
रमेश गैरे,
सैनामैना, २४ फागुन । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस बुधवार रुपन्देहीको कञ्चन गाउँपालिकामा एक कार्यक्रमको आयोजना गरि मनाइएको छ ।
गाउँपालिका उपाध्यक्ष मौसमी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य सोनिया यादबले महिलाहरुले अधिकारका लागि धेरै पहिलेदेखि संघर्ष गर्दै आएको बताउँदै बंश र अंशको लडाईमा महिलाहरु स्थापित नभएसम्म न्याय नपाउने बताउनु भयो ।
महिला जागरणमा जनयुद्धले ठूलो सफलता हासिल गरेको बताउँदै तर अहिले त्यसमाथि प्रहार गर्ने काम भैरहेको बताउँदै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रले महिलाको अधिकार सुनिश्चित गरेको र यसलाई व्यवहारमा लागू गर्ने काम बाँकी रहेको कुरामा जोड दिदै महिला आफै सशक्त हुनुपर्नेमा जोड दिनुभयो ।
विशिष्ट अतिथि कार्यपालिका सदस्य तथा गाउँपालिकाका प्रवक्ता चित्र तुलाचनले गाउँपालिकाले महिला सशक्तीकरणका सवालमा आवश्यक बजेट छुट्याएको, पढन नसक्ने महिलाका लागि पालिकाले निशुल्क शिक्षाको व्यवस्था गरेको बताउनु भयो । कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष केशरवहादुर खत्रीले महिलाहरु पछिल्लोसमय अधिकारका सवालमा जागरुक भएको बताउँदै अवका दिनमा पनि महिलाहरुको अधिकारका लागि एकताबद्ध हुनुपर्ने बताउनु भयो ।
महिला बरिष्ठ अधिवक्ता निशाकुमारी खरेलले विश्वमा महिला आन्दोलनको सुरुवात, कानुनी सवाल र महिला अधिकारका बिषयमा जानकारीमूलक प्रशिक्षण दिनुभएको थियो ।
उक्त अवसरमा नेकपा माओवादी केन्द्रकातर्फबाट पुष्पराज शर्मा, नेकपा एमालेका तर्फबाट दिनानाथ आचार्य र कांग्रेसका तर्फबाट देवीराम रेग्मी, महिला सहकारीको तर्फबाट हेमा बेलबासे र कार्यपालिका सदस्य कुमारी घर्ती लगायतले बोल्नुभएको थियो । दिवसको अवसरमा कुर्सी दौड र महिला अधिकारको बिषयमा कबिता बाचन र नृत्य आयोजना गरिएको थियो ।