काभ्रेको बनेपा नगरपालिकाका नवनिर्वाचित उपमेयरसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण कार्यक्रम बहिष्कार गरेका छन्। वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट बनेपा नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको शपथ कार्यक्रम आज आईतबार राखिएको थियो।
नगरप्रमुख शान्ति रत्न शाक्यले मुख्य निर्वाचन अधिकृतद्वारा शपथ ग्रहण लिएपछि नगरप्रमुखद्वारा नगर उपप्रमुखलगायत वडाध्यक्ष र वडासदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम थियो। उक्त कार्यक्रममा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएका हुन्।
बनेपा नगरपालिकामा उपप्रमुख तथा १४ मध्ये ७ वडाध्यक्ष र ३० वडा सदस्य एमालेले जितेको छ। नगरमा प्रमुख, उपप्रमुखसहित ७२ जनप्रतिनिधिमा एमालेबाट ३८ जना निर्वाचित भएका छन्। नगर प्रमुखसहित गठबन्धनबाट ३४ जनप्रतिनिधि निर्वाचित भएका छन्।
नवनिर्वाचित नगरप्रमुख शाक्यले मुख्य निर्वाचन अधिकृत मोहन प्रसाद भट्टराईद्वारा शपथ ग्रहण गरेका छन्। बनेपामा आयोजित कार्यक्रममा आफूले शपथ लिएपछि शाक्यले उपस्थित वडाध्यक्ष र वडा सदस्यहरूलाई शपथ ग्रहण गराएका छन्।