सरकारले कोरोनाको जोखिमका कारण बन्द भएका विद्यालय खोल्ने जिम्मा पालिकालाई दिएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड-१९ को जोखिम नभएका र कम हुँदै जाने पालिकाका विद्यालयमा आलोपालो सिफ्ट वा अरु उपयुक्त विधि अपनाइ पठनपाठन सञ्चालनको बाटो खुलाएको हो ।मन्त्रालयले ‘विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७’ जारी गर्दै अवस्था मूल्याङ्कन गरेर स्थानीय सरकारले नै निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको कार्यढाँचाअनुसार बन्द विद्यालय सञ्चालन गर्ने वा तत्काल बन्द नै राख्ने विषयमा अब स्थानीय निकाय आफैँले निर्णय गर्न सक्नेछन् ।कार्यढाँचामा सङ्क्रमणको अवस्थालाई स्थानीय र विद्यालय तहमा समीक्षा गरेर भयरहित तथा सुरक्षित तरिकाले सञ्चालनमा ल्याएर बालबालिकाको शिक्षण सिकाइ, परीक्षा तथा मूल्यांकनसम्बन्धी प्रक्रियालाई सहज बनाउन सकिने उल्लेख छ । त्यस्तै, सहज वातावरण भए विद्यालयमा शैक्षिक गतिविधि निरन्तर गराउने, जोखिमको अवस्था देखिए बन्द गर्ने तथा सहज हुँदा पुनः सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । संघीय, प्रदेश र स्थानीय सरकारले जारी गरेका जनस्वास्थ्य एवं सुरक्षासम्बन्धी मापदण्ड तथा निर्देशनको परिधिभित्र रही विद्यालय बन्द वा पुनः सञ्चालन गर्ने सम्बन्धमा स्थानीय सरकारले जनप्रतिनिधिलगायत सरोकार पक्षसँग छलफल गर्नुपर्नेछ । यस्तै विद्यार्थी, शिक्षक वा कर्मचारी सङ्क्रमित भएमा के गर्ने भन्ने वैकल्पिक व्यवस्थाबारे समेत विचार गर्नुपर्नेछ ।पालिकामा भएको समीक्षाको आधारमा आलोपालो वा अन्य उपयुक्त मोडालिटीबारे विद्यालयले प्रस्ताव गर्नुपर्नेछ । पालिकाभित्र सङ्क्रमणको जोखिम नभएको वा सबैभन्दा न्यून रहेको क्षेत्रका विद्यालयबाट पठनपाठन सुरु गर्न सकिनेछ ।विद्यालय सञ्चालनको सूचना प्रकाशन वा प्रसारण गर्दा विद्यार्थीले आउँदा-जाँदा र विद्यालयमा रहँदा पालना गर्नुपर्ने स्वास्थ्यसम्बन्धी मापदण्डको जानकारी दिनुपर्नेछ । विद्यालयमा रहेका क्वरेण्टीन वा आइसोलेशन सेन्टर हटाउँदै विद्यालय भवनको निर्मलीकरण पनि गर्नुपर्नेछ । व्यवस्थापन समितिले विद्यालय सञ्चालन गर्ने निर्णयसँगै जनस्वास्थ्य र सुरक्षाका मापदण्डको जानकारी गराउँदै बालबालिकालाई पठनपाठनका लागि मानसिक रूपमा तयार गर्नुपर्ने कार्यढाँचामा उल्लेख छ ।यस्तै पालिका र विद्यालयले बालबालिकाको सुरक्षाका लागि फर्निचर, शौचालय, पर्याप्त प्रकाश र हावा आवतजावत गर्न सक्ने कक्षाकोठालगायत न्यूनतम पूर्वाधार, स्वास्थ्य तथा सरसफाइका लागि साबुन, पानी, स्यानिटाइजर र तापक्रम नाप्ने व्यवस्था गर्नुपर्नेछ । त्यस्तै, मास्कको प्रयोग, विद्यार्थीबीच भौतिक दूरी, खाजालगायत व्यवस्थापन पनि गर्नुपर्नेछ ।संक्रमणको जोखिम बढ्दै गएपछि ५ चैत ०७६ मा कोभिड- १९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशभरका सबै प्रकारका शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको थियो ।