भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने

बुद्धजयन्तीको अवसरमा लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपाली समकक्षी शेरबहादुर देउवाबीच द्विपक्षीय भेटवार्ता हुने भएको छ ।

 

नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले बिहीबार एकै समयमा मोदीको नेपाल भ्रमणबारे विज्ञप्ति जारी गरी जानकारी दिएको छ । भ्रमणका क्रममा मोदीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजाअर्चना गर्नेछन् ।

 

मोदीको स्वागतको लागि लुम्बिनी विकास कोषले पनि तयारी तीव्र बनाएको छ । मायादेवी मन्दिर परिसर रंगरोगन, मोदीलाई लुम्बिनी अवतरणको लागि ४ वटा हेलिप्याडको निर्माण,स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष एवं २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।

 

लुम्बिनी विकास कोषले नेपाल सरकारको संयोजकत्वमा आयोजना गर्ने बुद्धजयन्ती कार्यक्रमलाई पनि मोदीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै, मोदीले लुम्बिनी विहार क्षेत्रभित्र अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास पनि गर्नेछन् ।

 

मोदीको भ्रमणले छिमेकी पहिलो नीतिलाई अघि बढाउन र भारत तथा नेपालबीच उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

 

‘यसले दुवै देशका जनताको साझा सभ्यताको सम्पदालाई जोड दिन्छ’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । सन् २०१४ यता मोदीको यो पाँचौ नेपाल भ्रमण हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation