जोखिम बिच पनि सर्पदंशका बिरामीको उपचार

कपिलवस्तु –संक्रमणको जोखिम व्यवस्थापन गर्न नसकिने भन्दै कतिपय सरकारी र निजी स्वास्थ्य सेवा प्रदायक संस्थाले नागरिकलाई उपचार सेवा दिन छाडेका छन । तर कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर २ गोरुसिंगे स्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रले सर्पदंशका बिरामीलाई संक्रमणको जोखिम बिच नियमित उपचार सेवा दिदै आएको छ । कोरोना संक्रमणका बेला समेत उपचार केन्द्रले जोखिमका बिच २४ घण्टे सेवा दिएर आफुहरुलाई नयाँ जिवन दिएको उपचारका लागी आएका सर्प दंशका बिरामीहरु बताउछन । यो संक्रमणका बेला अन्य स्थानका उपचार केन्द्र खुल्ने नखुल्ने अन्योलको अवस्था रहेकाले बुटवल नगई उपचारका लागी कपिलवस्तुको सर्पदंश उपचार केन्द्र आएको जिल्लाको बाणगंगा नगरपालिका ८ मधुवनका सर्पदंशका बिरामी नारायण अधिकारीले बताए । “अरु ठाँउमा कोरोना संकटका बेला सेवा दिन्छन दिन्नन थाहा थिएन । यहाँ २४ घण्टानै पक्कै उपचार हुन्छ भनेर गत राती सर्पले टोके पछि यहाँ आएको हुँ ।” अधिकारीले भने । संकटका बेलामा समेत केन्द्रका कर्मचारीले स्तरीय सेवा दिएको भन्दै उनले धन्यबाद दिए । उनी जस्तै अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर १३ का मोहन बिसीले आफुलाई हरियो सर्पले टोके पछि चार दिन केन्द्रमा पुगे पछिनै सहि उपचार पाएको बताए ।
उपचार केन्द्रले गत बर्ष ६ सय ६५ जनाको उपचार गरेको थियो । यस बर्ष कोरोना संक्रमणको लकडाउनका बिच असार महिनाको हाल सम्मको अबधीमा १ सय ८३ जनाले उपचार पाएका छन । त्यसै गरि समयमै केन्द्रमा नपुर्याएका कारण यो बर्ष सर्पदंशका तिन बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमणका बिचमा पनि सर्पदंशका बिरामीलाई बचाउनकै लागी आफुहरुले नियमित सेवा प्रवाह गरेको कपिलवस्तु सर्पदंश उपचार केन्द्र, गोरुसिङ्गेका व्यवस्थापक नविन भण्डारी बताउछन । कोरोना माहामारी सँगै सर्पदंशको घटना बढने सिजन भएका कारण आफुहरुले जोखिम मोलेरै उपचार सेवा दिदै आएको भण्डारीले स्पष्ट पारे । “कोरोना संक्रमणबाट बच्ने प्रयास गर्दै सेवा दिएका छौ । हामीलाई पनि जोखिम नै छ, तर बिरामी उपचार नगर्ने हो भने कतिपयको अकालमै ज्यान जान सक्न । त्यसैले जोखिम बिच सेवालाई निरन्तरता दिएका छौं ।” उनले भने । उपचार मात्रै नभई सर्पदंशबाट बच्नका लागी अपनाउनु पर्ने सावधानीका उपाय बारेको सचेतनाको कार्यलाई समेत निरन्तरता दिईएको केन्द्रका व्यवस्थापक भण्डारीले जनाए ।बुद्धभुमी नगरपालिकाले उपचार केन्द्रको सेवा प्रवाहलाई सहज बनाउन कर्मचारी व्यवस्थापन, पुर्वाधार निर्माण र एम्बुलेन्स सञ्चालन गरि सहयोग पुर्याउदै आएको छ । कोरोना संक्रमणको जोखिमका बिचमा पनि सर्पदंश उपचार केन्द्रका कर्मचारीले २४ घण्टानै खटिएर सेवा प्रवाह गर्दै आएको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव श्रेष्ठ बताउछन । प्रदेश ५ मै सर्पदंशका बिरामीलाई उत्कृष्ट सेवा प्रवाह गर्दै आएको केन्द्रको व्यवस्थापन चुस्त बनाउन जिल्लाका सबै पालिकाका प्रमुख सदस्य रहने तथा संघिय र प्रदेश सभा सदस्य सल्लाहकार रहने गरि समतिी निर्काण गरेर अगाडी बढिएको प्रमुख श्रेष्ठले जानकारी दिए । “यो कोरोना संक्रमणको जोखिमका बिच पनि उपचार केन्द्रमा निरन्तर सेवा प्रवाह गर्ने बातावरण बनाउन पहल गरेका छौ । सेवाको निरन्तरताका लागी आवश्यक सहयोग, सहकार्य र समन्वय गर्न तत्पर छौ ।” उनले भने ।
उपचार केन्द्रमा कपिलवस्तु, रुपन्देही, अर्घाखाची, प्युठान, दाङ्ग र रोल्पा जिल्लाका सर्पदंशका बिरामी उपचारका लागी आउने गरेका छन । बुद्धभुमी नगरपालिकाको व्यवस्थापनमा नेपाली सेनाको नारायण दल गणको स्वास्थ्यकर्मीको प्राबिधीक सहयोगमा १७ बर्ष अघि देखी निरन्तर सेवा दिदै आएको छ । केन्द्रमा नेपाली सेनाका दुई जना प्राबिधिकको जनशक्ति २४ घण्टा सेवा दिन खटिने गरेका छन । उपचार केन्द्रको पुर्व पश्चिम राजमार्ग स्थित गोरुसिंगे बजारको मुख्य सडकमा १० शैया क्षमताको आफनै भवन छ । बिस २०६० मा शसस्त्र द्वन्दकालिन अवस्थामा नेपाली सेनाको व्यारेक भित्र आम जनताको आवतजावतले सुरक्षा संबेदनशिलतामा प्रभाव परि सर्पदंशका घटनालाई उपचार गर्न समस्या पर्दा सो केन्द्र स्थापना गरिएको हो । तत्कालिन नेपाली सेनाको चन्दनाथ गुल्मका गुल्मपति सेनानी राम राणा र साबिक जयनगर गाबिस सहितका जिल्लाका सुरक्षा सयन्त्र, स्वास्थ्य सेवा प्रदायकको पहलमा तत्कालिन व्यारेकको दक्षिण तर्फ पुर्व पश्चिम सडक मार्गको प्रतिक्षालयमा उपचार केन्द्रको स्थापना गरिएको थियो । सञ्चालनमा आएको डेढ दशक बढिको अबधीमा केन्द्रमा करिब १० हजार सर्पदंशका बिरामीले उपचार सेवा पाईसकेको तथ्याङ्क छ । तराई र पाहाडका २६ जिल्लामा बार्षिक २० हजार सर्पदंशका घटना हुने गरेका छन । जसमा समयमै उपचारका लागी नपुर्याउदा र झारफुक लगायतका अन्ध बिश्वासमा लाग्दा १ हजार बढिको मृत्यु हुने गरेको देखिएको छ ।

समाचार सगै तस्बिर पनि पठाएको छु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation