सैनामैना वडा लिग सुरु, उद्घाटन खेलमा वडा नम्बर ३ को विजयी सुरुवात

सैनामैना, १५ माघ । मुर्गिया फुटबल क्लबको आयोजनामा विहिवारदेखि सैनामैनाको मुर्गियामा वडास्तरीय फुटबल लिग प्रतियोगिता सुरु भएको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सुरु भएको लिगको उद्घाटन खेलमा वडा नम्बर ३ ले शानदार जित हात पारेको छ। प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलमा वडा नम्बर ३ ले वडा नम्बर ६ लाई ४–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

मुर्गिया फुटवल क्लवको आयोजनामा सुरु भएको प्रतियोगिताको विहिवार सैनामैनाको मुर्गियामा लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उदघाटन गर्नुभयो ।
त्यस अवसरमा बोल्दै मन्त्री पाण्डेले नेपालको विकास दुईवटा माध्यमबाट गर्न सकिने भन्दै त्यसमा खेल र पर्यटन क्षेत्र महत्वपूर्ण माध्यम रहेको उल्लेख गर्नुभयो । उहाँले नेपाललाई खेल र पर्यटन क्षेत्रको विकासबाट सम्मृद्धितर्फ लैजान सक्छांै भन्दै राज्यका तीनै तहले खेल क्षेत्रको विकासमा समन्वय गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले राज्यको मुख नताकी खेलाडी आफैले नै खेल क्षेत्रको विकासका लागि योगदान दिने गरेको भन्दै त्यसले नेपालको पहिचान विश्वभर स्थापित गर्न सकेको भन्दै खेलाडीहरुको प्रशंसा गर्नुभयो ।

त्यसैगरी खेल उदघाटन कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मुर्गियामा रहेको यो फुटवल रंगशालालाई अझै व्यवस्थित बनाउनु पर्ने भन्दै सैनामैनाकै क्रिकेट रंगशालालाई पनि व्यवस्थित बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले सैनामैनाको खेलकुद विकासमा सहयोग गर्ने आश्वासन दिएकोमा धन्यबाद दिनुभयो ।

प्रतियोगिता आयोजक मुर्गिया फुटबल क्लबका अध्यक्ष प्रविन भारीले प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र दोस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्ने बताउनु भयो । उहाँले उत्कृष्ट खेलाडीलाई नगद ३ हजार, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई तीन हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो ।
प्रतियोगितामा सैनामैनाका ११ वडाबाट ११ वटा टिम सहभागी रहेका छन् । सहभागी टिमहरूलाई तीन समूहमा विभाजन गरी लिग प्रणालीमा प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिता माघ २८ गतेसम्म सञ्चालन हुनेछ । १४ दिनसम्म चल्ने प्रतियोगितामा कुल १९ खेल हुने जानकारी क्लबका सचिव रामकृपाल यादवले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation