नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको बचाउ गर्दै सत्ता गठबन्धनले नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजेको बताएका छन्।
पोखरेलले सत्ता गठबन्धनले गणतन्त्रको प्रतीक राष्ट्रपतिलाई संसद बाहिरबाट उपेक्षा गर्दा अहिलेको समस्या आएको जिकीर गरेका छन्।
‘राष्ट्रपतिले सन्देशसहित प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको थियो। राष्ट्रपतिले संसदमा पठाएको विषयलाई सत्ता गठबन्धनले संसद बाहिरबाट उपेक्षा गर्यो। गठबन्धनले गणतन्त्रका प्रतीक राष्ट्रपतिको उपेक्षा गर्यो। यसले मुलुकको हित गर्न सक्दैन,’ उनले भने।
जन्मसिद्ध नागरिकका सन्तानले वंशजको नागरिकता पाउनुपर्ने पक्षमै एमाले रहेर नागरिकता अध्यादेश ल्याएको उनले बताए। अहिलेको गठबन्धनले अध्यादेश रोक्ने प्रयत्न नगरेको भए नागरिकताको समस्या पहिले नै समस्या भइसक्ने उनको भनाइ थियो।
‘हामीले ल्याएको अध्यादेश रोक्न अहिलेको सत्ता गठबन्धनका दलले रोक्ने भूमिका निर्वाह नगरेको भए नागरिकताको समय पहिलेनै समाधान हुने थियो। नागरिकताको विषयलाई एमालेविरुद्ध प्रहार गर्न खोजिएको छ,’ उनले भने।
गठबन्धनबाट मुलुकको हित नहुने भन्दै उनले राष्ट्र निर्माणको अभियानलाई अघि बढाउन निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरी चुनावमा केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिएका थिए।