जसले अनुसन्धान गर्ने कर्मचारीलाई बाध्य बनाई प्रमाणहरु नष्ट गर्ने देखी घटनालाई साम्य पार्नसम्म पछि पर्दैनन् । दोषीले सजाय नपाउनाले अपराधीहरूको मनोवैज्ञानिक बल बढ्न जान्छ । बलात्कारको घटना घट्नुको साटो बढ्न थाल्छ । यसले भयावह अवस्था निम्ताउन पनि सक्दछ ।

बालबालिका तथा किशोरकिशोरीहरुलाई विद्यालय स्तरको स्वास्थ्य शिक्षामा मात्र सिमित नराखि विभिन्न समयमा सचेतनामुलक कार्यक्रमहरु गरी परिवार तथा समुदायलाई सुचित गर्न सकिन्छ । त्यस्तै समुदाय र प्रहरी साझेदारीजस्ता कार्यक्रम चलाएर भए पनि समाजमा बलात्कारप्रति थप संवेदनशीलता जगाउनुपर्छ ताकि घटना भइहालेमा पीडितले प्रहरीको सहयोग लिन सकून, अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने माहोल बनोस् । जसले गर्दा महिलाहरु भय र अवरोध बिना नै हिड्डुल गर्न सकुन् । आफुलाई सुरक्षित महसुस गर्न सकुन । यो बाताबरण निमार्णको लागि तीन तहका सरकार देखी सम्बन्धित सबैले एक पटक घोत्लीएर सोच्ने बेला आएको छ ।

प्रकाशित : वैशाख २२, सोमवार
बेलुकीको ०६ : ३४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation