तर त्यही समाज एउटा भर्खरै जन्मिएकी अबोध बालिकादेखि र अशक्त वृद्धा बलात्कृत हुँदा मौन रहन्छ । यो जघन्य अपराध हो, अपराधीलाई कार्वाही हुन पर्छ भन्नेसम्म आँट गर्दैन ।
कोभिड १९ का कारण देश लकडाउनमा छ । कोरोना संक्रमितको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको छ भने निको हुनेको संख्या पनि बढेको छ । तर कोरोना संक्रमित र उनीहरूको परिवारलाई त्रसाउने काममा समाज नै लागेको देखिन्छ । मानौं कोरोना लाग्ने व्यक्ति र उनका आफन्तहरू अपराधी हुन् जस्तो व्यववहार गरिन्छ । सधैं जनतालाई सूचना दिन अग्रस्थानमा खटिने सञ्चारकर्मीलाई पनि कोरोना लाग्यो, उनीहरूले मनोबल दह्रो बनाए र कोरोना जितेर काममा पनि फर्किएका छन् । म आफै पनि १२ दिनसम्म होम क्वारेन्टाइनमा बसें, एकान्त बासबाटै निरन्तर सूचना प्रवाह गरिरहें । पीसीआर नेगेटिभ आयो र काममा सहजता आयो ।
आज कोरोनाका नाममा ताजा तरकारी खाडलमा गाड्ने, दूध लिन अस्वीकार गर्ने, स्वाव संकलन गरेका तर नतिजा नआएकालाई समेत घृणाको व्यवहार गर्ने, भ्रमपूर्ण कुराहरू प्रवाह गर्ने काम जारी छ ।
कोरोना संक्रमितहरू अस्पतालमै पनि रमाउने, कोरोनाको सावधानी अपनाउने बारे सबैलाई सचेतना दिएका छन् । आफ्नो सम्पर्कमा आएकाहरूलाई पीसीआर गर्न सघाउ पुर्याएका छन् । तर समाजका सचेत मानिसहरू कोरोना नलागेकालाई पनि कोरोना लागेको छ भन्ने र अनावश्यक हल्ला फिजाउने कार्यमा लागेको देखिन्छ । कोरोना संक्रमितहरूका परिवार, आफन्तहरूलाई लक्षित गरि अनावश्यक हल्ला फिजाउने काम भएको छ । कोरोना लागेको व्यक्तिलाई सान्त्वना दिनुको सट्टा सम्पर्कमा रहेका अन्य परिवारलाई पनि फरक व्यवहार गरेको देखियो । कोरोना लागेर निको भएका व्यक्ति घर फर्किदासमेत समाज अझै त्रसित देखियो । कोरोना सामान्य रोग हो, यसको औषधि छैन । तर पनि प्रयाप्त आराम गर्दा, सकारात्मक कुरामात्रै सोच्दा र अनि पोषिलो खादा निको हुँदोरहेछ । सचेत हुँदै उच्च मनोवलका साथ कोरोनालाई सहजै जित्न सकिन्छ भन्ने प्रमाण हालै कपिलवस्तुका एक जनप्रतिनिधि र पत्रकार हुन्, जो कोरोना निको भएर घर फर्किसकेका छन् । कोरोना लाग्ने व्यक्ति र उसको परिवारमा कुनै अप्ठ्यारो महशुस हुदैन । टोल, छिमेकमा भने फलानोलाई कोरोना लागेको छ, उ र उसको परिवारबाट टाढा हुनु पर्छ, भनी अनावश्यक हल्ला भिजाइन्छ । तर त्यही समाज एउटा भर्खरै जन्मिएकी अबोध बालिकादेखि र अशक्त वृद्धा बलात्कृत हुँदा मौन रहन्छ । यो जघन्य अपराध हो, अपराधीलाई कार्वाही हुन पर्छ भन्नेसम्म आँट गर्दैन । सकेसम्म त आफ्नो नातागोता, छिमेकी, आफन्त वा राजनीतिक पार्टीको व्यक्ति भएको हैसियतले बलात्कारी, अपराधीलाई जोगाउन लागे पुगेसम्मको सबै शक्ति खर्च गर्छ । अपराध ढाकछोछ गर्न लाग्छ । र पीडितको आवाज दबाइन्छ ।
कोरोना हामीले नचाहँदा वा निर्दोष हुँदाहँदै पनि अरुका कारण हामीलाई सर्छ । जसमा हाम्रो कुनै दोष हुन्न । तर बलात्कारी, हत्यारा, भ्रष्टाचारीले जानेरै, बुझेरै, प्रपञ्च रचेरै यस्तो जघन्य अपराध गर्छ । अरुलाई नोक्सान पुर्याउँछ । अरुको ज्यान लिन्छ । के समाज नामको समाज र आफन्त नामका आफन्तले यस्ता अपराधीलाई कहिल्यै छीछी र दूरदूर गरेका छन् ? यदि त्यस्तो हुन्थ्यो भने यस्ता अपराध पनि सायद कम हुन्थे । निर्दोषमाथिको अन्याय कम हुन्थ्यो । तर कोरोना जस्तो रोग लागेका मानिस र उसको परिवार भने यतिबेला आफन्त, नातागोता र छिमेकीको अपमान सहन बाध्य छन् । जुनै अत्यन्तै निर्मम र अमानवीय काम हो ।