दिल्लीसँग सन्दीपको सम्झौता सकियो, अब के हुन्छ ?

काठमाडौं । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछानेको इण्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्ससँगको तीन वर्षे सम्झौता सकिएको छ ।युएईमा मंगलबार सम्पन्न १३ औं संस्करणको आईपीएलसँगै सन्दीपको दिल्लीसँगको तीन वर्षे सम्झौता सकिएको हो ।
सन् २०१८ मा अक्सनबाट न्युनतम मूल्य २० लाख भारुमा सन्दीपलाई दिल्ली खरिद गरेको थियो । त्यसपछि दिल्लीले थप दुई वर्षको लागि सन्दीपलाई रिटेन गरेको थियो ।सन्दीपले डेब्यु सिजन दिल्लीका लागि ३ खेलमा ५ विकेट लिएका थिए । यस्तै सन्दीपले दोस्रो वर्ष ६ खेल खेल्दै ९ विकेट लिन सफल भएका थिए ।तर, सन्दीपले १३ औं संस्करणमा भने मैदान उत्रन पाएनन् । दिल्ली फाइनल पुगे पनि सन्दीप बेन्चमै सिमित भए ।
आईपीएल इतिहासमै पहिलो पटक फाइनल पुगेको दिल्ली उपाधि भिडन्तमा मुम्बई इन्डियन्ससँग ५ विकेटले पराजित भएपछि सन्दीपको आईपीएल उपाधि जित्ने सपना समेत अधुरो बन्यो ।दिल्लीसँगको सम्झौता सकिएसँगै अब सन्दीपको आईपीएल यात्रा के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।तीन वर्षे सम्झौता सकिएपछि अब सन्दीपले दिल्लीबाट खेल्ने वा नखेल्ने निर्णय आईपीएल आयोजक कमिटि र भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईको हातमा रहेको व्यवस्थापक रमन शिवाकोटी बताउँछन् ।
‘सुरुवाती ३ वर्षको सम्झौता सकियो । तर, आउने आईपीएलमा दिल्लीबाट खेल्ने वा नखेल्ने भने आईपीएलको बोर्डको हातमा हुनेछ,’ शिवाकोटीले भने, ‘हरेक ३ वर्षमा मेगा अक्सन हुने गर्छ । आउने वर्ष अक्सन हुनु पर्ने हो तर कोरोनाको कारण मेगा अक्सन नहुन पनि सक्छ । मेगा अक्सन भए स्वत सन्दीप अक्सनमा जानेछन् । मेगा अक्सन भएन भने दिल्लीबाटै खेल्ने हो ।’शिवाकोटीले अब सन्दीप र दिल्लीबीचको सम्झौता आईपीएलको हातमा रहेको समेत बताए ।’आईपीएलले खेलाडीको सम्झौता ४ वर्ष गर्ने भन्यो भने सन्दीप दिल्लीबाट खेल्छन् । हैन मेगा अक्सन गर्ने भन्यो भने सबै खेलाडी अक्सनमा जान्छन्,’ शिवाकोटीले थपे, ‘सम्झौता सकिएको बेला दिल्लीले रिटेन गर्छु भने सन्दीपले अर्को टिम जान्छु भन्न पनि पाउने छन् । त्यसको लागि अहिले सबै कुरा आईपीएलको हातमा छ । निर्णय आएको छैन सायद आउने हप्तामा उनीहरुले निर्णय लिन्छन् होला ।’
सन् २०१८ मा पहिलो पटक आईपीएलमा छनोट भएपछि सन्दीपले विश्वका सबै ठुला फ्रेन्चाइज क्रिकेटमा सहभागिता जनाइसकेका छन् । आईपीएल सन्दीपको लागि विश्व क्रिकेटमा आगमनको ढोका बनेको थियो । आईपीएलमा छनोट हुने र खेल्ने सन्दीप पहिलो र एक्लो नेपाली खेलाडी हुन् ।सन्दीपले आईपीएलपछि अष्ट्रेलियाको बिग बास, वेष्ट इण्डिजको सीपीएल, बंगलादेशको बीपीएल, अफगानिस्तानको एपीएल, टी-टेन, क्यानाडाको ग्लोबल टी-ट्वान्टी र पाकिस्तानको पीएसएल क्रिकेट खेलिसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation