समानुपातिक समाबेशी प्रतिनिधित्व र भद्दा टिप्पणी

बसन्त भुसाल
बिगत २ / ४ दिन देखि सामाजिक संजालमा प्रदेश सभामा एकजना सांसद बोलेको भिडियो भाइरल भईहेको छ । केही महिना अघि संघीय सभामा बोलेको एक भिडियो पनि त्यसैगरि भाइरल भएको थियो । मैले सामाजिक संजालमा ती दुबै भिडियोमा भैरहेका प्रतिक्रियाहरु हेरिरहेको थिए र छु पनि ।
अधिकांस टिप्पणीहरु नकारात्मक देख्दा सुरुमा त मैले यो सामान्य कुरा हो जस्ले आम समाज गहिरो अध्ययन गरेको छैन वा सामाजिक यर्थाथ बुजेको छैन, उनीहरुबाट यस्ता निम्न तहका टिप्पणी आउनु सामन्य नै ठाने । तर, जब आफुलाइ समाजको ठूलो समाजसेवि र राजनैतिक नेता भनौदाको नामबाट पनि छुद्र टिप्पणी आउन थाले अनि म एउटा राजनीति र समाजशास्त्रको बिद्यार्थी भएको नाताले जति जानेको छु, तेति बुझाउन पर्छ भन्ने लागेर केही कुरा लेख्ने कोसिस गर्दै छु ।
लोकतन्त्रको बिश्वब्यापी मान्यता भनौं या यसको सबैभन्दा सुन्दर पक्ष भनेको नै सबै जाती, धर्म, बर्ग, लिङ्ग भूगोल तथा सिमान्तकृत समुदायको प्रतिनिधित्व हुनु हो । यसरी राज्यको राजनैतिक तथा प्रशासनिक क्षेत्रमा सबै बर्ग तथा क्षेत्रको समानुपातिक समाबेशी सिद्धान्तका आधारमा प्रतिनिधित्व हुनु पर्दछ भन्ने लोकतन्त्रको मुल मान्यता नै रहेको हुन्छ । समानुपातिक प्रतिनिधित्वले एकातिर सबै वर्ग‚ समुदाय र जातजातिका नागरिकहरुलाई उचित न्याय प्रदान गर्दछ भने अर्कोतिर अल्पमतको कदर गर्दै लोकतन्त्रमा सम्पूर्ण जनताको सहभागिताको सुनिश्चित गर्दछ । अब मैल यहाँ भन्न खोजेको र प्रष्टाउन खोजेको के हो भने प्रतिनिधित्व भनेको कसैको भावना, विचार वा दृष्टिकोणलाई स्थान दिनु वा उपस्थिति देखाउनु हो । टाठा बाठा ,पढे लेखेका वा ठेट शब्दमा भन्दा समाजका चलाख वा छट्टुले मात्र स्थान पाउने व्यवस्था हिजोको पन्चायती र २०४७ को संविधानमा सम्म नै थियो नि ।
तर समानुपातिक समाबेशी प्रतिनिधित्व भनेको त सबै बर्ग लिङ्ग समुदाय पिछडिएका बर्ग मात्रै नभइ ३ करोड जनसंख्या भएको देशमा झन्डै ७५ लाख बहुसंख्यक जनसंख्या भएको क्षेत्री बाहुन देखि २ सय त्रिहत्तर मात्र अल्पसंख्यक जनसंख्या भएको कुसुन्डा जातिको सम्म प्रतिनिधित्व गराउनु हो । जुन कुरा ०७२ को संविधानले सुनिश्चित गरेको छ । त्यसैले समानुपातिक समाबेसी प्रतिनिधित्वमा जुन जुन समुदाय वा क्षेत्रका मान्छेले धेरै पढेका छन तिनिहरुको मात्रै प्रतिनिधित्व गराउने भन्ने होइन कि हाल सम्म अवसर नपाएर आर्थिक, सामाजिक, राजनैतिक तथा प्रशासनिक क्षेत्रमा पछाडी पारिएका अल्पसंख्यक समुदायलाई अवसर दिएर नै उनिहरुको प्रतिनिधित्व गराउनु हो ।
समानुपातिक समाबेशी प्रतिनिधित्वको सिद्धान्तमा कस्ले कति पढेको छ भन्दा पनि कुन समुदाय वा क्षेत्र पछाडी परेको छ त्यसको प्रतिनिधित्व कसरी गराउने भन्ने कुरा ठुलो हुन्छ। त्यसैले हामीले कुनै पनि विषयबस्तुको बारेमा हलुका टिप्पणी गर्नु भन्दा त्यो विषय बस्तुबारे राम्रो सङ्ग बुझेर अध्ययन गरेर मात्रै टिप्पणी गर्ने बानिको बिकास गर्नुपर्दछ । हरेक ब्यवस्थाका सकारात्मक र नकारात्मक पक्षहरु हुन्छन र हालको व्यवस्थामा पनि कतिपय कमि कमजोरीहरु पनि होलान । तर, यथार्थ नबुझी सानो तिनो कमजोरीको खिल्ली उडाउनु राम्रो कि त्यसमा भएको कमजोरी लाई सच्चाउदै समाबेशी लोकतन्त्रलाई सुन्दर बनाउदै जानू राम्रो ? यदि पढेलेखेको छैन त्यसैले उनिहरुको प्रतिनिधित्व गराउन सकिदैन भन्न थाल्ने हो भने त कहिले तिनिहरुले पढ्न जान्छ्न। अनि, कहिले तिनीहरुको प्रतिनिधित्व हुन्छ। तेसो गर्नु भनेको त समाजका केही जान्ने ठुला ठालु र प्रशस्त धन सम्पत्ति भएकाले मात्रै चुनाब लड्नु पाउनु पर्छ अनि अगाडि मिठो बोल्ने र पछाडिबाट छुरा हान्ने, ताइ न तुइका गफ दिने र जनतालाइ बेकुफ बनाएर सत्तामै टिकिरहनेहरुको मात्रै प्रतिनिधित्व गर्नु पर्छ भनेको जस्तो भयो नि ।
यसरी त न पछाडि परेको अल्पसंख्यक सामुदायलाई शिक्षित हुन्छन त पुरै समाज । बरु अहिले जुन अवस्थाका पछाडी पारिएका, परेका सिमान्तकृत समुदायका नागरिक छन तिनिहरुलाइ त्यहि अवस्थामा अवसर प्रदान गर्न सकियो भने मात्रै तिनिहरुको आगामी पुस्ता सङ्गै हाम्रो पुस्ताले पनि यी दुई महिलाले बोलेको संसद भवनको त्यो रोस्टममा छाती खोलेर राज्यको बिकास र समृद्धिको विषयमा चिल्लो नलगाई बोल्न सक्नेछ्न अन्त्यमा, कुरो रहयो यी दुइ जना प्रदेश र संघियमा महिला सासदले बोलेको कुरा उनी दुबै महिला अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गरेका महिला सांसद हुन । समानुपातिक समाबेशि प्रतिनिधित्व तर्फबाट त्यो समुदायमा जस्तो पढे जानेका नागरिकहरु छन त्यहि अवस्थामा तिनिहरुको प्रतिनिधित्व हुनुपर्ने संबैधानिक व्यवस्था अनुसार उहाँहरुको प्रतिनिधित्व गराइएको हो । यो अवस्थामा अल्पसंख्यक समुदायको उनिहरुको सिधा आवाज बोल्न र सुन्न पाउने जुन अवसर प्राप्त भएको छ, यहि नै त लोकतन्त्रको सुन्दर पक्ष हो नि। जहाँ सम्म माननीय ज्यूको अभिब्यक्ती रहेको छ जुन अरु नेताको जस्तो कत्ती पनि बनावटी छैन। उहाँहरुका कुरा हिमालको गर्भबाट बगेर आउने हिउँ नदि जस्तै निर्मल र पबित्र छन। “सबै कुरा हाम्रा नेताहरुले किताबको पाना र बोलिमा मात्रै सिमित गर्ने कि काम गरेर देखाउने“ भन्ने जुन अभिव्यक्ति उहाँले व्यक्त गर्नु भएको छ त्यो त जनताको आवाज हो, त्यो नै आर्गनिक भनाइ हो। त्यसैले काम भन्दा कुरा धेरै गर्ने नेताको बोलिको पछाडी लागि पुरै व्यवस्था र समुदाय प्रती नै भद्दा टिप्पणी गर्नु भन्दा पहिला आफुलाइ अध्ययनसिल र जिम्मेवार बनाउनु नै राम्रो बुद्धिमानी होला कि !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation