पाँचथरका ३४ मतदान केन्द्रलाई थप खतरा

आगामी निर्वाचनको शान्ति सुरक्षालाई ध्यानमा राखेर विभिन्न जिल्लामा निर्वाचन क्षेत्र,मतदान केन्द्रको वस्तुस्थिति विश्लेषण गर्न थालिएको छ । सोहीअनुसार पाँचथरका एक सय दुईमध्ये ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील क्षेत्र मानिएको छ ।
जिल्ला सुरक्षा समिति पाँचथरले सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रहरुको वर्गीकरण गर्ने क्रममा ३४ वटा त्यस्तोमा परेका हुन् । समिति बैठकले जिल्लाका ३४ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ५८ वटालाई संवेदनशील र १० वटालाई सामान्यमा वर्गीकरण गरेको पाइएको छ ।
वर्गीकरणअनुसारको सुरक्षा योजना तर्जुमा गर्दै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । वर्गीकरण गरिएकामध्ये फिदिम नगरपालिकाका नौ,फालेलुङ गाउँपालिकाका ११,तुम्वेवाको एक, फाल्गुनन्दका तीन वटा र मिक्लाजुङका आठ वटा मतदान केन्द्र अति संवेदनशीलको सूचीमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए ।
प्राप्त जानकारीअनुसार फिदिम नगरपालिकाका तीन,याङवरक गाउँपालिकाका नौ,हिलिहाङका ११, कुम्मायकका १०, तुम्वेवाका आठ, फाल्गुनन्दका १२ र मिक्लाजुङका पाँच वटा मतदान केन्द्रलाई संवेदनशील सूचीमा राखिएको छ ।
यस्तै फिदिम नगरपालिकाका नौ र याङवरक गाउँपालिकाको एक गरी नौ वटा मतदान केन्द्रलाई सामान्य भनिएको छ । भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी एवम् सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको बताइएको छ ।
अति संवेदनशील र संवेदनशील सूचीमा परेका मतदान केन्द्रमा सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाउनुपर्ने अवस्था रहेको प्रहरी स्रोतले बताएको छ । सुरक्षा अधिकारीहरुका अनुसार निर्वाचन सामग्री लैजाने र मतदानसँगै मतदानपश्चातको सुरक्षा व्यवस्था प्रबन्ध,जनशक्ति व्यवस्थापन आदिको प्रबन्ध संवेदनशीलताकै आधारमा गर्ने गरिएको छ ।
अति संवेदनशील र संवेदनशील मतदानस्थलमा थप सुरक्षाकर्मी र म्यादी प्रहरीसँगै कर्मचारीको समुचित व्यवस्थापनलगायत पर्छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation