संवैधानिक प्रश्नमा प्रधानमन्त्रीको राजनीति आफ्नै पार्टीबाट असहयोग भएपछि संसद् विघटन गरे

जननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँप्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएका छन् । संसद्बाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार भएसम्म प्रधानमन्त्रीलाई संसद् नै विघटन गर्ने अधिकार छ कि छैन भन्ने संवैधानिक प्रश्नको जवाफमा प्रधानमन्त्रीले दलका बैठकमा बोल्ने भाषण नै पठाएका छन् ।नयाँ सरकार बनाउन संविधानको धारा ७६ को उपधारा १ देखि ६ सम्मका अभ्यास नगरी प्रधानमन्त्रीले सिधै उपधारा ७ प्रयोग गरेर संसद् नै विघटन गर्न मिल्छ कि मिल्दैन भन्ने अहिलेको बहस हो । तर, यो संवैधानिक प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले राजनीतिक जवाफ पठाए पनि त्यसको कुनै अर्थ नहुने संविधानविद्हरूको भनाइ छ ।

प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएकाले पुनस्र्थापना हुनुपर्ने मागसहित परेका रिटउपर सर्वोच्चले विपक्षी बनाइएका प्रधानमन्त्री ओली, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई १० पुसमा कारण देखाऊ आदेश दिएको थियो । तीनवटै निकायले आइतबार लिखित जवाफ दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत पठाएको जवाफमा पार्टीभित्रैबाट असहयोग हुन थालेपछि प्रतिनिधिसभा विघटन गरेको उल्लेख गरेका छन् । ‘सरकार सञ्चालनको पहिलो वर्ष हुन नपाउँदै सरकारलाई असहयोगको अवस्था आफ्नै पार्टीभित्र प्रकट हुन थाल्यो,’ प्रधानमन्त्रीले आफ्नो जवाफमा भनेका छन् । सरकारका काममा केही नेताद्वारा गरिएको विरोध, हस्तक्षेप र अवरोधका कारण सरकारको बाँकी अवधि खेर जाने देखिएपछि आफूले प्रतिनिधिसभा विघटनको निर्णय गरेको उनको भनाइ छ । 

प्रतिनिधिसभा विघटन राजनीतिक बाध्यता भएको प्रधानमन्त्री ओलीको जिकिर छ । ‘कुनै पनि प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने रहर हुँदैन । प्रधानमन्त्री संसद्को पनि नेता हो । विघटनको अधिकार कहिल्यै पनि रहरले प्रयोग गरिँदैन, आवश्यकताले गरिन्छ । यो राजनीतिक बाध्यता र अनिवार्यताको उपजको रूपमा रहेको हुन्छ,’ उनको तर्क छ । 

प्रधानमन्त्री ओलीले सरकारलाई निष्प्रभावी तुल्याउने प्रयासलाई चिर्न पुनः निर्वाचनको आवश्यकता परेको बताएका छन् । आफूमाथि दलभित्रैबाट आरोपपत्र प्रस्तुत हुनुका साथै प्रायोजित रूपमा आफूविरुद्ध अनर्गल प्रचार भएको उनले लिखित जवाफमा उल्लेख गरेका छन् । 

विघटनलाई बृहत् राजनीतिक दृष्टिकोणबाट हेर्नुपर्ने भएकाले न्यायिक निरुपणको विषय बनाउन नहुने प्रधानमन्त्रीको भनाइ छ । उनले भनेका छन्, ‘प्रतिनिधिसभाको विघटन गरी निर्वाचनमा जाने विषय नितान्त राजनीतिक विषय हो । यस्ता राजनीतिक प्रश्नमा अदालत प्रवेश नगर्ने संवैधानिक अभ्यास रहेको छ ।’

तर, संविधानविद् भीमार्जुन आचार्यले यसअघि पनि पटक–पटक  प्रतिनिधिसभा विघटनका विषय अदालतमा प्रवेश गरिसकेकाले यसलाई राजनीतिक प्रश्न भन्न नमिल्ने बताए । ‘यसअघि चारपटक संसद् विघटनको विषय अदालतमा गइसकेको छ । अनि, यो राजनीतिक प्रश्न कसरी भयो ? संविधानको कुन धारा प्रयोग गरेर उहाँले विघटन गर्नुभयो भन्ने कुरा संवैधानिक विषय हो,’ उनले भने । 

सर्वोच्चलाई दिएको जवाफमा पनि समृद्धिको नारा

प्रधानमन्त्री ओलीले सर्वोच्चलाई दिएको जवाफमा पनि आफू नेतृत्वको सरकारको प्रशंसा गर्न छुटाएका छैनन् । सरकारले विकास निर्माणको काम गरेको भन्दै उनले आफ्नो एक मात्र उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली रहेको र त्यसबाहेक कुनै स्वार्थ नरहेको उल्लेख गरेका छन् । भाषणमाझैँ उनले ठाउँठाउँमा बिम्बसमेत लिखित जवाफमा उल्लेख गरेका छन् । 

‘सरकारले छोटो समयमा हासिल गरेका उपलब्धिले आमजनतामा उत्साह सिर्जना भएको छ । विकास सम्भव छ र गर्न सकिन्छ भन्ने विश्वास जनतामा बढ्दै गएको छ,’ उनले भनेका छन् । देशमा सुशासन ल्याएको, भ्रष्टाचार नियन्त्रण गरेको र गर्नेलाई कारबाहीको दायरामा ल्याएको उनको दाबी छ । 

सर्वोच्चलाई दिएको जवाफमा प्रधानमन्त्री ओलीले 

आफ्नो पाँच दशक लामो राजनीतिक जीवनका विषयमा समेत उल्लेख गरेका छन्् । ‘लोकतन्त्रप्रतिको मेरो निष्ठा अटल छ र जनअधिकारका विषयमा मैले कहिल्यै सम्झौता गरेको छैन,’ उनले भनेका छन्, ‘नेपालको धर्ती, नेपालको प्रकृति, नेपालको समृद्धि तथा नेपालीको सुख, सम्मान, सुरक्षा र स्वाभिमानबाहेक मेरा लागि अन्य कुनै स्वार्थका विषय छैनन् ।’ 

तर, संविधानविद्हरू यस्ता कुराको अदालतमा कुनै औचित्य नहुने बताउँछन् । ‘उहाँले अन्य कुरा धेरै गर्नुभयो भन्नुको अर्थ हो– उहाँको कानुनी आधार कमजोर छ । जवाफमा के लेख्ने त्यो आफ्नो खुसीको कुरा हो । तर, सामान्यतया सरकारको वर्णन, राजनीतिक यात्रा र कामकारबाहीको विषयमा बोल्ने गरिन्न,’ संविधानविद् भीमार्जुन आचार्यले भने । 

आचार्यको भनाइमा अर्का संविधानविद् विपिन अधिकारीले पनि समर्थन जनाए । अदालतले कानुनी र संवैधानिक विषयलाई मात्रै हेर्ने उनले बताए । ‘लिखित जवाफमा धेरै कुरा लेखे पनि अदालतले कानुनी र संवैधानिक विषयलाई मात्र हेर्छ,’ उनले भने ।

संविधानले अधिकार दिएको जिकिर

संविधानले कार्यकारी प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अघिकार दिएको प्रधानमन्त्री ओलीको दलिल छ । संसदीय प्रणालीमा प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीमा रहेको अन्तर्निहित अधिकार भएको भन्दै उनले विघटनविरुद्ध परेका रिट खारेजीको माग गरेका छन् । 

संविधानको धारा ८५ ले प्रतिनिधिसभाको कार्यकालअगावै विघटन हुन सक्ने अवस्था स्वीकार गरेको प्रधानमन्त्री ओलीको जिकिर छ । ‘संविधानको कुनै पनि व्यवस्थाले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कार्यकारी अधिकारलाई अंकुश लगाएको छैन,’ उनले जवाफमा उल्लेख गरेका छन् । 

संसद्बाट वैकल्पिक सरकार गठन हुने सम्भावना समाप्त भएकाले आफूले विघटनको निर्णय लिएको प्रधानमन्त्री ओलीको तर्क छ । संविधानको धारा ७६ को उपधारा ७ ले वैकल्पिक सरकार गठन हुन नसकेमा विघटनको कल्पना गरेको जिकिर गर्दै उनले भनेका छन्, ‘मैले नेतृत्व गरेको राजनीतिक दलको संसद्मा बहुमत कायम रहेको र सो दलको संसदीय दलको नेता म रहिरहेको अवस्थामा अरू कुनै आधारमा वैकल्पिक सरकार गठन हुने परिकल्पना संविधानले गरेको छैन र धरातलीय यथार्थता पनि त्यस्तो रहेको छैन ।’

तर, संविधानविद् भीमार्जुन आचार्यले सदन नचलेको अवस्थामा प्रधानमन्त्रीले वैकल्पिक सरकारको सम्भावना नरहेको भन्न नमिल्ने बताए । ‘उहाँले कसरी कल्पना गर्नुभो कि अर्को सरकार गठनको विकल्प छैन ? सदन सुचारु नै नभएको अवस्थामा अर्को सरकार गठनको विकल्प नै थिएन भन्ने तर्कको कुनै अर्थ छैन,’ उनले भने । 

रिट निवेदकमध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्रीबाट आएको जवाफ रिटमा गरिएका प्रश्नअनुसार नभएको बताए । ‘संविधानबमोजिम जवाफ दिनुपर्नेमा राजनीतिक तर्क गरिएको छ । प्रधानमन्त्रीले विघटनको विषयलाई राजनीतिक प्रश्न भनेर संवैधानिक स्पष्टीकरण दिनुभएको छैन,’ उनले भने, ‘गलत धारा, असम्बन्धित धारा उल्लेख भयो भन्ने प्रश्नमा उहाँले प्रतिनिधिसभा विघटनलाई राजनीतिक विषय भन्नुभएको छ ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासले विपक्षीहरूलाई १९ पुसभित्र कारण देखाऊ आदेश दिएको थियो । प्रतिनिधिसभा विघटनको सिफारिस र निर्णयको सक्कलै प्रति इजलासले मगाएको छ ।

सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले अदालतले मगाएका सबै कागजात आइसकेको बताए । ‘आज पेस गुर्नपर्ने प्रमाणलगायतका सबै कागजात दर्ता भइसकेका छन् । कार्यालयको अन्तिम समयतिर दर्ता भए,’ उनले भने । प्रमाणका रूपमा प्रतिनिधिसभामा दर्ता भएको भनिएको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वासको प्रस्ताव र दर्ता भएको मिति तथा समयसमेत खुल्ने गरी कागजात झिकाइएको छ । यससँगै प्रतिनिधिसभा विघटन हुनु तत्काल अघिको सांसदको विवरण पनि इजलासले मागेको छ । 

संविधानविद् भीमार्जुन आचार्य भन्छन्, ‘अदालतमा संविधानका धारा र तथ्य बोल्ने हो, राजनीतिक विषय होइन’

अदालतमा राजनीतिक अवस्थालगायतका कुराको केही अर्थ हुँदैन । प्रधानमन्त्रीले आफूलाई गरिएको प्रश्नको कानुनी र तथ्यगत हिसाबमा खण्डन गर्ने हो लिखित जवाफमा । दलको, राजनीतिको अवस्था देखाउँदै कहाँ संसद् विघटन गर्न पाइन्छ त ? यसअघि चारपटक संसद् विघटनका विषय अदालतमा गइसकेको छ । अनि, यो राजनीतिक प्रश्न कसरी भयो ? संविधानको कुन धारा प्रयोग गरेर उहाँले विघटन गर्नुभयो भन्ने कुरा संवैधानिक विषय हो । अर्को कुरा उहाँले कसरी कल्पना गर्नुभयो कि संसद्बाट अर्को सरकार बन्ने विकल्प नै थिएन ? सदन सुचारु नभईकन अर्को सरकार गठनको सम्भावना थिएन भन्ने तर्कको अर्थ नै छैन । 

संविधानविद् विपिन अधिकारी भन्छन्, ‘अदालतले राजनीतिक विषय अलग राखेर संवैधानिक विषय मात्र हेर्ने हो, त्यो नै नजिर छ’

प्रायः वैयक्तिक लिखित जवाफमा रजिस्ट्रारको कार्यालयले टिप्पणी उठाउँछ, जवाफ मिलाउनुस् भन्छ । तर, सरकारका तर्फबाट आएको लिखित जवाफमा सबैथरी कुरा आउँछन् । राष्ट्रपतिको कार्यालयले गरेको तर्कमा प्रधानमन्त्रीले गरेको सिफारिसउपर रिभ्यु गर्ने अधिकार हुँदैन भनिएको छ । खासमा राष्ट्रपतिले केही समय डिले गर्न सक्ने अधिकार छ । सरोकारवालासँग छलफलका लागि समय लिन सक्ने ठाउँ छ । तर, रिभ्यु गर्न सक्ने अधिकार छैन । यसअघि गिरिजाप्रसाद कोइरालाको पालामा नै राजनीतिकलाई छुट्याएर संवैधानिक विषयमा मात्र अदालत बोल्ने भन्ने नजिर स्थापित भइसकेको छ । संविधान जोडिएको छ भने संविधान र कानुनको विषय छुट्याएर हेर्न सकिन्छ, त्यो अदालतको क्षेत्राधिकारभित्रै रहन्छ । संसदीय प्रणालीको विशेषता भनेर जवाफमा उल्लेख भए पनि हाम्रो संविधानले प्रधानमन्त्रीलाई संसद् विघटनको विशेषाधिकार दिएको छैन । 

सभामुखको जवाफ– जननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँ

उता सभामुख अग्निप्रसाद सापकोटाले अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएको भन्दै सर्वाेच्च अदालतलाई जवाफ पठाएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार आइतबार प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ प्रस्तुत गर्दै सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनलाई ‘सार्वभौम जनताको प्रतिनिधिमूलक संस्था संसद्उपरको हस्तक्षेप’ भनेका छन् । ‘त्यस्तो हस्तक्षेप नेपालको संविधानको मर्म र भावनाअनुरूप समेत देखिन नआएको हुँदा रिट निवेदकहरूको दाबी संविधानबमोजिम नै देखिएकाले प्रतिनिधिसभा विघटन हुन सक्ने कुनै आधार छैन,’ जवाफमा उनले लेखेका छन् । उनले नेपालको संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था भएको आफ्नो लिखित पत्रमा उल्लेख गरेका छन् । सभामुख सापकोटाले प्रतिनिधिसभा पुनर्बहाली हुन सक्ने संवैधानिक आधार रहेकोसमेत जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटन स्वतः खारेजभागी रहेको सभामुखको भनाइ छ । सभामुखले आफू प्रतिनिधसभा विघटनको विपक्षीमा रहेको उल्लेख गरेका छन् । उनले पत्रमा प्रतिनिधिसभा विघटन भएकै दिन संसद् सचिवालयमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता भएको जानकारी गराएका छन् ।

राष्ट्रपतिको यस्तो जवाफ

राष्ट्रपतिको कार्यालयले पेस गरेको जवाफमा पनि राष्ट्रपतिले संविधानप्रदत्त अधिकार प्रयोग गरेको दाबी गरिएको छ । संविधानको धारा ६६ को व्यवस्थाअनुसार प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिबाट स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयका सचिव हरि पौडेलले पठाएको जवाफमा उल्लेख छ । संविधानको धारा ६६ (२) मा ‘संविधान वा संघीय कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानसाथ व्यवस्था भएको कार्यबाहेक राष्ट्रपतिबाट सम्पादन गरिने अन्य जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिस र सम्मतिबाट हुनेछ । त्यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेस हुने’ उल्लेख छ । प्रधानमन्त्री केपी ओलीले ५ पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए । सोही दिन राष्ट्रपतिले उक्त सिफारिस सदर गरिदिएकी थिइन् । तर, संविधानले नै नदिएको अधिकार प्रयोग गरेर विघटनको निर्णय भएको भन्दै हाल सर्वोच्चमा १४ वटा रिट दर्ता भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation