एमसीसीकै कारण माओवादी केन्द्रमा फुटको भय

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै ‘ठूलो संकट’ टरको सन्देश दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १६ फागुनमा आफ्नै निवासमा पत्रकार सम्मेलन राखेका थिए । तर त्यही पत्रकार सम्मेलनमा प्रचण्डले दिएको अभिव्यक्ति पार्टीभित्र थप संकट निम्त्याउने कारक बनिदियो ।

त्यसै त, एमसीसी अनुमोदनको पक्षमा माओवादी केन्द्र उभिएपछि पार्टी पंक्तिमा ठूलै असन्तुष्टि थियो । अझ प्रचण्डको अभिव्यक्तिकै कारण नारायणकाजी श्रेष्ठ समूह पार्टीबाट अलग हुनसक्ने संभावना बढायो ।

 

शुक्रबार राष्ट्रियसभा गृहमा केन्द्रीय कमिटीको बैठक उद्घाटन गरिरहँदा पार्टीभित्र बढेको संकट अध्यक्ष प्रचण्डको मुहारबाट लुकेको थिएन । बैठक उद्घाटनमा प्रचण्डले धेरै नबोल्नु, एमसीसी अनुमोदन गर्नुपर्ने बाध्यता सुनाउनु र छेउमै बसेका नेता श्रेष्ठलाई फकाउनेतिर लाग्नुले पनि माओवादी केन्द्रभित्रको संकट प्रष्ट हुन्थ्यो ।

नेताहरुका अनुसार, प्रचण्डपछि बोलेका श्रेष्ठले भने व्यवस्थित र लामो सम्बोधन गरे । नेता श्रेष्ठले एमसीसी अनुमोदन भएकोमा जमेर विरोध मात्र गरेनन्, नेतृत्व चुकेको टिप्पणी समेत गरे ।

 

‘पार्टीमा प्रचण्ड पछिको नेता म हो । मसँग सकिएन भन्ने लागेको भए तपाईं र म सल्लाह गरौं न १ हिजो २०५१ सालमा रुँदैरुँदै छुट्टिएका थियौं, अहिले हाँसीहाँसी छुटौंला’, श्रेष्ठले निकै भावुक मन्तव्य राखेको एक नेता बताउँछन् ।

तर श्रेष्ठको यस्तो मन्तव्यपछि भने बल्ल प्रचण्डले केही राहतको सास फेरे । किनकि नारायणकाजीको अभिव्यक्तिमा गुनासो बढी, विद्रोह कम थियो । श्रेष्ठले एमसीसी अनुमोदन भइसकेकाले जनपरिचालन गरेर क्षति न्यूनीकरण गर्ने सम्भावना सुनाएपछि प्रचण्डले त्यसमै सहमति जनाएका छन् ।

‘नारायणकाजी श्रेष्ठले बोलिसकेपछि अध्यक्षले उहाँको लास्टको कुरा ठीक छ, त्यहींबाट एकता सम्भव छ भन्नुभएको छ । जनपरिचालनको कार्यक्रमसहित व्याख्यात्मक घोषणामा जे भएको छ, त्यसको कार्यान्वयन गर्न जनताको साथ सहयोग लिएर जान सक्छौं । हामी अगाडि जाने ठाउँ आयो भनेर बैठक सक्नुभयो’, एक केन्द्रीय सदस्यले भने ।

माओवादी केन्द्रका नेता देव गुरुङ पनि पार्टीमा एकताको विकल्प नरहेको बताउँछन् । ‘मतभेदहरुमाथि छलफल गरेर व्यवस्थापन गरिनुपर्छ । पार्टी एकताको विकल्प छैन भन्ने कुरा प्रचण्ड कमरेड र नारायणकाजी श्रेष्ठ कमरेडले राख्नुभयो,’ बैठकपछि सञ्चारकर्मीसँग गुरुङले भने, ‘नेताद्वयको भनाइमा फरम मत भए छलफल हुन्छ । एकतामा शंका नगरे हुन्छ भन्ने संदेश दिएको छ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation