
सैनामैना नगरपालिका वडा नं. ४ स्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको १८ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभाको उदघाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताको हितलाई मध्यनजर राखेर स्वच्छ खानेपानी वितरण गर्दै आएको बताउँदै आगामी दिनमा पनि उपभोक्ताको स्वच्छ खानेपानीको अधिकारको प्रत्याभूतिका लागि अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका निवर्तमान प्रमुख चित्रवहादुर कार्कीले पछिल्लोसमय खानेपानीको अभाव बढ्दै गएको बेलामा पनि मुर्गिया खानेपानीले उपभोक्तालाई ध्यानमा राखेर गर्दै आएको काम सराहनीय रहेको बताउनु भयो ।
कार्यक्रममा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलका सिनियर डिभिजनल इञ्जिनियर बिनोद भुजेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीका प्रमुख गुणनीधि पोखरेल, नेपाल सरकारका पूर्व सहसचिव नन्दलाल बञ्जाडे, खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका रुपन्देहीका अध्यक्ष धु्रब धिताल, नेकपा एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य खुसीराम चौधरी, नेपाली कांग्रेस लुम्विनी प्रदेश सदस्य चित्रबहादुर केसी, नेपाली कांग्रेस सैनामैना नगर सभापति रणवहादुर खनाल, माओवादी केन्द्रका नगर अध्यक्ष मानवहादुर महत लगायतले बोल्नुभएको थियो ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष प्रेमबहादुर बानियाको अध्यक्षतामा भएको साधारण सभा उदघाटन कार्यक्रमको संचालन सचिव भीम खडकाले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष देबीदत्त सुवेदीले गर्नुभएको थियो ।




