
फागुन २०, सैनामैना ।
सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको अवलोकन गर्ने दर्शकको सख्या बढ्दै गएको छ । महोत्सवको चौथो दिन सम्म आइपुग्दा शनिबार अन्य दिनको तुलनामा दर्शकको संख्या बढेको मूल आयोजक समितिका संयोजक सुरेन्द्र पौडेलले बताउनुभयो ।
मेलामा विशेषगरी साँस्कृतिक कार्यक्रममा दर्शकको सहभागिता उत्साहजनक छ । शनिबार चर्चित राष्ट्रिय लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायक दिपक गरौजा, गायिका मञ्जु भट्टराई,सम्झना रणपाल, एन्जिला रेग्मी सहितका कलाकारहरुको बेजोड प्रस्तुति हेर्ने दर्शकको भिडभाड बढेको साँस्कृतिक उपसमितिका संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो ।
साथै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत सैनामैना डान्सिङ्ग आइडलले समेत रौनकता ल्याएको छ । डान्सिङ आईडल दिन प्रतिदिन रोचक हुँदै गएपछि मेला हेर्ने दर्शकको संख्या बढ्दै गएको अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो ।
महोत्सवमा सञ्चालित डान्सिङ आईडल २०७९ मा शनिबार ८ जना प्रतिस्पर्धी अघिल्लो चरणका लागि छनोट भएका छन् । शनिबार एक जना प्रतिस्पर्धी बाहिरीएसँगै ८ जना अर्को चरणमा प्रवेश गरेका हुन् । निर्णायक र दर्शकको भोटिङको आधारमा कम मत प्राप्त गर्ने प्रतियोगी दैनिक रुपमा एक एक जना बाहिरिएका छन् ।
यसैबिच आइतबार राष्ट्रिय लोक तथा दोहोरी गायिका पूर्णकला बि.सी, राष्ट्रिय लोक तथा दोहोरी गायक खेम सेन्चुरी, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा ), गायक दुर्गा पौडेल र टप सोनी डान्स गुप्रको समेत बेजोड प्रस्तुति रहने संयोजक क्षेत्रीले बताउनुभयो ।
मेलामा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने छ । । सैनामैना २ कालिकाचोक मधुरिमा ग्लोबल पार्टी प्यालेस नजिकै चलिरहको मेला फागुन २८ गते सम्म सञ्चालन हुनेछ ।