काठमाण्डु, १५ जेठ– काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीका कारण गणतान्त्रिक व्यवस्था खतरामा परेको आरोप लगाएका छन् ।गणतन्त्र दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीका कारण मुलुकले दुष्परिणाम भोग्नुपरेको बताएका छन् । कुनै पनि राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने भन्दै देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको व्यवहार तदनुकूल नहुँदा देशले दुष्परिणाम भोग्नु परेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि हाम्रो शैली र व्यवहार निरन्तर समीक्षाको विषय बन्दछ र बन्नुपर्दछ’, सन्देशमा देउवाले भनेका छन्, ‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुष्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं ।’ उनले गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न समस्त नेपालीमा अपील गरेका छन् ।
देउवाले लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न गणतन्त्र दिवसले सबैलाई प्रेरणा प्रदान गर्ने भन्ने विश्वास व्यक्त गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै देउवाले कोरोना संक्रमणबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आग्रह गरेका छन् ।