मलाई जेल पठाउने एउटा कारण एमसिसी हो, अरू पछि भनौंला: महरा

जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले आफूलाई नियोजित रूपमा फसाइएको बताएका छन्।

इमेज च्यानलको कार्यक्रम हट सिटमा पत्रकार जगदीश खरेलसँग कुरा गर्दै महराले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।

उनले आफूलाई फसाउनुको एउटा कारण अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसनअन्तर्गतको सहयोग संसदबाट पास नहुनु पनि भएको दाबी गरेका छन्।

यस्तो छ महराको अन्तर्वार्ता:

पत्रकार: स्वागत छ तपाईंलाई। अदालतबाट सफाइ पाउनुभयो, कस्तो अनुभव भइरहेको छ? के भन्नुहुन्छ तपाईं?

कृष्णबहादुर महरा: अब मैले चार महिना त अन्यायपूर्ण जीवन बिताएँ। तर अन्तत मैले सफाइ पाएको छु। मैले कुनै गल्ती गरेको छैन भन्ने प्रमाणित अदालतले गरिसकेको स्थितिमा आनन्द नै महशुस गरिरहेको छु मैले।

पत्रकार: सभामुखको पद गयो?

महरा: सभामुख त मैले राजीनामा दिएको छु। त्यतिखेरै प्रश्न उठ्यो मेरो विषयमा। प्रश्न उठिसकेपछि मैले मेरो खुसीले राजीनामा दिएको हो। त्यसकारण त्यो कसैको करकापले होइन कि वास्तवमा मेरो विषयमा प्रश्न त उठ्यो। प्रश्न त उठिसकेपछि म पदमा बस्न हुँदैन भन्ने कुरा म आफैंलाई लाग्यो। त्यसकारण मैले राजीनामा दिएको हो।

पत्रकार: अब तपाईंको सांसद पद के हुन्छ?

महरा: म सांसद छँदैछु। सफाइ पाइसकेपछि सांसद पद पुनर्वहाली हुन्छ।

पत्रकार: चार महिनाभन्दा बढी समय पुर्पक्षका लागि रहनुभयो होइन? कस्तो रह्यो?

महरा: चार महिना मैले वास्तवमा राज्यलाई अझ राम्रोसँग बुझें।

पत्रकार: के बुझ्नुभो?

महरा: जेल बुझें। जेलभित्र कैदीबन्दीहरूसँग मेरो सहकार्य भयो। अनि राज्यका अंगहरूमध्येमा प्रहरी प्रशासन बुझें। त्यसपछि न्यायलय बुझें। यसलाई सैद्धान्तिक रूपले त बुझेकै थिएँ। तर व्यवहारिक रूपले बुझ्ने अबसर पाएँ।

पत्रकार: नेकपाको तवरबाट त तपाईंलाई क-कसले भेट्नुभयो?

महरा: मैले नेकपा, नेपाली कांग्रेस अहिले क-कसले भनेर नाम भन्दिनँ। मलाई सबै पार्टीका आमजनसमुदायले, ठूला नेताहरूले भेट्नुभएन। तर कार्यकर्ताको एउटा समाचारपत्रले पनि लेख्यो। र न्युजपेपरले पनि लेख्यो। दश हजारभन्दा बढी कार्यकर्ताले भेटे। शुभेच्छुक, समर्थकहरूले भेटे, नाम लिष्ट राखेको छैन।

पत्रकार: तपाईंले अदालतबाट त सफाइ पाउनुभयो, तपाईं भनिराख्नु भएको छ मलाई फसाइयो भनेर। कसले फसायो? किन फसाइयो तपाईंलाई? तपाईंको दाबी के हो?

महरा: म एउटा कथा भन्छु तपाईंलाई। कागले कतै हड्डी भेट्यो बाजले कागलाई हान्यो। ठुँगीराख्यो जबसम्म उसले हड्डी छाडेन। हड्डी फालिसकेपछि बाजचाहिँ हड्डीतिर गयो, तर कागचाहिँ मुक्ति भयो। कागले हड्डी समात्नु नै उसले गल्ती गरेको जस्तो लाग्यो पछि कागले बुझ्यो। मैले कसैको हड्डी समातेको छैन। कसैले हड्डी समात्या देख्याजस्तो लाग्यो। त्यसकारणले त्यो विषय होला। को-कोले देखे त्यस्तो? म पछि भनौला।

पत्रकार: कसरी बित्यो जेलको जीवन? कुन रूपमा बिताउनुभयो?

महरा: मेरोभित्र मलाई जुन आरोप लगाइएको छ त्यो आरोप सत्य थिएन भन्ने कुरामा म आफैं ढुक्क थिएँ। मलाई जुन उद्देश्यले जेल राखिएको थियो त्यो अर्कै उद्देश्य थियो। त्यो कुराको विषयमा मैले भनें नि पछि विस्तारै भन्दै जाऔंला। मैले त्यो विषय गलत सावित एकदिन भएरै छाड्छ भन्ने कुरा मेरो मान्यताभित्रै दिलदेखि थियो। त्यसकारण मैलेचाहिँ जेल बसुञ्जेलसम्म अध्ययन गरें। केही किताबहरू पढें। १५/२० वटा किताबहरू पढें। राजनीतिक इतिहासहरू पढें। केही व्यक्तित्वका जीवनीहरू पढें। इतिहासहरू पढें।

पत्रकार: मेरो राजनीतिक करिअरचाहिँ अब समाप्त भयो भन्ने तपाईंलाई लागेन?

महरा: मलाई लागेन। मलाई त्यस्तो लागेकै थिएन। मलाई भित्रैदेखि लागेको थिएन।

पत्रकार: मेरो सामाजिक प्रतिष्ठा?

महरा: बिल्कुल लागेको थिएन। किनभने मैले कहिँ गल्ती गरेको छैन। जो अदालतबाट अब पुष्टि भइसक्यो।

पत्रकार: तपाईंले अदालतबाट कानुनी रूपमा त सफाइ पाउनुभयो। तर सामाजिक रूपमा चार पाँच/महिना जुन चर्चा झेल्नुभयो नि, अब यो दागचाहिँ कसरी मेटिएला?

महरा: मलाई थाहा छ नि तपाईंको प्रश्न सत्य सावित हुँदैन। म हिजो अदालतबाट बाहिर निस्कँदा निकै ठूलो भीडको बीचबाट बाहिर निस्कनुपर्‍यो, ठूलो समर्थक साथीहरूको जमघट थियो। मैले डिल्लीबजार कारागारबाट आउँदाखेरि, बाहिर निस्कँदाखेरि निकै मुश्किल भयो मलाई। त्यहाँ प्रहरीको मद्दतबाट बाहिर निस्कनुपर्‍यो। ठूलो समर्थकको संख्या बाहिर थियो। झण्डै लाठीचार्ज भयो कि भन्ने पनि मैले सुनें। यसले के देखाउँछ भन्दा मप्रति न सामाजिक आघात छ न राजनीतिक। म आफ्नो स्थितिमा दृढ छु। र त्यसलाई रिभाइभ गर्नका निमित्त कुनै अप्ठेरा महशुस गरेकै छैन। वास्तवमा भन्नुहुन्छ भने हिजोदेखि अहिलेसम्म मलाई भेट्नेको संख्या यो देख्नुहुन्छ भने (नजिकै रहेको खादामालाको चाङ देखाउँदै) यो नेगेटिभ।

पत्रकार: सर्सर्ती हेर्दा विजय उत्सवजस्तो देखियो। डिल्लीबजारदेखि यहाँसम्म र अहिले पनि भेट्न आउने मानिसको लाइन छ।

महरा: यसले के जनाउँछ भने मचाहिँ सामाजिक, राजनीतिक रूपमा म पूरानै ठाउँमा छु।

पत्रकार: तर खुमबहादुर खड्कालाई भ्रष्टाचारको मुद्दा लाग्दा र आरोपी हुँदा र छुट्दा पनि त्यो लर्को त थियो फेरि।

महरा: अरूको विषयमा म टिप्पणी गर्न चाहन्नँ।

पत्रकार: तपाईंको अधिवक्ताले हिजो हामीसँग कुरा गर्दा के भन्नुभएको थियो भने ठूलो ग्रान्ड डिजाइनभयो महरा सरमाथि। त्यही नै हो?

महरा: त्यो कुरा मैले विस्तारै भनौंला भनेको छु।

पत्रकार: तपाईंले सुरूमा पनि भन्नुभयो। तपाईंमाथि षड्यन्त्र भयो भन्ने नै तपाईंलाई लागेको छ।

महरा: मैले यति मात्रै भन्छु, सुनियोजित छ न त छ यसको पछाडि आन्तरिक बाह्य सबै छ। यसको विस्तारै समय क्रममा खुल्दै जान्छ। अहिले खुल्दैन। त्यसको वस्तुगत आवश्यकता महशुस हुन्छ। म एकदम ढुक्क छु, मैले कुनै गल्ती गरेको छैन। कुनै अपराध गरेको छैन। त्यसकारणले कसैले त्यो कोशिस गर्छ भने त्यो फेल हुन्छ।

पत्रकार: तपाईं एमसिसी पारित गर्न चाहनु हुन्थेन। त्यसकारण त्यो विषय तपाईंलाई कारागारसम्म पुर्‍याउने अवस्था बन्यो भन्ने कुरा बाहिर टिप्पणी गरिन्छ नि!

महरा: एमसिसी टेबुल गर्नको निमित्त अनुमति नदिएको मैले हो। त्यो साँचो कुरा हो। तर एमसिसी मैले नै उठान गरेको हो। एमसिसीको विषयमा सबैभन्दा बढी जानकार पनि म नै छु। कसैकसैले म अलि बढी जान्छु।

पत्रकार: एमसिसी अनुमोदन गर्न चाहनेले तपाईंलाई फसाए भन्ने हो?

महरा: त्यो कुरा उहाँहरूले बुझ्नुहोला। तर एमसिसीको विषयमा एक ढंगले हल गर्नुपर्छ भन्ने मैले सोचिराखेको थिएँ। विवाद समाधान। म सहमतिको मान्छे हो। सहकार्य खोज्ने मान्छे हो। सहकार्य खोज्न सक्थेँ। त्यो सबै कुरा सम्बन्धितहरूलाई थाहा छ। यसको डिटेल विषय तपाईंले जे भन्नुभयो मैले हिजो एउटा वक्तव्यमा भनेको छु। म राष्ट्रिय स्वाधिनताको लडाइँमा नचुकिकन लड्न चाहन्छु, त्यो विषयमा डिटेलमा पछि भनौंला।

पत्रकार: तर त्यो एउटा कारणचाहिँ हो?

महरा: कारण त धेरै होलान्। त्यो पनि एउटा कारण हो।

पत्रकार:  एमसिसी अनुमोदन गर्न चाहनेले तपाईंलाई फसाए भन्ने तपाईंको दाबी?

महरा: कसले फसायो भन्ने कुरा म पछि भन्छु।

पत्रकार: कसले फसाए भन्ने कुरा त पछि भन्नुहुने भो, तर एमसिसीको सन्दर्भमा अहिले पनि कृष्णबहादुर महरा त्यो अनुमोदन हुन हुँदैन संसदबाट भन्ने नै हो?

महरा: मैले अनुमोदन हुन हुँदैन भनेको छैन। मैले टेबुल गर्न अनुमति नदिएको हो। त्यो चाहिँ साँचो कुरा हो।

पत्रकार: त्यही नै कारण बन्यो त?

महरा: त्यो त हो, त्यो त प्रधानमन्त्रीले पनि भन्नुभएको छ। त्यसकारण यी सबै कुरालाई अहिले चाहिँ डिटेलमा नजाऔं। किनभने अनुमोदन गर्नलाई सभामुखले अनुमति दिनुपर्छ। टेबुल गर्नका लागि। केही समय वेट गर्नुपर्छ भन्ने मेरो मान्यता थियो। तर अनुमोदन नै गर्न हुन्न भन्ने होइन।

पत्रकार: तर सर्सर्ती हेर्दा प्रधानमन्त्री केपी ओलीले हिजोसम्म पनि बोलिराख्नुभएको छ कि कुनै पनि हालतमा संसदबाट एमसिसी अनुमोदन हुन्छ।

महरा: त्यो एमसिसी हुन्छ वा हुँदैन भन्ने कुरा संसदको कुरा हो, तपाईं हाम्रो कुरा होइन। अहिलेको विषय होइन यो। संसदभित्रकै कुरा हो।

पत्रकार: रोशनी शाहीजीको सन्दर्भमा जे कुरा जोडिएको छ यो इस्युमा तपाईं बोल्न चाहनुहुन्छ/चाहनुहुन्न?

महरा: अहिले होइन पछि नै भन्छु यसको विषयमा।

पत्रकार: यो इस्युमा तपाईं प्रवेश नै गर्न चाहनुहुन्न।

महरा: प्रवेश गर्न चाहन्नँ।

पत्रकार: म दोदोर्‍याएर पनि प्रश्न सोध्न चाहन्न यो विषय।

महरा: धन्यवाद छ।

पत्रकार: अबको राजनीतिक जीवन कसरी अगाडि बढ्ला? धेरैले यो प्रश्न तपाईंले अबको दिनमा तपाईंले दिनुपर्नेछ। राजनीतिक, सामाजिक, व्यक्तिगत जीवन कसरी अगाडि बढ्ला?

महरा: स्वाधिनता र स्वतन्त्रताको इतिहास बोकेको गौरवपूर्ण देश हो। यो हिजो पनि थियो आज पनि छ र भोलि पनि रहन्छ। राजनीतिक वा सामाजिक कुन रूपमा योगदान हुने हो सक्रियतापूर्वक योगदान हुनेछ। मेरो भूमिका त्यहाँ निश्चित हुन्छ।

पत्रकार: अब बस्ने संसद बैठकमा जानुहुन्छ तपाईं?

महरा: निश्चित रूपमा। नजाने भन्ने प्रश्न नै छैन। म सांसद नै हुँ।

पत्रकार: अन्तिममा जाँदाजाँदै १२ गते (असोज १२) को घटना जसरी भयो, त्यो घटना सार्वजनिक भएसँगै तपाईं र रोशनी शाहीबीच जोडिएको सम्बन्धको सन्दर्भमा चाहिँ जे कुरा बाहिर आयो नि, त्यो कुराको सन्दर्भमा विस्तृत परेन कि, त्यो कुरा सही हो या गलत हो?

महरा: त्यो त अदालतले भनिसक्यो। मैले भन्दैन। अदालतले जे भन्यो त्यही नै सही हो अहिले। हिजो अदालतले जे सुनाएको छ, त्यो भए त काफी भइहाल्यो।

पत्रकार: अदालतले दिएको सफाइमा जे हो त्यही न हो?

महरा: त्यही हो।

पत्रकार: तर रोशनी शाही र तपाईंबीचको एउटा सम्बन्धचाहिँ हो?

महरा: त्यो म तपाईंलाई पछि भनौंला। के हो वास्तविकता त्यो सबैकुरा पछि नै भनौंला भनेको छु।

पत्रकार: यहाँभन्दा बढी नसोधौं?

महरा: अँ, यति सोध्नुभयो भने धन्यवाद दिन चाहन्छु तपाईंलाई।

पत्रकार: कानुनी रूपमा अदालतले तपाईंलाई सफाइ दिएको छ। यस हिसावले तपाईं निर्दोष प्रमाणित हुनुभएको छ। अब सामाजिक रूपमा पनि र राजनीतिक रूपमा पनि यसको थप पुष्टि र प्रमाणित चाहिँ आगामी दिनमा तपाईं आफैँले पनि गर्दै जानु पर्नेछ भन्ने लागेको छ। समय दिनुभयो धन्यबाद छ।

महरा: धन्यवाद।

(महराको विस्तृत अन्तर्वार्ता बिहीबार राति ८ बजे इमेज च्यानलमा प्रसारण हुनेछ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation