केही घण्टामा अक्सिजन नआए तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारत केहि कोरोना संक्रमितको ज्यान जाने खतरा देखिएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेट डा किशोर बञ्जाडेका अनुसार केही घण्टा भित्र अक्सिजनको आवश्यकता देखिएको बताउनुभयो । २१ जना कोरोना संक्रमितलाई अक्सिजन दिएर बचाई राखेको भन्दै अब सकिने अवस्थामा रहेको बताउनुभयो । विभिन्न क्षेत्रमा अक्सिजनको पहल भैरहे पनि कतिबेला आउने हो टुंगो नभएको उहाँले बताउनुभयो ।
अस्पताललाई नियमित अक्सिजन सप्लाई गर्ने बुटवलस्थित लुम्बिनी अक्सिजन प्रालिमा खाली सिलिन्डर बुधबार पठाइएको थियो ।तर, अझै भर्ने पालो नआएको उहाँले जनाउनुभयो । अक्सिजन नभए पछि अस्पतालले विभिन्न तप्काका सरोकारवालालाई गुहार मागेको छ । विहान भैरहवामा रहेको शंकर अक्सिजन प्रालिबाट १५ सिलिन्डर अक्सिजन ल्याएर विरामीको ज्यान बचाइए पनि अहिले सकिन लागेको हो । बुधबार आउनु पर्ने अक्सिजन आएको छैन् । अहिले अस्पतालमा ४६ जना संक्रमितले उपचार गराइ रहेका छन् । जस मध्ये ७ जना आइससीयूमा छन् भने २१ जनाको अक्सिजनको सहायतामा उपचार भैरहेको अस्पतालले जनाएको छ ।