मजदूर आन्दोलनबाट राणा शासनविरुद्धको क्रान्तिको नेतृत्व गरेको प्रदेश १ को राजधानी विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन कदमविरुद्ध नेकपाकै अर्को पक्ष दाहाल–नेपाल पक्षले शुक्रबार ६० हजार कार्यकर्ता उतार्ने दाबी गरेका थिए। नेपालमा उद्योग र राजनीतिको जग सृदृढ बनाएको विराटनगर कांग्रेसको दरिलो पकड क्षेत्र मानिन्छ। नेकपा प्रदेश १ कमिटीको आयोजनामा भएको उक्त जनप्रदर्शनमा करिब ३० हजार हाराहारीमा प्रदर्शनकारी सहभागी थिए।
पछिल्लो समय कोरोना भाइरस कोभिड १९ का कारण निराशा छाएको अवस्थामा यतिको संख्यामा जनता सडकमा उत्रिनु शक्तिको रुपमा नै मान्नुपर्छ। प्रदर्शनमा वृद्ध, युवा, महिला, मजदुर सबै उमेर समूहका उपस्थिति थियो। विराटनगरको जनआन्दोन चोक, जहाँ २४ घण्टा लामो तथा छोटो दूरीका यातायातका साधन आवातजावत भइरहन्छन्। प्रदर्शनमा सहभागी कार्यकर्तालाई बस्न सहज होस् भनी सडकमा कार्पेट बिछ्याइएको थियो।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल, योगेश भट्टराईलगायत नेताले सम्बोधन गरेका थिए। भेलामा सहभागी कार्यकर्तालाई नेताहरू के बोल्छन्, जनतालाई सम्बोधन गर्छन् या गर्दैनन् चासोको विषय थियो। उपस्थित सबैको ध्यान वक्ताहरू तर्फ खिचिएको थियो। ‘प्रचण्ड,’ माधव कुमार नेपाल आउने भन्ने सुनेर आएको बताउने मोरङ बेलबारीका ६२ वर्षीय मीनकुमार खत्रीले देशमा गणतन्त्र आए पनि सोचेजस्तो केही उपलब्धि नभएको बताए। ‘देशमा ठुलाठुला राजनीतिक परिवर्तन आए, तर नेताहरू खालि पदका लागि लडाइँ गर्छन्, विरोध सभामा भेटिएको खत्रीले निराश हुँदै भने, ‘उनीहरू हाम्रालागि कहाँ लडेका हुन् र आफ्नै पदका लागि लडेका हुन्।’
‘सडक ठप्प भएर कतै जान नपाएपछि भाषण सुन्न आएँ’
वाम गठबन्धन र पार्टी एकतापछि मजदुर किसानका लागि काम गर्ने र आफ्नो सपना पनि त्यही देखेको भन्दै दाहालले सम्बोधन गरिरहँदा विराटनगर–१० का ४५ वर्षीय श्याम चौधरी मुख खुम्च्याउँदै बसिरहेका थिए। कोरोना भाइरस कोभिड–१९ महामारीको समय सरकारले घोषणा गरेको लकडाउनको समय थलिएको उनको व्यवसाय अझै उठ्न सकिरहेको छैन। ‘जमिन कर्जामा राखेर सफारी किनेको छु, कार्यक्रमपश्चात भेटिएका चौधरीले भने, ‘अलिअलि भएको पैसा लकडाउनभरि घर खर्चमा सकियो, कर्जा तिर्न आफन्तसँग सँग ऋण लिनुपरेको छ।’ कार्यक्रम अवधिभर सडक ठप्प हुने भएपछि नेताहरूको भाषण सुन्न आएको उनले बताए।
विराटनगर–इटहरी रुटका ३२ वर्षीय म्याजिक भ्यान चालक प्रेम तामाङ २ वर्षदेखि नेपालमा बसेर केही गरौँ भन्ने उद्देश्यले ड्राइभिङ पेसा रोजेको सुनाए। कार्यक्रम अवधिभर ‘टाइमपास छैन, नेताको भाषण सुन्न आएको’ भन्दै उनले हास्दै भने, ‘जुन नेता आए पनि के गर्नु, हाम्रो परिस्थिति बुझ्ने कोही हुँदैन।’ साहुको ऋणले २५ वर्षको उमेरमा श्रम बेच्न खाडी पुगेका तामाङ सोचेजस्तो कमाइ नभएपछि नेपाल फकिएका थिए।
घरको समस्याले विदेश गएका तर दु:ख धेरै काम थोरै पाएपछि फर्किएका उनले भने, ‘नेपालमा केही गर्छु भनेर २ वर्षअघि लोनमा म्याजिक भेन किनेको, त्यो पनि लकडाउनभरि बन्द भयो, लोन तिर्न सकेको छैन।’ युवाको समस्या, समाधानको विषय कुनै नेताहरूले नबोलेका भन्दै उनले आक्रोश पनि पोखे। ‘घरीघरी त फेरि राम्रो कमाइ हुने ठाउँ खोजेर बिदेसिन मन छ,’ उनले भने। ‘दैनिक ३ टिपसम्म यात्रु गन्तव्य पुर्याउने प्रेमले शुक्रबार २ टिप मात्रै यात्रु बाक्न भ्याए।
रहरले आउने पनि धेरै
हातमा हँसिया, हतौडाअकिंत झण्डा। उमेर १२ वर्ष। पढाइ ४ कक्षा। विरोधसभा कार्यक्रममा भेटिएकी नानु ऋषिदेव आमासँगै रहरले आएको बताइन्। मञ्चतर्फ आँखा डुलाउँदै उनले भनिन्, ‘ठूलो नेता आउँछ रे, हेर्न आएकी, तर को हो थाहा छैन।’
समय कटाउन बदाम
शुक्रबार बिहानभरि हुस्सुले ढाकेको विराटनगरलाई कार्यक्रम अवधिभर भने पारिलो घामले साथ दिएको थियो। कार्यक्रम तोकिएको समयभन्दा केही ढिला भएको थियो।केही समूह समय कटाउन एक कुनामा समूह बनाएर बदाम खाँदै अतिथिको आगमनको प्रतीक्षामा थिए। उदयपुर, झापा, मोरङ, सुनसरी प्रदेश १ को पहाडी, तराई दुवै क्षेत्रका कार्यकर्ताको बाक्लो उपस्थिति थियो। बदामको स्वादसँगै नेताहरू के बोल्छन् भन्ने विषयमा उनीहरू गफिइरहेका थिए। त्यही भीडमा कोही गन्तव्य स्थानसम्म पुग्नु सकिएला या नसकिएला भन्ने चिन्ताले नाडीमा बाँधिएको घडीतर्फ आँखा डुलाइरहेका थिए।
भीडमा व्यापार
पछिल्लो समय कोरोना भाइरसक कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि मास्कको प्रयोग बढेसँगै मास्क व्यापार मौलाएको छ। कोरोना भाइरस संक्रमणबाट बँच्ने प्रमुख हतियारको रूपमा रहेको मास्कको व्यापार पान पसलदेखि सपिङ सेन्टरसम्म बढ्न थालेको छ।
प्रदर्शनको बाक्लो भीडमा बिनामास्क बसिरहेकालाई व्यापारीहरू मास्क बेच्दै गरेको पनि देखिन्थ्यो। सधैं जलजला मोडमा चटपटे व्यापार गर्ने विजय यादव हुलमुलको मौकामा महेन्द्र चौकको कुनामा चटपटे बनाउन भ्याइनभ्याई थिए। ‘सधैँभन्दा आज व्यापार गजब छ,’ उनले भने, ‘अब कार्यक्रम सकेर फेरि उही आफ्नै अड्डा फर्किन्छु।’