प्रधानमन्त्रीले भने–मिलापत्रको नाममा बलात्कार छोपाछाप पार्ने काम सह्य हुँदैन

काठमाडौं । कोरोना संक्रमण जोखिमका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओली ६५ औँ प्रहरी दिवस समारोहमा सहभागी भए । ‘प्रहरी दिवस’लाई सम्बोधन गर्दै प्रधामन्त्रीले मिलापत्रको नाममा बलात्कार छोपछाप पार्ने काम सह्य नहुने बताएका छन् । सामाजिक दवाव र भनसुन आएपनि त्यसबाट टाढा रहेर बलात्कारका घटनामा निर्मम बन्न ओलीले प्रहरी नेतृत्वलाई निर्देशन दिएका छन् । ‘प्रभावको प्रयोग हुन्छ, तर त्यसबाट टाढा रहेर काननु कार्यान्वयनमा हामी केन्द्रित हुनुपर्छ,’ उनले भनेका छन्, ‘अस्थायी लिपापोतीबाट वास्तविक न्याय स्थापना हुन सक्दैन, हामी स्थायी प्रकृतिको कानुनी राजको सिद्धान्तको बाटोमा अगााडि बढ्नुपर्छ ।’ पछिल्लो सयम स्थानीय पञ्च बसेर बलात्कारका घटनामा मिलापत्र गराएको समाचार सार्वजनिक भइरहेका छन् । बलात्कारीलाई कडा कानुनको माग गर्दै प्रदर्शन भइरहेको छ । 
कतिपय सामाजिक अभियन्ता र राजनितीकर्मीहरुले बलात्कार आरोपीलाई ‘मृत्युदण्ड’को आवाज उठाइरहेको बेला प्रधानमन्त्रीले बलात्कार नियन्त्रण गर्न भविष्यमा अझ कडा कानुन ल्याउनेबारे सचिरहेको बताए । उनले भने, ‘एसिड आक्रमण विरुद्ध कडा कानुन ल्यायौं, बलात्कार मानवोचित छैन, त्यसलाई नियन्त्रण गर्न अझै कडा कानुन बनाउने बारे सोचिरहेका छौँ ।’ 
विप्लवको क्रान्ति ‘तथाकथित’
प्रधानमन्त्रीले विप्लव समूहले हिंसा र अतिवादको बाटो लिएको भन्दै सो समूहले उठाएको क्रान्तिको नारालाई ‘तथाकथित’ भनेका छन् । 
‘जनताको हातमा सत्ता आइसकेको परिवेशमा ‘हिंसा, अतिवाद, तथाकथित क्रान्ति र ब्यवस्था उल्टाउने कुरा गैरजिम्मेवार हुन्,’ प्रधानमन्त्रीले भने, ‘जनभावना विपरितका कुराहरुले देशलाई सही बाटोमा अघि बढाउन किन्चित मद्यत गर्दैन ।’ 
मुलुकको आन्तरिक राजनीतिमा अतिवादी सोच र क्रियाकलाप संगठित हुँदै गरेको र त्यसबारे आफूले ध्यान दिइरहेको उनको भनाइ छ ।
विप्लव समूह विरुद्ध प्रहरीले संचालन गरेका अप्रेसनलाई ‘निर्भिक र कष्टपूर्ण’ भन्दै प्रधानमन्त्रीले प्रशंसा गरेका छन् । उलने भने, ‘अतिवाद विरुद्ध निर्भिकतापूर्वक खट्न आग्रह गर्न चाहन्छु ।’ 
मुलुकको समून्नतीका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनुपर्नेमा जोड दिँदै उनले प्रहरीको भूमिकाले मात्र कानुनी शासन र सुशासनको अनुभूति गर्न सकिने बताए । 
‘आलोचना र टिप्पणी गर्नेहरुले पनि प्रहरीमाथिको विश्वासको सिरानी हालेर नै निदाउने हुन्,’ उनले भने, ‘अपराधले भौगोलिक सीमाको पर्खाल नाघेको छ, विद्युतीय अपराधले आकार ग्रहण गर्दै गरेको परिवेशमा प्रहरीका लागि आगामी दिनहरु अझै चुनौतिपूर्ण छन् ।’ 
प्रहरी गरिब छैन, लोभमा नपरौं
संघीय प्रणालीअनुसार प्रहरी संगठन रुपान्तरणको चरणमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, ‘संगठनको रुपान्तरण मात्रै नभएर सेवा, सक्षमता र प्रतिवद्धताको पनि रुपान्तरणको समय हो ।’ 
प्रहरीमा जागिर खानेहरु ‘गरिबीको रेखा’बाट माथि उठेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘जागिर पाएका मान्छे हौं, हाम्रो जस्तो गरिव देशमा तनखा पाउनु आफैं पनि गरिबिको रेखामुनीको वर्ग हैन, त्यसकारण लोभलालच नगर्नुस् ।’ व्यक्तिगत लाभ र स्वार्थबाट माथि उठ्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै प्रधानमन्त्रीले न्यायप्रतिको निष्ठामा उभिन र अडिन सक्नुपर्ने बताए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation