सैनामैना नगरपालिकाका मेयर फणेन्द्र प्रसाद शर्माले जनप्रतिनिधीले बाटो बिराए कान समाएर उठ्बस गराउन आग्रह गरेका छन् ।जनप्रतिनिधी शासक नभएर सेवक भएको बताउदै मेयर शर्माले जनताको भावना विपरित कुनै पनि काम नगर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सैनामैना उद्योग वाणिज्य संघको आयोजनामा स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका मेयर फणिन्द्र प्रसाद शर्माले जनताले दिएको अभिमतलाई जोडदार रुपमा लागु गरि समुन्नत नगर बनाउन लागी पर्ने अडान समेत लिए ।
मेयर शर्माले सुशासनको प्रत्याभुति हुने तरिकाले काम गर्दै जाने र आर्थिक समृद्धि ल्याउन सबैको साथ र सहयोगको अपेक्षा गरे । नगरपालिका व्यावसायिक हकहितको पक्षमा सधै उत्रिने प्रण गरेका छन् ।
कर प्रणालीलाई वैज्ञानीकरण गर्न,करको दरलाई घटाउने र दायरालाई फराकिलो बनाउने दिशा तर्फ अघि बढेको जानकारी गराए । व्यापारिक प्रतिष्ठानको पक्षमा नगरपालिका सधै अभिभावकको भुमिका खेल्ने पनि बताए । फरक प्रसंगमा बोल्दै मेयर शर्माले हालै संघिय सरकारले प्रस्तुत गरेको बजेटमा सैनामैनामा ट्रमा सेन्टर, कृषि उपज केन्द्र बनाउन सरकारले निति ल्याएकोमा सैनामैनाबासी हर्षित भएको कुरा उल्लेख गरे ।
यस्तै,कार्यक्रममा सैनामैना नगरपालिका उपप्रमुख बिना रानाले जनताकै पक्षमा काम गर्न आफूहरु निर्वाचित भएर आएको कुरा दर्साएकी छन् । उपप्रमुख रानाले विगत देखि नै सैनामैनाले पुर्वाधार र सामाजिक क्षेत्रमा उदारणीय कार्य गर्दै आएको दाबी गर्दै नमुना पालिका बनाउन विशेष योजनाका साथ अघि बढ्ने प्रतिज्ञा गरिन् । सैनामैनाको विकास गर्न क्रियाशिल संघसंस्थाहरु संघ हातेमालो गदैै अगाडी बढ्ने बताइन् ।
कार्यक्रममा शुभकामना दिदैँ कांग्रेस सैनामैना नगरसभापति रण बहादुर खनालले जनताको अभिमतलाई कुल्चिएर विचलित नहुन आग्रह गरेका छन् । सभापति खनालले जनप्रतिनिधीलाई भने, ‘जनताले तपाईलाई ऋण दिएका छन् त्यसलाई यो ५ वर्षमा ब्याज सहित सावाँ तिर्न सके कार्यकाल सफल होला नत्र तपाईहरुको वंशलाई नै धक्का हान्ने छ’ भने ।
कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सैनामैनाका नगर अध्यक्ष मन बहादुर महतले विगतका जनप्रतिनिधीले जनतालाई बढि सास्ती दिएको आरोप लगाएका छन् । घर नक्सा पास नगर्ने देखि केही होटल व्यावसायीहरुको पक्षमा काम नगरेको आरोप उनले लगाए । अब आएका नवप्रतिनिधी सबैको साझा जनप्रतिनिधी भएका कारण निस्वार्थरुपमा काम गर्नुपर्ने उल्लेख गरे ।
यस्तै,कार्यक्रममा संघका अध्यक्ष प्रेम बहादुर खड्काले ब्यापार ब्यवसायको छाता संगठन उधोग वाणिज्य संघ भएको बताउँदै हकअधिकारका लागी सधै लडिरहेको बताए । संघको भवन निर्माण देखि ब्यवसायिक हितमा नगरपालिकाको साथ र सहयोगको अपेक्षा ब्यक्त गर ।
सम्मानित हुनेमा हालै सम्पन्न स्थानिय तहको चुनावमा निर्वाचित सैनामैना नगरपालिकाको मेयर फणिन्द्र प्रसाद शर्मा, सैनामैना उपप्रमुख बिना राना मगर, सैनामैना वडा नं. १ का वडा अध्यक्ष भुवन क्षेत्री, वडा नं. २ का वडाअध्यक्ष अमर कंडेल, सैनामैना वडा नं. ३ का अध्यक्ष तम बहादुर पुर्जा, वडा नं. ४ का अध्यक्ष राम प्रसाद अधिकारी, वडा नं. ६ का अध्यक्ष गोपाल पोख्रेल, वडा नं. ७ का अध्यक्ष राजकुमार चौधरी, वडा नं. ८ का अध्यक्ष बुद्वि चौधरी, वडा नं. ९ का अध्यक्ष भानु पाण्डे, वडा नं. १० का अध्यक्ष कृष्ण घिमिरे, वडा नं. ११का अध्यक्ष राम प्रसाद भुसाल रहेका छ्न् ।
कार्यक्रममा नेकपा(एस)का सैनामैना अध्यक्ष देबराज पौडेल, सैनामैना व्यापार सघंका पूर्वाध्यक्ष दुर्गा गौतम लगायतले बोलेका थिए ।
ग्लोबल पार्टि प्यालेसमा भएको कार्यक्रममा संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता, संघका वरिष्ठ उपाध्यक्ष दिपक अधिकारीको स्वागत तथा महासचिब लोकनाथ अधिकारीको सञ्चालन रहेको थियो ।











