लालपुर्जा नभएकै कारण वर्षेनी अतिक्रमणमा पर्छ सुस्ताको भूमि

परासी, २२ जेठ ।
अधिकांश सुस्तावासीसँग नागरिकता र जोतभोग गरिरहेको जग्गाको लालपुर्जा नहुँदा सुस्ताको भूमि अतिक्रमण पर्ने गरेको छ । भारतीय जनताहरु सीमामा खटिएका एसएसबी प्रहरीको सहयोगमा वर्षेनी सुस्ताको भूमी कब्जा जमाउँदै आएको सुस्ताबासी बताउँछन् ।एकातिर सीमामा जंगे पिलर छैन, अर्काे तर्फ जोतभोग भैरहेको जग्गाको लालपुर्जा पनि छैन । त्यसैको मौका छोपी भारतीय पक्षले वर्षेनी जग्गा अतिक्रण गर्दै आएको छ । आफनो भुमि जोगाउदै र भारतीयलाई आफनो भुमीबाट लखेटदै आएका सुस्तावासीहरु सरकारसँग नागरिकता र लालपुर्जाको माग गरेका छन् ।सुस्ताबासीसँग नागरिकता र पुर्जा नहुँदा यसरी कतै बाटो त कतै भवनको नाममा अतिक्रमण बढदै गएको छ । नेपालको नक्सा अनुसार सीमामा जंगे पिलर छैन त्यसैले सीमा कहाँसम्म हो भन्ने यकिन पनि छैन । एक दशक अगाडी सुस्तामा सीमा र जग्गा अतिक्रमणकै विवादले नेपाल–भारतको जिल्ला प्रशासन स्तरिय बैठकबाट सुस्ता भूमी भएरै विहारतिर बग्ने दुलहिनिया घोला पारीबाट भारतीय एसएसबीको गस्ती र वारीबाट नेपाली सुरक्षाकर्मीहरुको गस्ती हुने र जग्गा पनि सोही अनुसार जोतभोग गर्ने भनि सहमति भएको थियो ।
विवाद सुल्झाउन दुवै देशको प्रशासनिक निकायले सोही खोलालाई आधार बनाइ काल्पनिक दशगजा मानी दुवै देशका सुरक्षाकर्मीहरुले आ–आफनो क्षेत्रमा सिमा गस्ती गर्न वाकिङ बाउण्डरी (सडक) बनाएका छन् ।तर पछिल्लो समय फेरि पनि भारतीय एसएसबी जग्गा अतिक्रमण गराउने उद्देश्यले खोलापारी नेपाली सुरक्षाकर्मी गस्ती गर्ने वाकिङ बाउण्डरीमा हतियारसहित गस्ती गर्ने र सुस्ताबासीलाई धम्काउने तर्साउने कार्य गर्दै आएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए ।उनका अनुसार यसै लकडाउनको मौका छोपी भारतीय एसएसबीले, घोलावारी सुस्ता भूमीमा बनाइएको बाकिङ बाउण्डरी (सडक) बाट पनि ४ देखि ५ फिटसम्म छोडेर ५ सय मिटरदुरीसम्म आफनो खेतको आली बनाउन सुस्ताबासीलाई दबाब दिँदै आएका थिए तर सशस्त्र प्रहरी, नेपाल प्रहरी र सुस्ताबासीको एकता र सहयोगले उनीहरु यस वर्ष जग्गा अतिक्रमणबाट विफल भएको उनले बताए । ‘नेपाली सुरक्षाकर्मी र सुस्ताबासी समयमै नलडेको भए फेरि पनि यस वर्ष वाकिङ बाउण्डरी (सडक) सहित सुस्ताबासीको ५ विगाहका क्षेत्रफल अतिक्रमण भइसक्थ्यो,’ अभियानका प्रवक्ता जयसवालले बताए ।भारतीय एसएसबी र जनताहरुले १२ वर्ष अगाडी यसरी सुस्तावासीहरुलाई धम्की र त्रास देखाएर काल्पनिक सीमावारी सुस्ता भूमीमै आएर २५ विगाहा क्षेत्रफल अतिक्रमण गरेका थिए ।नेपालको मौनताले यसरी वर्षेनी जग्गा अतिक्रमण हुँदै आएको अभियानका उपाध्यक्ष आदम खानले बताए । उनले भने, ‘दुई हप्ता अगाडी मात्रै दशगजामै भारतीयले एक सामुदायिक विद्यालयकोे संरचना बनाउन थालेपछि हामी सुस्ताबासी र सुरक्षाकर्मीले विरोध गरेपछि दशगजाबाट २० फिट पर सारेर उक्त विद्यालय बनाउन थालेका छन् ।’भारतीय एसएसबीको दादागिरी यतिसम्म बढेको छ कि उनीहरु हातहतियार सहित सुस्ताभुमीमा टेक्ने र नेपाली वाकिङ बाउण्डरी तथा विवादित जग्गामा गस्ती समेत गर्दै आएका छन्,’ उनले बताए ।आफनो जग्गा जोतभोग गर्न जाँदा उनीहरुले त्रसाउने धम्काउने गर्दै आएका छन् । सुस्तामा हाल २७२ घरधुरी भई ३ हजार १ सय ३३ जनसंख्या रहेको छ ।४० हजार ९८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता हाल १४ हजार ५०० हेक्टर जग्गा भारतीय पक्षद्वारा अतिक्रमण भइसकेको छ । बचेको २६ हजार ९८० हेक्टर जग्गा मध्ये भारतीय एसएसबीले कब्जाउन खोजेको १९ हजार ४८० हेक्टर जग्गलाई विवादित जग्गा भन्दै सुस्ताबासीलाई जोतभोगबाट रोक लगाएको छ । हाल ७ हजार ५ सय हेक्टर जग्गा मात्र सुस्ताबासीको कब्जामा छ जसमध्ये सुस्ताबासीसँग ५५६ विहागाको मात्र लालपुर्जा छ । भारतीयसँग लडदै भूमि जोगाउँदै आएका सुस्ताबासीहरु सरकारसंग नागरिकता र लालपुर्जाको माग गरेका छन् ।

हुसेन अन्सारी खबरपात्राेबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation