
सैनामैना, ७ फागनु । सैनामैना नगरपालिका ६ मा रहेको मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमको प्रथम साधारण सभा तथा दोश्रो अधिवेशन आईतवार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै रुपन्देही क्षेत्र नं. ५ का संघीय सांसद बासुदेव घिमिरेले मलमला क्षेत्रलाई महत्वपूर्ण पर्यटकीय गन्तब्यस्थलको रुपमा विकास गर्न जरुरी रहेको बताउँदै यसको एकीकृत डिपिआर तयार भएपछि संघीय सरकारको तर्फबाट बजेट ल्याउन सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले सैनामैना नगरपालिका क्षेत्र र कञ्चनको केही भाग अत्यन्त मनमोहक रहेको बताउँदै यो क्षेत्रको पूर्वाधार निर्माणमा अव सवैको ध्यान जानुपर्नेमा जोड दिनुभयो । मलमला मन्दिर क्षेत्र चुरेको काखमा रहेको छ र यसको पुरातात्विक र ऐतिहासिक महत्व समेत रहेको बताउँदै सांसद घिमिरेले मलमला क्षेत्रमा नियमित पुजा आजा गर्ने र यसलाई थप व्यवस्थित वनाएर हजारौं भक्तजन आउने बातावरण तयार गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद भूमिश्वर ढकालले मलमला एकीकृत सामुदायिक विकास कार्यक्रमको प्रथम अधिवेशनले विगतको कामको बारेमा समीक्षा गर्दैै आगामी कामको योजना निर्माण गरेर अघि बढ्न शुभकामना दिनुभयो ।
उहाँले लुम्विनी प्रदेश सरकारले राजमार्गको नजिकमा रहेको मलमला क्षेत्रमा रमणीय र अन्त्यन्तै राम्रो सुन्दर पार्क बनाउने सोच गरेर मलमला पार्क निर्माणका लागि डिपिआर तयार गरेको बताउनु भयो । उहाँले मलमला क्षेत्रको ऐतिहासिक महत्व र परम्परा छ रहेको बताउँदै आगामी दिनमा यसको ऐतिहासिक महत्व झल्किने गरि विकास गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सांसद ढकालले भन्नुभयो– निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पालामै प्रदेशले बजेट विनियोजन गरेको छ । आगामी दिनमा पनि प्रदेश सरकारसंगै बैदेशिक लगानीलाई समेत जोडेर मलमला क्षेत्रलाई राम्रो पर्यटकीय गन्तब्य बनाउनुपर्दछ ।
नेकपाका पोलिट ब्युरो सदस्य तथा लुम्बिनी ब्युरो इन्जार्ज वसन्त श्रेष्ठले मलमला क्षेत्रको एकीकृत विकासको शुरूवात गर्दा आज भन्दा १० बर्ष पहिले उक्त क्षेत्रमा निर्माण भएको मलमल चौरा प्रतिष्ठान सेडको उद्घघाटन र भण्डारण कक्षको सिलन्यास गर्ने अबसर मिलेको र आफ्नो पहलमा तत्कालीन जिल्ला बिकास समिति रुपन्देहीबाट बजेट बिनियोजन गर्न पहल गरेको बताउदै आज पुनः कार्यक्रममा बोलाएर आफ्ना बिचार राख्ने मौका प्रदान गर्दै सम्मान गरेकोमा सस्था प्रति आभार ब्यक्त गर्दै मलमला क्षेत्रको एकीकृत बिकासमा आफ्नो स्थानबाट लागि पर्ने प्रतिवद्दता ब्यक्त गर्नु भयो ।
सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवादुर कार्कीले मलमला एकीकृत विकास कार्यक्रमको अधिवेशनले सर्वसम्मत नेतृत्व चयन हुन सकोस भन्ने शुभकामना दिनुभयो । उहाँले काम गर्ने दौरानमा भोलीका दिनमा चुनौति आउने र काम गर्ने बेलामा धेरै बाधा उत्पन्न हुनेछ भन्दै तर ती बाधा र समस्यालाई मिलेर सामना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
निवर्तमान नगरप्रमुख कार्कीले मलमला क्षेत्रलाई राम्रो सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने धेरै संभावना रहेकोले मलमला बहुउद्देश्यीय पार्कलाई छिटो सम्पन्न गर्नेतर्फ सवैको ध्यान जानुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले मलमला एकीकृत विकास कार्यक्रमको अधिवेशनले सक्षम नेतृत्व चयन गरोस भन्ने शुभकामना दिदै मलमला क्षेत्रलाई यस क्षेत्रको पर्यटकीय र ऐतिहासिक गन्तब्यको रुपमा विकास गर्नेतर्फ नेतृत्वको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपाका पोलिटप्यूरो सदस्य तथा लुम्विनी व्यूरो संयोजक बसन्त श्रेष्ठ, नेपाली कांग्रेसका सैनामैना नगर सभापति रणबहादुर खनाल, माओवादी केन्द्रको तर्फबाट प्रदेश कमिटी सदस्य भोला बस्याल, शान्ति समाजका पूर्व अध्यक्ष गोविन्द खनाल, नेकपा क्रान्तिकारीका प्रतिनिधि एकदेब पौडेल लगायतले मलमला क्षेत्रको एकीकृत विकासका लागि सवैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभएको थियो ।