कोरोना विकृति : स्थानीय तहले बाँड्न थाले आरडीटी परीक्षणको प्रमाणपत्र

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरेको प्रमाणपत्र वितरण गरेको छ। विदेशबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको आरडीटी परीक्षण गरी नगरपालिकाले चार अधिकारीको हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको छ। कोरोनाका कारण मुलुक आर्थिकमन्दीतर्फ धकेलिरहेका बेला एकातिर स्थानीय तहले फजुल खर्च गरेको छ भने अर्कोतर्फ विश्व स्वास्थ्य संगठनले प्रयोग नगर्न भनेको आरडीटीबाट कोरोना नभएको प्रमाण पत्र बाँडेको छ। क्वारेन्टाइनमा बस्नेहरुको आरडीटी परीक्षण गर्ने र ल्याव टेक्निसियनदेखि प्रमुख प्रशासकीय अधिकृतसम्मले हस्ताक्षर गरेर प्रमाणपत्र वितरण गरेको भेटिएको छ। नगरपालिकाले शुक्रबार आरडीटी नेगेटिभ आएका १ सय ७१ जनालाई प्रमाणपत्र वितरण गरेको छ। 

खासगरी नगरपालिकाले क्वारेन्टाइनमा बसेकाहरुको विश्वसनीय विधिबाट परीक्षण गर्ने र उपचार गर्नेमा ध्यान दिनुपर्ने हो। तर, नगरपालिकाले भरपर्दो नमानिएको आरडीटी विधिबाट परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएको प्रमाणपत्र थमाउँदै घर पठाएको छ। कतिपय विज्ञहरुले आरडीटीबाट कोरोना नेगेटिभ भएको भन्दै घर पठाउनु ‘घर घरमा कोरोना पठाउनु’ भन्दै पनि टिप्पणी गरेका छन्।आरडीटीको विश्वसनीयतामाथि प्रश्न उठिरहेकै बेला नगरपालिकाले वितरण गरेको प्रमाणपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि धेरैले नगरपालिकाले फजुल खर्च गरेको भन्दै आलोचना गरेका छन्। सन्धिखर्क नगरपालिकाको क्वारेन्टाइनमा बसेका ६२४ मध्ये शुक्रबार १८० जनाको आरडीटी परीक्षण गरिएको थियो। ती मध्ये १७१ को रिपोर्ट नेगेटिभ आएपछि प्रमाणपत्र दिएर नगरपालिकाले घर पठाएको छ। ९ जनाको पोजेटिभ आएकाले पीसीआर परीक्षण गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation