
नेपाल प्रहरीद्वारा इन्टरपोललाई पत्र काटेर पक्रन उर्दी जारी गरिएका अभियुक्त रिजवान आलम सहजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भिआइपी कक्षबाट उम्किए । तर त्यहाँ खटिएको प्रहरीले राज्यद्वारा निर्धारित सबै प्रक्रिया पुर्याएर विदेश उड्न लागेका सर्वसाधारण केही नेपालीलाई भने दिनहुँ शंका लाग्यो भन्दै केरकार गरिरहेको छ । अध्यागमनको मुख्य काम कस्ता विदेशीलाई प्रवेश गर्न दिने, प्रवेश दिइएका विदेशीको निगरानी गर्ने, तोकिएको कार्यबाहेकका गतिविधिमा संलग्न भएको पाइएमा नियन्त्रण गर्ने र उनीहरूका महत्वपूर्ण गतिविधिको जानकारी संकलन गरी सरकारलाई उपलब्ध गराउने आदि हुनुपर्ने हो ।
पर्यटक भिसामा भित्रिएका कति विदेशीले धर्म प्रचारदेखि लागू औषध कारोबार, अन्य निषेधित गतिविधि र भिसाको स्ट्याटस नै परिवर्तन गरी काम गरिरहेका हुन सक्छन् । अझ कतिपय विदेशी त बीसौं वर्षदेखि नेपालमै बसोबास गर्दै आइरहेको उनीहरूका शंकास्पद गतिविधि देखेर सर्वसाधारणले खबर गरेपछि बल्ल राज्यको जानकारीमा पुग्ने गरेको छ ।
अध्ययनका नाममा कामकै लागि बीसौं लाख खर्चिएर बाहिरिने र विदेशमै घरजम गरी बसोबास गर्नेहरूलाई अध्यागमनबाट सजिलै बाहिरिन दिने प्रहरीले आर्थिक रूपले विपन्न, स्वदेशमा रोजगारीको अवसर नपाएका सर्वसाधारणलाई भने सामान्य कागज नमिलेको नाममा किन फर्काइरहेको छ ? मुलुकको बिग्रँदो विदेशी मुद्राको संञ्चितीलाई क्षतिपूर्ति भर्ने यिनै सर्वसाधारण हुन्, जो कमाएको रकम खुरुखुरु .ऋण तिर्न र परिवारको भरणपोषणका लागि नेपाल पठाइरहन्छन् । कामका लागि बिदेसिएका यस्तै नेपालीहरूले कमाएर पठाउने रेमिट्यान्सकै कारण मुलुकको अर्थतन्त्रलाई टेवा पुगेको छ । नागरिकतादेखि पासपोर्ट, टिकट, बिदेसिने प्रक्रिया शुरु गरेदेखि हरेक पाइलामा बिचौलियाबाट दुःख पाउने तर विदेशमा अनेक हण्डर खाएर पनि कमाई गरी स्वदेशको अर्थतन्त्रमा टेवा पु¥याइरहेका यिनै सर्वसाधारणहरू अहिले विमानस्थलमा खटिएका प्रहरीकै कारण बिचल्लीमा परिरहेका छन् । दैनिक सयांै जना सर्वसाधारण टिकट, होटल बुकिंगको रकम गुमाएर प्रहरीकै कारण काठमाडौंमा भौतारिइरहेका छन् । उनीहरुलाई दलालको फन्दामा परेर दुःख पाउनुअघि सचते गराउने काम कसको ?
बिदेसिन चाहने नेपालीलाई यसरी नेपालबाट उड्न नदिँदा उनीहरू भारतबाट सहजै उडिरहेका छन् । प्रहरीलाई शंका लागेमा ती मानिसलाई विमानस्थलबाट बाहिर निकालिदिने हो कि अध्यागमन कार्यालयलाई जिम्मा लगाउने हो ? संसारभर नै घुम्ने भनेको भिजिट भिसामै हो । तर, नेपालीहरू भने यस भिसामा स्वदेशबाटै बाहिर जान राज्यले रोकेपछि अनेक हण्डर व्यहोर्दै र थप रकम खर्चिएर भारत पुगी परिवारको भरणपोषणका लागि बिदेसिन वाध्य बनिरहेका छन् । जथाभावी बाटोबाट विदेशिन नदिने, सावधानी अपनाउन लाउने काममा ध्यान दिनु राज्यको खास दायित्व हो । रोक्नेतिर मात्रै लाग्दा जसरी पनि उम्किनेहरु हावी हुने खतरा छ ।