तीन वर्षदेखि एउटै कक्षामा विद्यार्थी, ६ कक्षामा पुगेपछि टुङ्गिन्छ पढाइ

सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, साङलुङ गाउँ अहिले रित्तो बन्न थालेको छ । साङलुङ गाउँको ठ्याक्कै अर्को भागमा तेम्बाथान गाउँ पर्छ । तेम्बाथानमा रहेको आधारभूत विद्यालयसम्म साना विद्यार्थीलाई हिउँदमा घण्टौँ लाग्ने भीरको बाटो हुँदै विद्यालय पुग्नुपर्छ ।
बर्खामा झन् खोला बढ्दा साङलुङबाट विद्यालय पुग्न असम्भव हुने गरेको छ । सँधै विद्यालय गएका छोराछोरी सकुशल फर्किन्छन् कि फर्किँदैनन् भन्ने डर बढेकाले फुर्वा ल्हामु तामाङको परिवार अहिले तेम्बाथानमा आएको छ । आफ्नो जग्गा बाँझो राखेर अँधियामा अर्काको जग्गा कमाउन रहर नभए पनि गाउँ नै खाली भएपछि उनीहरु बसाइ सर्न बाध्य भएका हुन् ।
विद्यालयमा बालबच्चाको भविश्य खोज्दै अभिभावक बसाई सरेर आएका हुन् भने तेगा र दीपुका विद्यार्थी तेम्बाथानमा आफन्तकोमा बसेर त्यहाँको विद्यालय जान्छन् । तर यो विद्यालय आफै समस्या नै समस्यामा रहेर सञ्चालन गर्नुपरेको अवस्था छ । चालु शैक्षिक सत्रमा एक सय जना बालबालिका भर्ना भएका छन् ।
कक्षा कोठाको अभावले तीन वटा कोठालाई जस्ता पाताले बारेर छ वटा कोठा बनाई कक्षा ६ सम्म अध्यापन गराइएको छ । बेञ्च, टेबल, कक्षा कोठाको अभाव छ । जस्ताले बारेको कोठामा पढाउँदा हल्ला हुने, पढाएको नबुझ्ने, आफूले दिन खोजेको शिक्षा दिन नसकेको शिक्षक साङे निमा शेर्पाको भनाइ छ ।केहि वर्ष अघिसम्म चौँरी गोठमा भेटिने त्यहाँका बालबालिका अहिले गोठ छाडेर विद्यालय जान थालेका छन् । तर कक्षा ६ सम्म सुख दुःखले पढे पनि त्योभन्दा माथिल्लो कक्षा पढ्न टाढा जानुपर्ने बाध्यता छ । सोही कारण उक्त भेगका धेरै बालबालिकाको माथिल्लो तहको पढाई रोकिएको छ । तेम्बाथान आधारभूत विद्यालयका प्रधानाध्यापक युवराज शर्मा माथिल्लो कक्षा नहुँदा तीन वर्षदेखि एउटै विद्यार्थी कक्षा ६ मा अध्ययनरत छन् ।
उक्त स्थान शिक्षामा न्यून गुणस्तर र असमान पहुँचको उदाहरण बनेको छ । सिन्धुपाल्चोकको साङलुङ गाउँका स्थानीयलाई छोराछोरीलाई आधारभूत शिक्षा दिनकै लागि बसाईं सर्नुपरे पनि माथिल्लो शिक्षा उपलब्ध गराउने समस्या छ ।
गाउँमा आर्थिक हैसियत राम्रो भएका परिवार र तिनका छोराछोरी शहरमा बसेर पढ्छन् । तर कतै जान नसक्ने परिवार तेम्बाथानमा अर्काको जग्गा कमाएर छोराछोरी पढाइरहेका छन् । तर पनि माध्यमिक तहको पढाईको पहुँचमा बालबालिका पुग्न सकेका छैनन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation