सुमन (नाम परिवर्तन) कक्षा चारमा अध्ययनरत छात्र हुन् । उनले अध्ययन गर्ने कक्षाको अंग्रेजी विषय शिक्षण गर्ने शिक्षकको नाताले कक्षा कोठाभित्र उनको व्यवहार अवलोकन गर्ने अवसर प्राप्त भएको छ । विषय शिक्षकका अतिरिक्त कालिका मानवज्ञान मावि बुटवलमा कक्षा २ देखि ५ सम्मको शैक्षिक वातावरणलाई सहजीकरण गर्ने इन्चार्जको भूमिका पनि विद्यालय प्रशासनले मलाई उपलब्ध गराएको छ । गतवर्ष कक्षा ३ मा कक्षा शिक्षण गर्ने शिक्षकले निज छात्रको बारेमा एक÷दुईपटक मसँग कक्षा कोठामा देखाएको उनको बानी–व्यवहारबारे जानकारी गराएको सम्झना पनि ताजै छ । कक्षा शिक्षकका अनुसार छात्र सुमन २०७७ सालमा बाल कक्षामा विद्यालयमा भर्ना भएका हुन । विद्यालय प्रवेशको सुरु वर्ष उनी काठमाडौँको एक निजी विद्यालयमा अध्ययन गरेका रहेछन् । उनका बुवा नेपाल प्रहरीमा जागिरे छन् । हाल उनका दाजुले कक्षा ७ मा अध्ययन गर्छन् ।
घरमा आमा, हजुरआमा र दाजुसँग उनी सँगै बस्छन् । कक्षा ३ भन्दा अगाडिका कक्षाहरूमा उनको सिकाई उपलब्धि स्तर राम्रो देखिन्छ । कक्षामा बस्दा उनले धेरै साथीहरु बनाउँदैनन् । आफूलाई मनपर्ने एक दुई जना साथीहरुसँग भने उनी राम्ररी घुलमेल गर्छन् । उनको लेखन शैली औसत विद्यार्थीको भन्दा राम्रो छ । अक्षर सफा र राम्रा लेख्छन् । अघिल्ला कक्षामा सिकाइ सहजीकरण गर्ने शिक्षकका अनुसार उनी चित्र कोर्ने र रङ भर्ने काममा अरुभन्दा अगाडि देखिन्छन् । कक्षा ३ मा सिकाइ सहजीकरण गर्ने शिक्षक नृत्यकलामा अब्बल हुनुहुन्छ । उहाँले आफ्ना विद्यार्थीहरूलाई समय समयमा गीतको तालमा नृत्य अभिनय पनि गराउनुहुन्छ । कक्षाका ४४ जना विद्यार्थीमध्ये ४३ जना विद्यार्थी नृत्यमा भाग लिँदा उनले कहिल्यै पनि नृत्य गरेनन् । विद्यालयको वार्षिक उत्सवमा सांस्कृतिक पोशाक लगाएर सामूहिक नृत्यमा भने उनले भाग लिए र साथीहरूसँगै जानी नजानी नृत्य प्रस्तुत गरे । अरुले आलोचना गरेको फिटिक्कै नरुचाउने सुमन आफ्नो रुचि अनुसार काम गर्न तयार हुन्छन् । अन्यथा उनलाई सोधिएका प्रश्नको मौखिक उत्तर दिन पनि तयार हुँदैनन् । कक्षा ३ मा कक्षा शिक्षण गर्ने शिक्षक शैक्षिक वर्षको अन्त्यतिर प्रसुति विदामा बस्दा उक्त कक्षाको सिकाई सहजीकरण गर्न नयाँ शिक्षकलाई करिब तीन महिना जिम्मेवारी तोकिएको थियो ।
यो समय अवधिमा उनले कक्षामा अलि बढी उपद्रो गरेछन् । आफू बसिरहेको ठाउँबाट यता उता सर्ने ,साथीहरुसँग झगडा गर्ने, पिट्ने, शिक्षकले भनेको नमान्ने गर्न थालेपछि शिक्षक रिसाएर उनको आमालाई फोन गरेर जानकारी गराउनु भएको रहेछ । एकदिन आमासँगै उनलाई लिएर शिक्षक अफिसमा आउनुभयो । उनलाई राम्ररी सम्झाएर अब उप्रान्त कक्षामा साथीहरुलाई दुःख नदिने ,शिक्षकले पढाउँदा ध्यान दिने, नियमित गृहकार्य गर्ने, आफू बसेको सिट छाडी अन्यत्र नजाने ,ज्ञानी बन्ने अन्यथा विद्यालयमा अध्ययन गर्न नपाउने भनी डर देखाउँदै सम्झाइ बुझाइ गरि पठाइयो । कक्षा ३ सम्म एकजना शिक्षकको सिकाई वातावरण र निगरानीमा रहेका सबै छात्र–छात्राहरूलाई हाल कक्षा ४ मा फरक–फरक घन्टीमा फरक–फरक विषय शिक्षकद्वारा शिक्षण सिकाइ गरिन्छ । उक्त कक्षामा अध्यापन गर्ने एक शिक्षक म पनि हुँ । शैक्षिक वर्षको सुरुवातमा नयाँ कक्षाकोठा, नयाँ विद्यार्थी, नयाँ शिक्षकको आ–आफ्नै अनुभूति हुनु स्वभाविक हुन्छ ।
विद्यार्थीले शिक्षकलाई चिन्ने ,शिक्षकले विद्यार्थीका आनीबानीको अवलोकन गर्दै शिक्षण गर्ने, अध्ययन, अध्यापनका अतिरिक्त अन्य थुप्रै व्यवहारिक कुराकानी साटासाट गर्दै शिक्षक– विद्यार्थी घुलमिल हुने क्रम जारी हुन्छ । विद्यार्थीहरू पनि शिक्षकले सिकाउने तरिकाका बारेमा आफ्ना साथीहरूसँग कुराकानी गर्ने, घरमा आफ्ना अभिभावकलाई सुनाउने र शिक्षक पनि फुर्सदमा विद्यार्थी व्यवहार र सिक्ने शैलीबारे आफ्ना सह–कर्मीहरुसँग अनुभवहरू साटासाट गर्ने गरिन्छ । विद्यार्थी सानो कक्षामा अध्ययन गर्ने हुन् वा ठूलो कक्षामा, उनीहरुले शिक्षक अनुसार आफूलाई तयार गरेका हुन्छन् । अर्थात् शिक्षकलाई उनीहरुले कडा र नरम स्वभावको भनी पहिचान गरिसकेका हुन्छन् । शिक्षकले विद्यार्थी पहिचान नगर्दै विद्यार्थीले शिक्षकलाई पहिचान गरिसकेका हुन्छन् ।
एउटा शिक्षकले कक्षा कोठाका सम्पूर्ण विद्यार्थीलाई समान व्यवहारसहित सिकाई सहजीकरण गर्नुपर्ने हुन्छ । यसो गर्दा शिक्षकलाई विद्यार्थीका व्यक्तिगत आनीबानी, उनीहरुको सिकाइ स्तर, पारिवारिक अवस्था साथीसंगत लगायत अन्य व्यवहार पहिचान गर्न केही समय लाग्ने गर्छ । यद्यपि कक्षा कोठामा प्रवेश गरेपछि सिकाइमा रुचि कम भएका, पठनसिप कमजोर भएका ,लेखनसिप कमजोर भएका र सुनाई बोलाईमा कमजोर देखिने विद्यार्थीको पहिचान भने सुरुवाती दिनबाटै शुरु हुन थाल्छ । कक्षामा चकचक गर्ने, सरसफाइमा ध्यान नदिने ,आफ्ना सामग्रीको जतन नगर्ने, सिकाइमा ध्यान केन्द्रित नहुने ,कक्षा कार्य र गृहकार्य तथा परियोजना कार्यमा अरुचि हुने विद्यार्थीहरू क्रमश छुट्टिँदै जान्छन् । यी कार्यहरुमा उत्कृष्ट र मध्यम प्रस्तुती गर्ने विद्यार्थी पनि कक्षा कोठाभित्र हुन्छन् । त्यसैले कक्षाकोठालाई एक विविधतायुक्त सानो समाजको रुपमा पनि लिने गरिन्छ । कक्षा चारमा अध्ययन गर्ने छात्र–छात्राहरूको नजरमा म अलि नरम स्वभावको र मायालु शिक्षकको रुपमा अझ उनै विद्यार्थीको शब्दमा म “सोझो शिक्षक” को रुपमा परिचित रहेछु । यो कुरा मैले उनीहरू मध्यकै केही प्रतिनिधिमूलक विद्यार्थीहरूका प्रतिक्रियाबाट जानकारी पाएको छु । हुन पनि कक्षाकोठामा मेरो प्रवेशसँगै सबैभन्दा बढी खुसी हुने विद्यार्थी भनेकै सिकाइमा कमजोर प्रस्तुति भएका हुन्छन् । हुन त अन्य विद्यार्थीहरु पनि खुसी हुन्छन तापनि तुलनात्मक रुपमा उनीहरु नै बढी खुसी देखिन्छन् ।
शैक्षिक वर्ष २०८१ को रुटिन अनुसार म कक्षा चारमा छैठौं घण्टी बजेपछि प्रवेश गर्छु । मेरो प्रवेशसँगै केही विद्यार्थीहरू यत्रतत्रबाट दगुर्दै आफ्नो सिटमा आइपुग्छन् । सिट छोडेर यता–उता लागेका विद्यार्थीहरुमध्ये एकजना छात्र अलि अटेरी स्वभावमा मलाई हेर्दै अलि ढिलो सिटमा आएर विकेन्द्रित मुद्रामा बस्छन् । आफ्नै तालमा अगाडि पछाडि र छेउछाउका साथीहरूसँग कुरा गर्छन् । मेरो नजर उनीतर्फ तानिन्छ । तत्काल सर पिशाव फेर्न जान्छु है भनेर अनुमति माग्छन् । मैले जाउ भन्छु । एकैछिनमा उनको अर्को साथी उठेर त्यसैगरी अनुमति माग्छन् । उनलाई पनि पठाउँछु । कक्षा मनिटरले हल्ला गरेका विद्यार्थीको नामको सूची मलाई दिन्छन् । सबैलाई अगाडि बोलाउँछु । सुमन सधैँ हल्ला गर्नेमा अगाडि आइ उभिन्छन् । उनीहरुलाई सामान्य सजाय सहित सम्झाई बुझाई गरेर आफ्नो सिटमा बस्न निर्देशन गर्छु । एकैछिनपछि विषय मनिटरले गृहकार्य नगरेको नामको सूची दिन्छन् । त्यसमा पनि उनीसहित अन्य केही चकचके विद्यार्थीको नाम आउँछ । गृहकार्य नगरेकालाई अवस्था अनुसार नसियत दिएर सम्झाई बुझाई गरेपश्चात आ–आफ्नो सिटमा बस्न पठाउँछुु । १५ – २० मिनेटको समयमा आफ्नो पाठ योजना अनुसार विषयवस्तु शिक्षण गर्छु । बीचबीचमा ध्यान नदिने विद्यार्थीहरुलाई ध्यान केन्द्रित गराउँदै र आलोपालो प्रश्नहरु सोधी कक्षा अगाडि बढाउँछु । विषयवस्तु अध्यापन गरेपछि सोही विषयवस्तुसँग सम्बन्धित समस्या समाधान गर्न कक्षा कार्य दिएर पछिल्लो १५– २० मिनेट जति उनीहरुकै सामु पुगेर कपी परीक्षण गर्छु । गल्ती गरेको स्थानमा संकेत गर्दै र सच्याइदिँदै कपी परीक्षण गर्दा केही समय लाग्ने गर्दछ । ध्यानपूर्वक कपी परीक्षण भएन भने अभिभावकको फोन आउने गर्छ ।
विद्यार्थीको गल्तीमा सकेसम्म सही रेजा नपरोस भन्नेमा सचेत हुन्छु । तापनि कहिलेकाहीँ मानवीय त्रुटि हुने गर्दछ । कपी परीक्षणको क्रममा कक्षा कार्यमा अरुचि हुने विद्यार्थीहरू आफ्नो सिट छोडेर यताउता गर्न थाल्छन् । कोही– कोही अन्य साथीहरुका सिटमा पुगेर पनि सार्ने गर्छन् । सुमन लगायत थप एक दुई जनाको चकचके दैनिकी सुरु हुन्छ । एकैछिनमा सर.. सुमनले पिट्यो भन्ने आवाज आउँछ । सबैको ध्यान त्यतै केन्द्रित हुन्छ । म पनि रिसाए जस्तो गरि, उठेर त्यतै जान्छु र उनलाई गाली गर्दै आफ्नो सिटमा गएर कक्षा कार्य गर्न भन्छु । कहिलेकाही त उनलाई दुख्ने गरी सजाय दिन्छु । जुन दिन उनलाई दुखाएर सजाय दिन्छु उक्त दिन उनको व्यवहार झन् बढी उत्तेजित हुन्छ । सजाय दिएर सिटमा बसालेपछि म कपी परीक्षणमा व्यस्त बन्छु । उनको पालो आफूसँग भएको कलमले डेक्स बजाउने, आफ्नै तालमा आवाजहरू गुनगुनाउने र सबैको ध्यान आफुतिर केन्द्रित गर्ने तर्फ हुन्छ । मैले वेवास्ता गरुन्जेल उनले आफ्नो गतिविधि जारी राख्छन् । सबैको सामु उनलाई गाली गर्दा अझै बढी उत्तेजित भएको देख्छु । नजिक गएर सुमसुमाउँदै सम्झाउँदा चाहिँ उनी केही क्षण शान्त पनि हुन्छन् । फकाएर काम लगाउँदा उनले आफ्नो काम समयमै पुरा पनि गर्छन् । उनको कामलाई प्रशंसा गर्दै सबैको सामु हौसला बढाइदिँदा फुरुक्क पर्छन् । म उक्त कक्षामा शिक्षण गर्न थालेको छ महिनासम्म उनको बानी सुधार गर्न अनेकौं प्रयत्न गर्दै आएको छु । घन्टी बजेपछि कक्षामा प्रवेश गर्नु पूर्व आज सुमनलाई कसरी फकाउने होला ताकि उनको कारण अन्य विद्यार्थीको सिकाई वातावरणमा कुनै खलबल नहोस् भन्नेमा म सधैं चिन्तित हुन्छु । मैले निज सुमनको व्यवहार बारेमा कक्षा शिक्षकसहित अन्य विषय शिक्षकसँग पनि पटकपटक परामर्श गरेको छु । सबै शिक्षकको प्रतिक्रिया करिब – करिब मिल्दोजुल्दो देखिन्छ । उनले नेपाली भाषा शिक्षण गर्ने शिक्षकलाई खाशै टेर्दैनन् । कक्षा शिक्षकले भनेको अलि बढी मान्छन् । कक्षा शिक्षकसँग थोरै धेरै डराउँछन् पनि ।
एकदिन उनले एकजना अर्को साथीलाई लिएर पोडियमको भित्र छिरेछन् र त्यही लुकेर बसेका रहेछन् । म कक्षा प्रवेश गरेपश्चात उनको अवस्था बुझ्दा एक जना साथीसँग ऊ… त्यहाँ लुकेका छन् भन्दै अन्य साथीहरुले संकेत गरे । साथीहरुले उनको बारेमा उजुरी गर्न पनि डराउँछन् । त्यसैले उनीहरुले सुस्तरी संकेत मात्रै गरेका थिए । मैले उनीहरुलाई वेवास्ता गरी आफ्नो पाठलाई अगाडि बढाउने निधो गरे । एकछिन पछि पोडियम बजाउन शुरु गरे । सायद मैले वेवास्ता गरेर पढाउन शुरु गरेको थाहा पाएर उनीहरु मेरो ध्यान आफूतिर केन्द्रित गर्न त्यसो गरेको हुनुपर्छ । म नजिक गएर किन यहाँ लुकेर बसेको भन्दै दुबैलाई हप्काए । एकजना अलि डराएर निस्कन खोज्दै थिए सुमनले उनलाई तानेर भित्रै बस्न भने र उल्टो मलाई हेरेर हाँस्न थाले । ल.. मैले अब तिमीहरूको फोटो खिचेर बुवाआमालाई पठाइदिन्छु भनेर डराउन दिएँ । मोबाइल निकालेर फोटो पनि खिचे तर सुमन डराएनन् बरु उल्टो दुई औलाको पोज दिए । बल्ल– तल्ल फकाएर बाहिर निकाले । आफ्नो दैनिकी अनुसार नया पाठको सहजीकरण पश्चात कक्षा कार्य गर्न अराएर कपी परीक्षण गर्न सुरु गर्दै थिए । एकछिनपछि सर… सुमनले कुशल (नाम परिवर्तन)लाई घाँटी थिच्दिनुभयो, कुशल रोइरहनुभाछ भनि मनिटरले सुनाए । मेरो पालो रिसाउँदै यो बदमासलाई अब छोड्दिन भनेर उनको नजिक पुगे । उनी भने खुर्र.. दगुर्दै पछाडिको सिटसम्म पुगे । म पनि त्यही गएर उनलाई दुख्ने गरी नसियत दिँदै थिए । ए.. ए.. गर्दै मेरो हात छेक्दै उनी साथीहरु बसेको सिटमुनि छिरे । उनलाई त्यहाँबाट तानेर बाहिर निकाल्छु भन्ने सोचेर तान्न खोजे , उल्टो बल गरेर डेक्सको खुट्टा समातेर बल गरेका रहेछन् मैले तान्न सकिन र त्यहाँबाट फर्के ।
एकछिन पछि आफै उठेर मलाई छड्के आँखाले हेर्दै र गुनगुनाउँदै आफ्नो सिटमा आएर बसे । मैले उनलाई दुख्ने गरी सजाय दिएको थिएँ । मेरा हात पनि अलिअलि झम्झमाएका थिए तर उनलाई त्यसको खासै प्रभाव परे जस्तो देखिन्नथ्यो । मानौँ सुमनको शरीर पिटाई खाँदा – खाँदा चाम्रो बनेको छ । एकदिन उनलाई कक्षा शिक्षक मार्फत अफिसमा बोलाएर सजाय पनि दिइयो । उनीसँगै अन्य दुई तीनजना चकचकेलाई पनि बोलाइएको थियो । अरु साथीहरु डराएर रुन थाले तर उनी पटक्कै डराएनन् । एकजना शिक्षक साथीले त उनको शरीरबाट अब कपडा खोलेर नाङ्गै बनाउछु भनेर कस्सिनु भयो र पनि उनलाई केही फरक परेन । उनीसँग अभिभावकको फोन नं.मागियो । थाहा छैन भने । कक्षा शिक्षकबाट अभिभावकको फोन खोजेर उनको घरमा मैले फोन गरे । आमाले फोन उठाउनु भयो । आमासँग सुमनको बारेमा करिब आधा घण्टा कुरा भयो । आमाका अनुसार उनीमा हिजोआज साह्रै मुख्र्याई र जिद्दी स्वभाव बढेको छ । उनी बरु कुकुर, बिरालो, कक्रोच जस्ता जीवजन्तुसँग डराउँछन् तर मान्छेसँग डराउँदैनन् । उनको स्वभावसँग वरपरका साथीभाइहरु पनि डराउँछन् । उनी यतिसम्म मूर्ख छन् कि आफूले भनेजस्तो भएन भने साथीहरुलाई पनि पिट्न तम्सिन्छन् । म सानो छु भन्ने उनलाई लाग्दैन । ठूला मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने कुनै मतलब छैन । सबैलाई जित्नै पर्छ । उनी हार्न जान्दैनन् । हरेक कुरामा जिताउनै पर्छ ।
कक्षा सातमा पढ्ने उनका दाइ असल स्वभावका छन् । उनको व्यवहारले दाई पनि हैरानीमा परेका छन् । उनको सबै व्यवहारलाई दाइले चुपचाप सहनुको विकल्प छैन । उनले विद्यालयले उपलब्ध गराएको खाजा खाँदैनन् । कहिले घरबाट ल्याएको त कहिले क्यान्टिनमा पैसाले किनेर खाजा खान्छन् । उनी यति अटेरी छन् कि शर्त राखेर मात्र काम गर्ने गर्छन् । उनले आमालाई साइकल किन्न लगाए । चाँदीको सिक्री बनाउन लगाए । स्मार्ट घडी किनिदिन भने । दोस्रो त्रैमासिक परीक्षामा सहभागी भए बापतको उनले ड्रोंनको माग अगाडि सारेका छन् । आमालाई विद्यालयको गेट भित्र छिर्न दिँदैनन् । अरुको प्रशंसा गरेर उनलाई सम्झाएको र तुलना गरेको पटक्कै मन पर्दैन । कहिलेकाहीँ मन प्रसन्न हुँदा उनले आफ्ना मोजा आफै धुने, नुहाउने गर्छन् । उनलाई फोहर मन पर्दैन । जाँगर चल्यो भने वरपर सरसफाई पनि गर्छन् । आफू चिटिक्क पर्न उनले बसाउने तेल कपालमा लगाउने र कपडामा सेन्ट छर्कने गर्छन् । टिभी र मोबाइल प्रति उनको खासै रुचि छैन । घरमा जम्मा भएका पुराना कपी किताब बेच्न , कवाडी समान बेच्न र पैसा कमाउन उनलाई साह्रै जाँगर लाग्छ । पैसा भने उनले बचत गर्दैनन् । उनको व्यवहारले आमा पनि हैरानीमा पर्नुभएको छ । उनको बानी व्यवहारबाट दिक्क भएर आमाले ज्योतिषीकोमा गएर हेराउँदा दुई तीन वर्ष ग्रह बिग्रेको बताइदिएछन् । सुमन आफ्नो बुवाको अगाडि अलि डराउँछन् । हजुर आमालाई पनि उनले टेर्दैनन् । कहिले बुवा आउनुहोला र भन्ने भएको छ भन्दै आमाले आफ्ना कुरा सुनाउनुभयो । मैले केही गरे पनि सकेकी छैन, तपाईहरुले सुधार्नु सर भन्दै हामीलाई जिम्मा लगाउनुभएको छ ।
सुमनको आमासँगको छलफल पश्चात् कक्षा शिक्षक, विषय शिक्षक र उनलाई तल्ला कक्षामा शिक्षण गर्ने शिक्षक साथीहरु र उनका मन मिल्ने सहपाठी साथीहरुसँगको छलफल र प्रतिक्रियाबाट हामी एउटा निष्कर्षमा पुगेका छौं । सुमनलाई अब सजाय दिएर हुँदैन । सबैले उनलाई फकाउने, प्रशंसा गर्ने ,साथीहरूको सामु उनको आलोचना नगर्ने, सम्झाउनै परे उनलाई छुट्टै बोलाएर सम्झाउने, सानो–सानो प्रगतिमा पनि अगाडि बोलाएर ताली बजाउन लगाउने, कक्षामा जिम्मेवारी दिने आदि । सुमन शारीरीक तथा मानसिक हिसाबले तन्दुरुस्त छात्र हुन् । मैले उनलाई विशिष्ट व्यवहार भएको विद्यार्थीको रूपमा बुझेको छु । गृहकार्य गरेर ल्याएको एकदिन सुमनलाई कक्षाकोठामा अगाडि बोलाएर मेरो बेस्ट फ्रेन्ड भनेर घोषणा गरेको छु । इन्चार्ज सरको बेस्ट फ्रेन्ड बन्न पाएकोमा उनी मख्ख परेका छन् । कक्षाकार्य पूरा गरेमा मिठो चकलेट खान दिने शर्तमा पटकपटक उनलाई कक्षाकार्य गर्न लगाएको छु । परीक्षा राम्ररी दिएर सबै विषयमा पास भएमा पुरस्कार दिने भनेको छु । उनले परीक्षामा पनि सकेजति मेहनत गरेको देखिन्छ । हिजोआज त उनले घरमा आफ्नी आमासँग मेरो बारेमा कुरा गर्न थालेका रहेछन् । मलाई इन्चार्ज सर मनपर्छ भन्न थालेछन् ।
विद्यालयको चौरमा टाढैबाट मलाई देखे भने साथीहरूसँग दौडेर नजिक आई नमस्कार गर्ने र मुसुक्क हाँस्ने गर्न थालेका छन् । मलाई पनि उनलाई कतिखेर देखौँ र उनको तारिफ गरौँ भन्ने बानी परेको छ । एकदिन उनलाई सुमसुमाउँदै नङ बढेका रहेछन् भोलि काटेर आउनु है भनेको थिएँ । अर्को दिन नङ काटेर चिटिक्क परी आएका रहेछन् । मलाई देखाउँदै थिए । आशा छ उनको व्यवहारबाट हैरानीमा परेका हामी सबैलाई उनले क्रमश खुसी बनाउनेछन् ।
कालिका मुख पत्र चौधौं अङ्क २०८१ बाट साभार